Comments Add Comment

टेबल म्यानर्सः बच्चालाई कसरी र किन सिकाउने खाना खाने तरिका


अहिलको बच्चाहरु स्मार्ट छन् । उनीहरु हरेक कुरामा उत्सुक छन् । हरेक कुरा सिक्न आतुर छन् । ठिक यही समयमा उनीहरुलाई हरेक कुरामा मार्गदर्शन आवश्यक हुन्छ । खाने कुरामा पनि ।

वर्तमान समाजमा खाने शैलीको पनि खास महत्व र अर्थ छ । खाना खाने भन्दैमा पेट भर्ने हेतुले जथाभावी खान मिल्दैन । खानका लागि शिष्टचारको पालना गर्नुपर्छ । बच्चाहरुले विद्यालयमा यसलाई ‘टेबल म्यानर्स’ भनेर पढेका होलान् । तर, अभ्यास भने घरमै गराउनुपर्छ । विद्यालयमा त शैद्धान्तिक कुरा मात्र सिक्ने हो । जबकी बच्चालाई व्यवहारिक ज्ञानको खाँचो छ । व्यवहारिक ज्ञानका लागि घरमै उनीहरुलाई खानपान शिष्टचार सिकाउनुपर्छ ।

किन सिकाउने टेबल म्यानर्स ?

धेरै आमाबुबाले आफ्नो बच्चाहरुलाई कुनै पार्टी वा कुनै सार्वजनिक कार्यक्रममा लिएर जान लिएर जान धेरै गाह्रो मान्ने गर्छन् ।
अझै विशेषगरि बच्चा बदमास र चकचके छन् र बाहिर गएर हंगामा मच्चाउने खालका छन् भने त आमाबुबाले सकेसम्म लान खोज्दैनन् ।
हुन पनि साना बच्चाहरुलाई धेरै मान्छेको जमघट हुने सार्वजनिक समारोहमा लिएर जाँदा उनीहरुले धेरै चकचक गर्छन् । कैयौं पटक त बच्चाले पार्टीहरुमा खाना खाने टेबलमा यति धेरै आतंक मच्चाउँछन् कि अरु मानिसहरुको अगाडि आमाबुबा लज्जित हुन पर्छ ।

धेरैजसो बच्चाहरु खाना खाने समयमा एकै स्थानमा टिक्दैनन र यताउता चल्ने गर्छन् । कहिले पानी टेबलमा पोखिदिन्छन भने कहिले खाना पोखिदिन्छन् र आमाबुबाले धेरै हैरानी खेप्नुपर्छ ।

यसैले कम उमेरमै बच्चाहरुलाई असल बानीब्यहोरा र खाना कसरी खाने भनेर ‘टेबल म्यानर्स’ सिकाउन जरुरी छ । यसो गरेमा तपाई घरमा हुँदा वा घरबाहिर कतै पार्टीहरुमा जाँदा लज्जित हुन पर्दैन ।

घरबाटै गर्नुहोस् सुरुवात

हामी देख्न सक्छौं धेरैजसो बच्चाहरुलाई न्यापकिन वा नाइफको प्रयोग गर्न आउँदैन । त्यस्तै केहि बच्चाहरुको भने खाना खाने समयमा जोडले कराउने बानी हुन्छ । त्यसैले तपाईले आफ्ना बच्चाहरुलाई रेष्टुराँ वा सामाजिक समारोहहरुमा लैजान भन्दा पहिले घरमै टेबलमा बसेर खाना खो तरिकाको बारेमा सिकाउनु राम्रो हुन्छ ।

साना बच्चाहरुलाई टेबल म्यानर्स वा खाना खाने सहि तरिका सिकाउने सुरुवात तपाईले आफ्नै घरबाट गर्नुहोस् । घरमै टेबल म्यानर्स सिकाएमा उनीहरुले त्यसलाई घर बाहिर गएर प्रयोग गर्न सक्छन् । यसको लागि उनलाई पहिले घरमा अभ्यास गराउनुहोस् ।

यदि बच्चाले रेष्टुराँ वा कसैको घरमा गएर खाना खाने क्रममा टेबलमा कुनै गल्ती गरिरहेको छ भने उनीहरुलाई त्यहाँ गाली गर्ने वा कराउने भन्दा पनि घरमा आइसकेपछि आरामले प्रेमपूर्वक सम्झाउन सक्नुहुन्छ ।

तपाईले आफ्नो बच्चाहरुलाई सुरुवाती रुपमा धेरै भिडभाड नहुने रेष्टुराँमा लैजानुहोस् ताकि उनीहरुले तपाईले सिकाउनुभएको टेबल म्यानर्सलाई सहजताको साथमा प्रयोग गर्न सकुन् । यदि तपाईको बच्चाले टेबल म्यानर्सलाई राम्रो सँग पालना गरेमा उनीहरुको प्रशंसा गर्नुहोस् । यसो गर्नाले उनीहरुले पछि त्यस्ता नियमहरुको पालना गर्नेछन् ।

बाल्यकाल देखि नै बच्चाहरुलाई टेबल म्यानर्सहरुलाई सिकाउन जरुरी छ । यसो गरेमा बच्चा जति ठूलो हुँदै जान्छन् सामाजिक गेटटुगेदरमा यो बानीहरुले उनीहरुमा आत्मविश्वास जाग्नेछ ।

यी हुन् बच्चाहरुलाई सिकाउनै पर्ने टेबल म्यानर्स

१. आफ्नो बच्चालाई खाना खाँदा सानो सानो टुक्राबनाएर त्यसलाई राम्रो तरिकाले चपाएर र मुख बन्द गरेर खाना खान सिकाउनुहोस । साथै उनीहरुलाई पानी पिउँदा वा भोजन गर्दा अनावश्यक आवाज ननिकाल्न पनि सिकाउनुहोस् ।

२. उनीहरुलाई जति खाना खान सकिन्छ त्यतिमात्रै प्लेटमा राख्न वा सुरुमा थोरै खाना लिन र आवश्यक परे पछि थप्न सिकाउनुहोस् । यसरी खाना खेर जानबाट बचाउन सकिन्छ ।

३. खाना खाँदा कुन भाँडामा के राख्ने हो त्यसको बारेमा पनि बच्चाहरुलाई सिकाउनुहोस् । जस्तो कि सुपको लागि ठूलो चम्चा र डेजर्टको लागि सानो चम्चा र ग्रेभिवाला खानेकुराको लागि कचौराको प्रयोग गर्न पर्छ भन्ने कुरा उनीहरुलाई सिकाउनुहोस् ।

४. आफ्नो बच्चाहरुलाई बाहिर खाना खाँदा कुनै परिकार स्वादिलो लाग्यो भने बनाउने मानिसको प्रशंसा गर्न र कुनै परिकार नमिठो लाग्यो भने कसरी उनीहरुलाई यो खानेकुरा मनपरेन विनम्रतापूर्वक भन्ने भनेर सिकाउनुहोस् ।

५. आफ्नो बच्चाहरुलाई आफ्नो घरमा र अरुको घरमा खाना खाएपछि आफ्नो प्लेट आँफै उठाएर भाँडा माझ्ने ठाँउमा लैजान सिकाउनुहोस् ।

६. कुनै पनि रेष्टुरेन्टमा जाँदा सुरुमा बच्चाहरुलाई न्यापकिनको प्रयोग गर्न सिकाउनुहोस् । न्यापकिनको प्रयोग मुख वा हात पुछ्नको लागि मात्रै हो भनेर पनि सम्झाउनुहोस् ।

७. बच्चाहरुलाई टेबलमा बस्ने म्यानर्स पनि सिकाउनुहोस् । हातहरुलाई टेबलमा राखेर कसरी बस्ने भनेर उनीहरुलाई सिकाउनुहोस् । त्यस्तै खाना खाने समयमा तपाईको हातको पोजिसन यस्तो होस् जसले सँगै बसेको मानिसहरुलाई अप्ठ्यारो नहोस भनेर पनि सिकाउनुहोस् ।

८. खाना खाने समयमा धेरै कुरा नगर्न उनीहरुलाई सिकाउनुहोस् । त्यस्तै चक्कुलाई दाहिने र काँटा चम्चालाई देब्रे हातले समात्ने भनेर पनि सिकाउनुहोस् । खाना सकिएपछि उनीहरुलाई पानीको गिलासमा हात नधुन पनि सिकाउनुहोस् ।

९. बच्चाहरुले खाना खाइसकेका छन् भने पनि तुरुन्त टेबलबाट नउठी सबैको भोजन नसकिउन्जेल पर्खिन उनीहरुलाई सिकाउनुहोस् ।

१०. आफ्नो बच्चालाई घरमा नै काँटा चम्चा र चक्कुले खान सिकाउनुहोस् । कुनै कुनै पार्टीमा चक्कुकाँटाले नै खाने अप्सन हुन्छ । बच्चाहरुलाई खानाको प्लेटबाट चम्चाले मुख नजिकै लगेर खान सिकाउनुहोस् ।

११. उनीहरुलाई डाइनिङ टेबलमा केहि चाहिएमा हात अगाडि बढाएर आँफै लिने कोसिस गर्नुको सट्टा सँगै बसेको मानिससँग त्यो खानेकुरा पास गर्न आग्रह गर्न सिकाउनुहोस् ।

१२. त्यस्तै आफ्नो बच्चालाई पार्टिमा कुनै खाना मन पर्छ भने थ्याङ्क यु भनेर उनीहरुको प्रशंसा अवश्य गर्न भन्नुहोस् । साथै उनीहरुलाई यदि कुनै खानेकुरा मन पर्दैन भने त्यसको बारेमा नराम्रो प्रतिक्रिया दिन हुँदैन भनेर पनि सिकाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment