Comments Add Comment

भारतका मन्त्री भन्छन्- नेपाल र भारत दुई भूगोल, एक मन

३१ असार, लखनउ । भारतका उत्तर प्रदेशका मन्त्री र पूर्वमन्त्रीहरुले भारत र नेपाल दुई देश भएपनि भाषा, संस्कृति र मन एउटै भएको बताउँदै विकास पनि मिलेर गर्नुपर्ने बताएका छन् ।

नेपाल पर्यटन वोर्डको सहयोगमा पश्चिमाञ्चल होटल संघको आयोजनामा ‘चलिए पोखरा’ अभियान लिएर लखनउ पुगेका पर्यटन व्यवसायीले शनिबार साँझ गरेको कार्यक्रममा बोल्दै उनीहरुले कृषि र पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने भन्दै त्यसका लागि दुवै देशका जनता मिलेर अघि बढ्नुपर्ने बताए ।

उनीहरुले भारतबाट सुन्दर देश नेपालका पोखरा, जनकपुर, लुम्विनी, काठमाडौंलगायतका ठाउँहरु ज्ाानुपर्ने र नेपालीहरु पनि भारतका शहरमा आउनुपर्ने बताए ।

कार्यक्रममा भारत उत्तर प्रदेश सरकारका पर्यटनमन्त्री बहुगुणा जोशीले नेपाल र भारत मिलेर दुवै देशको पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘नेपाल र भारत भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सबै दृष्टिले एकै हो, भलै देश फरक छ ।’

उनले थपिन्, ‘नेपाल र भारतको भाषा, संस्कृति, खानपान एउटै हो, त्यसैले पनि मन एक छ ।’

नेपाल र भारतमा रहेका पर्यटकीय स्थल अन्य देशमा नरहेको बताइन् । थाइल्याण्ड, सिंगापुर, स्विजरल्याण्डलगायतका देशमा पर्यटनबाट समृद्धि सम्भव भएको बताउँदै उनले नेपाल र भारतमा पनि पर्यटनबाट समृद्धि सम्भव रहेको बताइन् । उनले भनिन्, ‘नेपाल र भारत यसमा मिलेर अगाडि बढे सबै पछाडि पर्छन् ।’

मन्त्री जोशीले १० लाख रुपैयाँ पर्यटन क्षेत्रमा लगाए ९० जनाले रोजगार पाउने धारणा राखिन् ।

रामायण, महाभारत, बुद्ध सर्किटलाई जोडेर दुवै देशमा पर्यटन प्रवर्द्धन अझै गर्न सकिने उनको प्रष्टोक्ति थियो । उनले भनिन्, ‘उत्तर प्रदेशका मानिस काठमाडौं, पोखरा, जनकपुर हजारौं होइन करोडौं पर्यटक जान्छन् ।’

उनले आफ्नो विदेश भ्रमण नेपालबाट गरेको स्मरण गर्दै सबै भारतीयलाई नेपालबाटै विदेश भ्रमणको शुरुवात गर्न आग्रह गरिन् ।

प्रदेशका परिवहन मन्त्री स्वतन्त्र देव सिंहले नेपाल र भारतलाई परिवहन सेवाले जोडेको बताए । उनले अयोध्या-जनकपुर बस सेवा, दिल्ली-काठमाडौं सेवा र बनारस-काठमाडौंबीच बस सेवा रहेको उल्लेख गरे । उनले आवश्यक परे पोखराका लागि थप वस सेवा दिन आफू तयार रहेको धारणा राखे ।

पूर्वमन्त्री सन्दिप बंसलले नेपाल र उत्तर प्रदेशको पर्यटन प्रवर्द्धन एकसाथ गर्दा दुवै देशका लागि फाइदा पुग्ने बताए । उनले पर्यटनको समस्या दुवै पक्ष बसेर सहज पार्नुपर्ने उल्लेख गरे । आफू ३ पटक पोखरा गएको जानकारी दिँदै उनले वास्तविक सौन्दर्य देख्नु छ भने पोखरा जान उत्तर प्रदेशवासीलाई आग्रह गरे ।

भाजपा उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले पछिल्लो हप्ता पोखरा घुमेर आएको जानकारी दिँदै उत्तर प्रदेशवासीलाई पोखरा गएर सुन्दरता हेर्न आग्रह गरे । ‘म उत्तर प्रदेशका सबै जनतालाई आग्रह गर्न चाहन्छु, सुन्दरता हेर्नुछ भने नेपालको पोखरा जानुहोस्,’ उनले भने ।

अल इण्डिया ट्राभल एण्ड ट्रन्सपोर्ट एसोसिएसनका अध्यक्ष इन्द्रजित सिंहले भारतमा कुल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशत योगदान पर्यटन क्षेत्रको रहेको बताए । उनले नेपालले पनि पर्यटन क्षेत्रको विकास विस्तार गर्दै गएको उनको भनाइ छ । नेपालको बारेमा अरु राज्यमा समेत पुगेर जानकारी दिनुपर्ने धारणा उनले राखे ।

नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख सूर्य थपलियाले पछिल्लो ६ वर्षदेखि चलेको ‘चलिए पोखरा’ अभियानले पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धनमा लखनउको उल्लेख्य योगदान रहेको उनको भनाई छ ।

उत्तर प्रदेश सरकारले ‘चलिए पोखरा’ अभियानलाई दिएको महत्वप्रति उनले आभार प्रकट गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र जनकपुरको दर्शन गरेपछि भारतीय पर्यटकको नेपाल आगमन बढेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment