Comments Add Comment

लोकतन्त्रका लागि छविलाललाई अदालत बुझायौं : प्रचण्ड

फाइल फोटो

२९ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रका निम्ति आफूहरुले अहिले पनि त्याग गर्न नछाडेको बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै कृष्णप्रसाद अधिकारी हत्या आरोप लागेका छविलाल पौडेललाई अदालत बुझाउन सहयोग गरेको बताए ।

‘कहिलेकाहीँ निर्दोष मानिस पनि अनाहकमा फस्न जाने खतरा हुँदो रहेछ । त्यति हुँदाहुँदै पनि लोकतन्त्रको अभ्यासमा कहिँ कतैबाट प्रश्न उठ्न नपाओस् भन्नकै निम्ति हामीले छविलाल जो निर्दोष हुनुहुन्छ हाम्रो विचारमा, मलाइ लाग्छ केही दिनभित्र अदालतबाट प्रमाणित हुने विश्वास लिएका छौं । उहाँलाई सर्वोच्चमा हाजिर हुन लगायौं’ उनले भने ।

उनले यसमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूले पहल गरेको बताए । लोकतन्त्रप्रतिको प्रतिवद्धतामा प्रश्न उठ्छ कि भनेर आफूहरुले अदालतको फैसलाको सम्मान गरेको उनले बताए ।

प्रचण्डले लोकतन्त्रको प्रतिवद्धताप्रति शंका नगर्न कांग्रेसलाई आग्रह गरे । ‘नेपाली कांग्रेसका नेता साथीहरुलाई गहिरो गरी विचार गर्न अनुरोध गर्न चाहन्छु’ उनले भने ‘लोकतन्त्रका निम्ति अहिले पनि त्याग गर्न छाडेका छैनौं । हामीले लोकतान्त्रिक अभ्यासमा प्रश्न नउठोस् भन्नका निम्ति पहल गर्न छाडेका छैनौं ।’

प्रचण्डले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न सरकारले गरेका प्रयासलाई साथ दिन पनि आग्रह गरे ।

डा. गोविन्द केसीको अनसनको समस्या समाधानका लागि पनि पहल भइरहेको प्रचण्डले बताए । वार्ताका लागि टोली बनाउने, जुम्लामा चिकित्सक टोली पठाउने, डा. केसीलाई काठमाडौं ल्याउने र वार्ताको वातावरण बनाउने छलफल भएको प्रचण्डले बताए । ‘हाम्रो तर्फबाट यसलाई समाधान गर्न आवश्यक लचकता अपनाउने कोशिस भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment