३१ असार, काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो ।
संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने उल्लेख गरिएको छ ।
नयाँ बीमा ऐन जारी भएसँगै सरकारले नयाँ सञ्चालक समिति गठन गर्नुपर्ने भएपछि अध्यक्षको पद धरापमा परेको हो । नयाँ बीमा ऐन जारी भएपछि हाल रहेको बीमा समिति स्वतः बीमा प्राधिकरणमा रुपान्तरण हुने विधयेकमा उल्लेख गरिएको छ ।
बीमा समितिबाट भए गरेका कामहरु सबै प्राधिकरणबाट भएको मानिने विधयकमा उल्लेख भए पनि हाल भएको सञ्चालक समिति भने विघटन गरी नयाँ गठन गरिने उल्लेख गरिएको छ ।
तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा मन्त्रिपरिषदले चापागाईंलाई ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो । चापागाईं अध्यक्षमा नियुक्त भएको २ वर्ष पनि पुगेको छैन ।
अर्थमन्त्री खतिवडाले गरे मस्यौदा संशोधन
नयाँ बीमा ऐनका लागि मस्यौदा सर्वप्रथम बीमा समितिले नै तयार पारेको थियो । बीमा समितिले तयार पारेको मस्यौदामा हाल रहेको कर्मचारी तथा सञ्चालक समिति यथावत रहने उल्लेख गरे पनि अर्थमन्त्रीको टेबलबाट त्यसलाई संशोधन गरिएको मन्त्रालय श्रोतले बतायो ।
‘कर्मचारीको हकमा समितिले तयार पारेको मस्यौदालाई यथावत राखी सञ्चालक समिति भने नयाँ गठन गर्ने गरी मस्यौदामा अर्थमन्त्रीज्यूले संशोधन गर्नु भएको हो’ श्रोतले अनलाइनखबरलाई भन्यो ।
बीमा समिति बेखबर ?
मस्यौदा तयार पारेको बीमा समिति नै संसद सचिवालयमा दर्ता भएको विधयकबारे बेखर रहेको पाइएको छ ।
विधयेक कस्तो बनाउने भन्ने बारेमा समितिसँग छलफल समेत नगरेको मन्त्रालयले विधयक बनिसके पछिसमेत समितिलाई कुनै पनि जानकारी नपठाएको समितिका एक अधिकारीले बताए ।
समितिका अध्यक्ष चापागाईं उक्त विधयेक तयार पार्न गठित समितिका सदस्य समेत हुन् । तर, विधयेकबारे छलफल गर्न अर्थमन्त्रीले समितिका अध्यक्षलाईसमेत नबोलाएको ती अधिकारीले बताए ।
‘विधेयक कस्तो बन्यो भनेर हामीलाई अर्थमन्त्रालयले हालसम्म जानकारी गराएको छैन, विधयेक हामीले संघीय संसद सचिवालयको वेभसाइटबाट डाउनलोड गरेर शुक्रबार मात्रै हेरेका हौं’ समितका ती अधिकारीले भने ।
प्रतिक्रिया 4