Comments Add Comment

प्रहरी हेडक्वार्टरमाथि प्रश्न : जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने को थियो ?

मानवीय संवेदनामाथि प्रहरीद्वारा गम्भीर खेलवाड

३ साउन, काठमाडौं । विहीबार जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ गर्दै भने- ‘एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले… हामीले पनि धेरैबेर संयमता अपनायौं । तपाईहरु कोही आन्दोलन गर्न आउनुभएको छ भने गर्नोस्, केही छैन त्यसमा । हामी तयार छौं तपाईहरुलाई…. ‘

अस्पतालमा भएको झडपमा प्रहरी जवानको मृत्यु भएको खबर डीएसपीले आफैं माइकबाट फुकेका थिए । उनले प्रहरी मरेको भन्दै सार्वजनिक रुपमा गरेको माइकिङ एउटा टेलिभिजनमा लाइभ प्रशारण भएको थियो ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बिहीबार दिउँसो काठमाडौं ल्याउने क्रममा डा. केसी समर्थक विद्यार्थी र प्रहरीबीच झपड भएको थियो । त्यस क्रममा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरसहित ३ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइतेमध्ये एक प्रहरी जवानको छातीमा सीसा र चिर्पटले लागेको प्रहरीले जनाएको छ ।

गल्ती गर्ने प्रहरी, गाली खाने मिडिया ?

जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्ने प्रहरी आफैंले सञ्चार माध्यमलाई गाली गर्दै बुधबार साँझ अनौठो विज्ञप्ति जारी गरेको छ । जुम्ला घटनामा प्रहरी जवानको मृत्यु भएको भनेर संवेदनशील विषयमा आधिकारिक पुष्टि नभई सञ्चारमाध्यमले गलत समाचार सम्प्रेष्ण गरेको भन्दै प्रहरी प्रधान कार्यालयले सञ्चारमाध्यमलाई गाली गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सञ्चार माध्यमलाई मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि नगरी समाचार सम्प्रेषण गरेको आरोप लगाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार संप्रेषण गर्ने र मृत्यु जस्तो मानवीय संवदेनाको विषयमा सूचनाको आधिकारिकता पुष्टि समेत नगरी समाचार संप्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक आघात पर्न गएको छ ।’

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नै माइकबाट यसरी प्रहरीको मृत्यु भएको बताएपछि केही सञ्चारमाध्यमले दोहोरो झडपमा परी एक प्रहरीको मृत्यु भएको समाचार हतार-हतार प्रकाशित गरेका थिए ।

प्रहरी जवानको मृत्यु भएको घोषणा भएता पनि अनलाइनखबरले डीएसपी दाहालको माइकिङलाई पत्याएन । तत्कालै अस्पताल स्रोतमा सम्पर्क गर्दा कोही पनि प्रहरी जवानको मृत्यु नभएको पुष्टि भयो । त्यसपछि अनलाइनखबरमा प्रहरी मृत्युको हल्ला फैलाएर सरकारले डा. केसीलाई झुक्यायो शीर्षकमा समाचार प्रकाशित भयो र यथार्थ घटना जनसमक्ष आयो ।

मानवीय संवेदनामाथि गम्भीर खेलवाड

डा. गोविन्द केसी र उनको पक्षमा आन्दोलित जुम्लाबासीलाई झुक्याउन प्रहरीले सफेद झूटको त सहरा लियो नै, तर जिउँदो मानिसलाई माइकबाटै मरेको घोषणा गरेर सत्तापक्षले मानवीय सम्वोदनामाथि गम्भीर खेलवाड गरेको छ ।

प्ररहीको मृत्यु भएको माइकबाट प्रचार गरिएपछि डा. गोविन्द केसीले यस्तो आँसु खसाउँदै मानवीय क्षतिप्रति चिन्ता जनाएका थिए । र, आफू काठमाडौं जान तयार भएका थिए ।

के सरकारले केसीलाई गलाउनकै लागि जिउँदो मानिसलाई मरेको भनेर प्रचार गरेको हो ? अन्यथा किन मृत्युजस्तो मानवीय सम्वेदनाको विषयमा परिवारमाथि मानसिक र भावनात्मक आघात पर्ने गरी खेलवाड गरियो ? यसको जवाफ न त सरकारले दिएबको छ, न प्रहरी संगठनले नै ।

प्रहरीको मृत्यु भएको भन्दै झूठो माइकिङ गर्नमा डीएसपी दाहालको मात्रै हात छ या केपी ओली नेतृत्वको सरकारकै डिजाइनमा यस्तो भएको हो भन्ने खुलेको छैन ।

यसैबीच जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने डीएसपी दाहालसँग अनलाइनखबरले यस विषयमा जिज्ञासा राख्दा उनले भने, ‘केसी पक्षधरले प्रहरीलाई फुटेको सीसाले प्रहार गरेका थिए । एकजनाको अवस्था क्रिटिकल छ ।’

तर, तपाईले यस्तो सम्वोदनशील विषयमा किन गलत सूचना प्रवाह गरेको त ? अनलाइनखबरको प्रश्नमा उनले कड्किँदै भने – ‘जे बुझ्नु भा’छ, त्यहीँ लेख्दिनू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment