Comments Add Comment

जर्मनी, अर्जेन्टिना र ब्राजिललाई नफापेको कजान

एउटै रंगशालामा टुंगिएको दाबेदारको सपना

२६ असार, काठमाडौं । रसिया विश्वकप सुरु हुनु अघिदेखि नै ११ सहरका १२ रंगशालाको विशेष चर्चा भयो । ८१ हजार दर्शक क्षमताको लुजिन्की रंगशालासँगै ३५ हजार दर्शक क्षमताको एकाटेरिङवर्ग रंगशालासम्म दर्शकको नजरमा परे ।

अहिले विश्वकप सेमिफाइनलसम्म आइपुग्दा विशेष चर्चा भने कजान रंगशालाले पाएको छ । विश्वकप दाबेदारीमा रहेका विशेष तीन टिम जर्मनी, अर्जेन्टिना र ब्राजिल निराश बनेको कजानमा नै हो ।

कजान रसियाको टाटस्र्थान राज्यको राजधानी हो । कजान रंगशाला वल्र्ड युनिभर्सिटी खेलका लागि सन् २०१३ मा निर्माण गरिएको थियो । जुन रुबिन कजान क्लबको घरेलु मैदान पनि हो । कजान रंगशालामा ४५ हजार दर्शक क्षमता रहेको छ ।

कजानमा जुन १६ मा फ्रान्स र अस्टे्रलियाबीचको समूह चरणको खेलबाट विश्वकपको खेल सुरु भयो । जसमा फ्रान्सले अस्टे्रलियालाई २-१ ले हरायो ।

कजानमा जुन २० मा भएको इरान र स्पेनको खेल पनि निकै रोमाञ्चक रहृयो । जसमा डिएगो कोस्टाले खेलको ५४ औं मिनेटमा हानेको एकमात्र गोलबाट स्पेन विजयी भयो । खेलमा कमजोर मानिएको इरानले बलियो मानिएको स्पेनलाई कडा चुनौती दिएको थियो ।

समूह चरणकै खेलमा कजान रंगशालामा जुन २४ मा पोल्याण्ड र कोलम्बिया भिडे । जसमा कोलम्बियाले पोल्याण्डलाई ३-० ले निराश बनायो ।

यतिञ्जेल ओझेलमै रहेको कजानले एकाएक चर्चा तब पायो जब विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरियो । कजानमा जुन २७ मा भएको समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले जर्मनीलाई २-० ले हराइदियो । दुवै गोल खेलको इन्जुरी समयमा भएको थियो ।

विश्व विजेता कमजोर बनेको कजान अर्जेन्टिनाका लागि पनि फापेन । कजानमा जुन ३० मा भएको अन्तिम १६ को खेलमा गएको विश्वकपमा फाइनलसम्म पुगेको अर्जेन्टिना फ्रान्ससँग ४-३ ले पराजित भयो ।

जसमा दुई गोल गरेका फ्रान्सका केलियन एमबाप्पेले विशेष चर्चा कमाए । अर्जेन्टिनाका लियोनल मेस्सी निराश बनेको खेलमा नयाँ स्टारका रुपमा एमबाप्पेको नाम विश्वभरका मिडियामा छायो ।

कजान रंगशालामा जर्मनी र अर्जेन्टिनामात्रै होइन । रसिया विश्वकपमा सबैभन्दा सन्तुलित मानिएको र विश्वकप सुरु नहुँदै दाबेदारका रुपमा हेरिएको ब्राजिल टिम पनि स्तब्ध बन्यो ।

कजानमा जुलाई ६ मा भएको क्वाटरफाइनल खेलमा बेल्जियमले ब्राजिललाई २-१ ले हराएको हो । खेलमा ब्राजिलका फर्नान्डिनोको आत्मघाती गोलबाट १३ औँ मिनेटमा अग्रता लिएको बेल्जियमका लागि ३१ औँ मिनेटमा केभिन डी ब्रुयनले गोल थपे । ७६ औँ मिनेटमा रेनाटो अगुस्टोले गोल गरेपनि ब्राजिलको विश्वकप सपना कजानमै टुंगियो ।

मस्कोदेखि ८ सय १६ किलोमिटर टाढा कजानमा विश्वकप सपना लिएर पुगेका जर्मनी, अर्जेन्टिना र ब्राजिलका खेलाडीको मात्रै होइन दर्शकको पनि बसाई राम्रो हुन सकेन । तीनै देशका समर्थकको कजानको बास हारको पीडाबाट गुज्रियो ।

रसियाले विश्वकप आयोजना गर्ने तय भएदेखि नै पर्यटकीय हिसाबले समेत सुन्दर रहेको भनिएको कजानमा उनीहरुले बास लम्ब्याउन सकेनन् ।

रसियाको खेल राजधानीकै रुपमा परिचय बनाइरहेको कजानले विश्वकप फुटबलमा पनि विशेष चर्चा कमायो । पछिल्लो पाँच वर्षमा ग्रीष्मकालीन युनिभर्सिटी खेल, विश्व पौडी च्याम्पियनसिप र विश्व फेन्सिङ च्याम्पियनसिप पनि सफलतापूर्वक आयोजना भयो ।

रसिया विश्वकपमा ब्राजिल निराश बनेको खेलपछि नै कजानमा हुने खेल पनि सकियो । बाँकी रहेको खेलमा पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम सेन्ट पिटर्सवर्ग रंगशालामा र दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र क्रोएसिया लुजिन्की रंगशालामा खेल्दै छन् ।

यस्तै तेस्रो स्थानको खेल पनि सेन्ट पिटर्सवर्ग रंगशालामा नै हुने छ भने फाइनल खेल लुजिन्की रंगशालामा हुने तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment