यो वा ऊ कस्लाई भनौँ
न अहिले चुनाव छ न झट्टै आउने वाला छ
के सरकार ! के प्रतिपक्षी !
हे सरकार ! हे प्रतिपक्षी !
किन चेतेनौ तिमीहरुले
अझै पनि सपना माथि सपना कति थुपार्छौ ?
अश्वासनमाथि आश्वासन कति फलाक्छौ ?
हेर त शहरहरुमा तिम्रा स्मार्ट सिटीका हालत
पानी जहाजपछि चलाउला
मन नपर्नेको पुत्लापछि जलाउला
हातमा हात मिलाएर
डुबेकालाई राहत देऊ पहिला
भोकाहरुलाई दुई छाक देऊ पहिला
केही चाहिएको छैन अहिले
यो देशमा सरकार छ भन्ने आभास देऊ पहिला ।
आपतमा परेकालाई नियालौँ
आफू डुबेको सम्झौँ, आफू पुरिएको सम्झौँ
फल्नो पार्टीको डुब्यो भन्ने बेला हैन यो
हे मानव !
कुम जोडेर खुचुङ खायो भन्ने बेला हैन यो
राजनीति बिर्सौं मानवता आत्मसाथ गरौं
हाट बजार र फोटो सेसनको मेला हैन यो
माया बाडौ आत्मियता बाडौ !
पद, पार्टी, अफिस, धन
ती भन्दा ठूलो आफ्नै मन
अझै भन्ने हो भने
सबैभन्दा ठूलो हो जीवन
बाँचौ र बचाअाैं आपत विपतमा
नबिर्सौ ! आज आफूले कसैलाई बचाए
भोलि उस्ले आफूलाई बचाउला
स्वार्थी नै बन्ने भए पनि
स्वार्थी मानव बनौं, दानव नबनौं !
भबिस्यमा आँफै पुरिने खाल्टो नखनौं !!
हे सरकार ! हे प्रतिपक्षी !
किन चेतेनौ तिमीहरुले
अझै पनि रुझेका सपना कति थुपार्छौ ?
भिजेका मनहरुमा आश्वासन कति फलाक्छौ ?
हेर त शहरहरुमा तिम्रा नयाँ नेपालको हालत
मोनोरेलपछि चलाअाैंला
मन नपर्नेको पुत्लापछि जलाउला
संसदमा दोहोरीपछि खेलौला
हातमा हात मिलाएर
डुबेकालाई राहत देउ पहिला
भोकाहरुलाई दुई छाक देऊ पहिला !!
– मित्र पाठक ‘काँचुली’