Comments Add Comment

बालबालिकाका कुरा सुनौं

‘पढें सर,’ कृष्णले भोलिपल्ट रिप्लाई गर्नुभयो, ‘तपाईंको अभियान सााच्चिकै महत्वपूर्ण छ । धेरै अभिभावकले फाइदा लिएका छन् । बालबालिकालाई सुनौं !’

बाबाले आफ्नो पोस्टमा लेख्ने शब्द हो— बालबालिकालाई सुनौं ! कृष्णले पनि आफ्नो म्यासेन्जरमा यही लेखेर हार्दिकको बाबालाई पठाइदिनुभयो ।

बाबा बढीभन्दा बढी समय दिनुहुन्छ हार्दिकलाई । समय उहाासँग प्रशस्त भएर हो ? होइन । उहाँसँग झन् समय छँदै छैन । किनभने अफिसको काम गर्नुपर्‍यो । अफिसको काम पनि टेबलमा बसेर गर्न रूचाउनुहुन्न । फिल्डमै जानुहुन्छ । मान्छे भेट्न खोज्नुहुन्छ । समाज बुझ्न खोज्नुहुन्छ ।

समाजै नबुझी कसरी लेख्नु पुस्तक ? पुस्तक लेख्नका लागि अध्ययन गर्न पनि उहाँ समाजमै छिर्नुहुन्छ ।

किताबका पाठकले भेट्न खोज्नुहुन्छ । पाठक भेट्न पनि जानैपर्‍यो । किताबको चर्चा परिचर्चा हुन्छ । त्यसमा पनि सहभागी हुनुहुन्छ । यति भएर पनि आफ्ना बालबालिकालाई पनि समय दिनुहुन्छ । धेरै समय दिनै पर्दैन । दिनमा बिहान आधा घन्टा, बेलुका आधा घन्टा दिनुभयो भने पनि पुग्छ ।

त्योभन्दा बढी समय त तपाईंका बालबालिकाले पनि त निकाल्न सक्दैनन् नि ! उनीहरु पनि स्कुल जानुपर्‍यो । पढ्नुपर्‍यो । होमवर्क गर्नुपर्‍यो । खेल्नुपर्‍यो । धेरै समय त लिनै सकिंदैन बालबालिकाको । दिनमा यति समय चाहिं दिनुहुन्छ बाबा ।

कुरा त्यतिकै सुन्न हुन्न । म केही सिक्छु बालबालिकाबाट भनेर सुन्नुहुन्छ । केही सिक्नुहुन्छ । आफूले त सिकिन्छ नै, सुनेपछि बालबालिकालाई के फाइदा हुन्छ ? यो महत्वपूर्ण हो । हाम्रा लागि भन्दा पनि उनीहरुकै लागि हो हामीले सोच्ने । उनीहरुकै लागि सोच्दा आफूले सिकिन्छ । अनि आफूले सिकेका ज्ञान अरुलाई बाँड्ने हो । अरुलाई ज्ञान बाँड्यो भने मात्रै राम्रो समाज निर्माण गर्न सकिन्छ ।

आफ्नो मात्रै बालबालिका असल बनाएर भयो ? हुँदैन । आफ्नो मात्रै बालबालिकालाई राम्रो शिक्षा दिएर हुन्छ ? हुँदैन । किनभने आफ्नो पनि सन्तान त्यही समाजमा बाँच्ने हो । त्यही देशमा बाँच्ने हो । आफू बसेको समाज राम्रो हुनुपर्छ । त्यसका लागि अरुको पनि भलाइ हुने काम गर्नुपर्छ । अरुले पनि अवसर पाउन् भनेर सोच्नुपर्छ । बाबा यही मान्यताले बालबालिकाका विषय उठान गर्नुहुन्छ ।

ती कुरामध्ये केही फेसबुकमा पनि राख्नुहुन्छ ।

अनि त्यसको पुछारमा ‘बालबालिका कुरा सुनौं’ भनेर लेख्नुहुन्छ ।

किन सुन्ने बालबालिकाई ? किनभने उनीहरु बोल्न चाहन्छन् । पत्याउनै नसकिने कुरा गर्छन् बालबालिका । उनीहरु आफैं हाँस्छन् कुनै बेला । कुनै बेला रोए जस्तो गर्छन् । वास्तविक कुरा पनि गर्छन् । काल्पनिक कुरा पनि गर्छन् ।

आफैं बोल्छन् । किन यस्तो गर्छन् ? किनभने उनीहरुको कुरा सुनिदिने मान्छे पाएका हुँदैनन् । आफूले थाहा पाएका कुरा अरुलाई सुनाइहाल्ने उत्सुकता उनीहरुमा पनि हुने मनोवैज्ञानिकहरु बताउँछन् ।

उनीहरुका यस्ता कुरा सुनेर उडाउने गर्नु हुँदैन । ठूलाको अगाडि बढी बोल्छ भनेर हप्काइदिनु हुँदैन । त्यसो गर्दा उनीहरु हतोत्साहित हुन्छन् । तनाव, दु:ख, हप्कीदप्की, भय, अपमान, उपेक्षाले हीन भावना विकास हुन्छ । यस्तो भावनाले बालमस्तिष्कमा आघात पुग्छ ।

उनीहरुका कुरा नसुन्नु भनेको उनीहरुमा भएको रूचिको मनोवैज्ञानिक रुपमा दमन गर्नु हो । यस्तो दमनले उनीहरुको प्रतिभा विकासमा बाधा पुग्छ । त्यही भएर उनीहरुका कुरा ध्यानपूर्वक सुन्नुपर्छ ।

सचेततापूर्वक सुन्नुपर्छ । सावधानीपूर्वक सुन्नुपर्छ । मनोवैज्ञानिकहरुका अनुसार यसो गर्दा उनीहरुमा बाल्यकालदेखि नै अभिव्यक्ति कलाको विकास हुन्छ । वरिपरिको वातावरणबाट सिक्ने हुन् उनीहरुले । त्यही सिकाइलाई नै उनीहरुले अभिव्यक्त गरिरहेका हुन्छन् ।

यही अभिव्यक्त गरिएका कुराहरु सुनिदियो भने उनीहरुमा सिर्जनशीलता विकास हुँदै जान्छ । कानले सुनेका, आँखाले देखेका, नाकले सुँघेका, छालाले महसुस गरेका क्रियाकलाप शब्द मार्फत व्यक्त गर्छन् उनीहरु । यसरी गरिने क्रियाकलाप राम्रा पनि हुन सक्छन् । नराम्रा पनि हुन सक्छन् ।

वरिपरि देखेका महसुस गरेका विषयवस्तुले उनीहरुको मनस्थिति बनेको हुन्छ । सोच बनेको हुन्छ । कल्पना बनेको हुन्छ । परिकल्पना बनेको हुन्छ । त्यही मानसिक क्रिया–प्रतिक्रिया ठूलालाई सुनाउन खोज्छन् उनीहरु ।

उनीहरुले सुनाएका कुरा जति सुनिदियो, त्यति नै अभिव्यक्ति कला विकास हुँदै जान्छ । कलाको विकास मात्रै होइन कि उनीहरु बेजोड खुसी पनि हुन्छन् ।

आफन्तको प्रेम, स्नेह र हौसलाले उनीहरुमा खुसी ल्याइदिन्छ । खुसीले त हो नि उत्साह बढ्दै जाने । उत्साह बढ्दै जाँदा सोच, विचार, कल्पना शक्ति बढ्दै जान्छ ।

भावनात्मक उमंगले हो कल्पनाशीलता वृद्धि हुँदै जाने । कल्पनाशीलताले हो आविष्कार गर्ने । कल्पनाशीलताको जग बसाइदिने यही बेला हो । त्यसका लागि उनीहरुलाई अनुकूल हुने व्यवहार गर्न जरूरी छ ।

उनीहरुलाई अनुकूल हुने व्यवहार नै बालमैत्री व्यवहार हो । बाबाले यही प्रयोग गर्नुभएको छ हार्दिकमाथि । उनको अभिव्यक्ति कला बेजोड हुँदै गएको छ भन्नुहुन्छ सामाजिक सञ्जालमा उनलाई अध्ययन गर्नेहरु । अभिव्यक्ति कला बढ्दै जानुको परिणाम घर हो । स्कुल हो । जहाँ उनका कुरा सुनिन्छ । उनका कुरालाई महत्व दिइन्छ ।

***

बाबा बारम्बार संवाद गर्नुहुन्छ हार्दिकसँग । त्यही संवाद लेखेर सामाजिक सञ्जालमा पनि राखिदिनुहुन्छ । संवाद शैलीमा लेख्नुहुन्छ । तीन वर्षको भएपछि दोहोरो कुरा गर्ने भए हार्दिक । दोहोरो कुरा गर्ने भएकैले संवाद गर्न सजिलो भयो ।

संवाद गरिएपछि संवाद शैलीमा लेख्न सहज भयो । लेखाइको चर्चा गर्छन् साथीभाइ । मीठो भयो भन्छन् । संवाद शैली हिट भएको छ । फेसबुक प्रयोगकर्ता धेरैले यही शैलीमा पोस्ट गर्न थालेका छन् अचेल ।

खुब खुसी हुनुभएको छ बाबा । आफ्नो शैली अरुले मन पराउँदा को खुसी नहोला ?

बालबालिकालाई सुनौं भन्ने एक वाक्य भएर के भो ? यसमै छ ठूलो सन्देश । ठूलो अर्थ छ यसको ।

‘सुन्दियो भने मात्रै धेरै समस्या समाधान हुन्छ,’ सिन्धुपाल्चोककी सफलता भण्डारी बाबासँगको भेटमा भन्ने गर्नुहुन्छ, ‘सुनेपछि त हो समस्या समाधान गर्न अग्रसर हुने । सुनेपछि त हो फिल गर्ने ! सुन्दै नसुनेर पो समस्या भएको त ! दाजुको अभियान साँच्चिकै उदाहरणीय छ ।’

सफलता पनि बालअधिकार अभियन्ता हुनुहुन्छ । उहाँले पनि चाइल्ड क्लबमा रहेर काम गर्नुभएको छ । बालबालिकाको आवाज उठाउँदै हिंड्नुभएको छ । त्यही क्रममा नै हार्दिकको बाबासँग भेट भएको हो ।

सुन्नुका फाइदा अनेक छन् । कुरा सुन्ने संस्कारै छैन हाम्रो । समस्या उब्जिएको छ यहींबाट । सुन्दै गयो भने कुल हुँदै जान्छन् । यसको अभ्यास पनि हार्दिकमाथि गर्नुभएको छ बाबाले । बाबा पोखरा भएको बेला हार्दिकसँग बाबाले केही बेर कुराकानी गर्नुभएको थियो ।

हार्दिक : बाबा के गर्दै छौ तिमी ?
बाबा : केही गर्दै छैन । तिमी ?
हार्दिक : म फोन गर्दै छु ।
बाबा : म कहाँ छु थाहा छ ?
हार्दिक : म स्कुल गएको बेलामा तिमी पोखरा गएछौ । मलाई लगेको भए भैहाल्थ्यो नि !
बाबा : तिमी ठूलो भएपछि लान्छु है !
हार्दिक : भोलि लिन आइस्यो है !
अर्काे संवाद हार्दिकको बाबा भोजपुर जाँदाको पनि थियो । पोखरासँगै मिल्दोजुल्दो थियो भोजपुर जाँदाको कुरो पनि ।
हार्दिक : हेलो बा……उ !
बाबा : हजुर !

बाउ भनेको सुन्दै हार्दिक रिसाएछन् भनेर बाबाले अनुमान लगाइसक्नुभएको थियो । रिसाए भन्ने थाहा पाउँदापाउँदै पनि बाबा चुप लाग्नुभएको थियो ।

हार्दिक : के गर्दै छस् ?
बाबा : हार्दिकसँग कुरा गर्दै छु ! मेरो प्यारो छोराको क्या न्यास्रो लागेको थियो !
हार्दिक : मलाई किन नलगेको ? लगेको भए भैहाल्थ्यो नि !
बाबा : कहाँ ?
हार्दिक : भोजपुर ।
बाबा : तिमी स्कुल गएका थियौ ।
बाबाले सम्झाउने तरिकाले तिमी स्कुल गएका थियौ भन्नुभएको थियो ।
हार्दिक : स्कुलबाट आएपछि लगेको भए भैहाल्थ्यो नि !
बाबा : प्लेन बिहानै उड्यो । नत्र लैजान्थें !
हार्दिक : अब अर्काे पल्ट लगिस्यो है मलाई !

हार्दिकले पोखरामा बाबासँग कुरा गर्दा सुरूमै तिमी भने । भोजपुरमा कुरा गर्दा त तँ नै भनिदिए । कसलाई कसरी सम्बोधन गर्नुपर्छ थाहा छ उनलाई । बाबालाई तिमी भन्दैनन् । बाबाले पोखरा लैजानुभएन भनेर रिसाएका थिए उनी । रिसाएरै तिमी भनेका हुन् । भोजपुर लानुभएन भनेर तँ भनिदिए ।

हार्दिक रिसाए भन्ने बाबाले थाहा पाउनुभएको थियो । तिमी भने पनि बाबाले कुरा गर्न छाड्नुभएन । तँ भन्दा किन यसो भनेको ? भनेर सोध्नुभएन । त्यसो नभन भन्नु पनि भएन । उनले जे भन्छन्, सुनिराख्नुभयो । धेरै बेर कुरा गरेपछि तिमी भन्दै गरेका हार्दिकले हजुर भन्न थाले ।

तिमीबाट हजुरमा उक्लिए । तँबाट तपाईंमा उक्लिए ।

कुरा गर्दागर्दै कुल भैसक्छन् हार्दिक । कुरा सुनिराख्यो भने कुल हुँदा रहेछन् भनेर शिक्षा मिलेको छ बाबालाई । उहाँ भन्नुहुन्छ, ‘सुरूमा जस्तो बोल्छन्, त्यस्तै बोल्न दिनुस् । जे गर्न खोज्छन्, त्यही गर्न दिनुस् । बिस्तारै थाक्छन् ।

थाकेपछि तिमीले अघि गरेको गलत हो नि ! अब त्यसो नगर है भन्नुस् । यो ‘गुड ह्याबिट’ हो, यो ‘ब्याड ह्याबिट’ हो भनिदिनुस् । बालबालिका पनि ‘ब्याड’ हुन चाहँदैनन् ।

विश्वास लाग्यो तपाईंहरुलाई ?

विश्वास नलागे प्रयोग गरेर हेर्नुस् । सुरूमै हस्तक्षेप नगर्नुस् । बालबालिका उड्न चाहन्छन् । उड्न दिनुस् । हामीले सानासाना गल्तीबाट उनीहरुको उड्ने चाहनामा हस्तक्षेप गरिराखेका छौं ।’

यही भनाइ फेसबुकमा पनि राखिदिनुभएको थियो । बहस चलाउनुभएको थियो । यो बहसमा थुप्रै सहभागी हुनुभयो ।

‘यस्ता टिप्स दिंदै जानुहोला,’ सिन्धुपाल्चोक ठूलो धादिङका विद्यार्थी नेता तीर्थ तामाङले प्रतिक्रिया दिनुभयो ।

‘सही कुरा,’ भक्तपुरकी आध्यात्मिक गतिविधिमा सक्रिय गीता न्यौपानेले प्रतिक्रिया दिनुभयो ।

‘सटीक,’ गोरखा नगरपालिकाका पूर्वमेयर विश्वेश्वर कटेलले प्रतिक्रिया दिनुभयो ।

‘मीठो नि !’ पोखराकी दुर्गा तिवारीले लेख्नुभयो ।

‘सुन्दर,’ काठमाडौं बबरमहलका ओलम्पिया वल्र्ड स्कुलका प्रिन्सिपल आरडी भट्टले लेख्नुभयो ।

बंगलादेशमा पढ्दै गरेकी समीक्षा थापाले पनि प्रतिक्रिया दिनुभयो । समीक्षा बालबालिकाको विषयमा चासो राख्नुहुन्छ । कक्षा ८ मा पढ्दा किताब पनि लेख्नुभएको थियो । आमा नाम दिएर लेखिएको कथाको पुस्तक चर्चित भएको थियो उहाँको ।

हार्दिकको बाबाले उहाँको अन्तर्वार्ता पनि लिनुभएको थियो । पत्रिकामा छाप्नुभएको थियो ।

उहाँले माथिको पोस्टमा कमेन्ट गर्नुभयो, ‘यस्तै सोचाइ सबैका आमाबाबुले राखिदिने हो भने संस्कार घोकाइराख्नै पर्दैनथ्यो !’

(पत्रकार न्यौपानेको शनिबार सार्वजनिक भएको पुस्तक ‘स्कुल बेच्ने बालक’को अंश । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment