Comments Add Comment

पाकिस्तानमा २२ वर्षको संघर्षपछि ‘नयाँशक्ति’को उदय, इमरानको ब्याटले हान्यो छक्का

१० साउन, काठमाडौं । क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि ‘छक्का’ मार्न सफल भएका छन् । खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई गम्भीर धक्का दिएका छन् ।

पाकिस्तानको राजनीति सैन्यतन्त्र र लोकतन्त्रवीच चाकाचुली खेल्दै यहाँसम्म आइपुगेको छ । यही अस्थिरताले गर्दा पाकिस्तानमा बहुमत पाउने पार्टीले पूरै कार्यकाल सत्ता चलाउनु दुर्लभ संयोग मानिँदै आएको छ ।

देशको अस्थिरता र बेथितिलाई चिर्न सन् १९९६ मा पूर्वक्रिकेटर इमरान खानले नयाँ पार्टी गठन गरेका थिए । सन् २०१३ मा ३५ सीट जितेर संसदमा तेस्रो बनेको इमरानको पार्टी केन्द्रीय सत्ताको नजिक पुग्ने नयाँ पार्टी बन्न पुगेको छ ।

राजनीतिमा धैर्यता चाहिन्छ भन्ने उदाहरण बनेका छन्- इमरान खान । उनले यही उदाहरणका लागि २२ वर्ष निरन्तर राजनीति गरे । र, अहिले पाकिस्तानी जनताको विश्वास जित्न सफल भए । इमरानले खोलेको शक्तिले अन्ततः २२ वर्षको अथक प्रयासपछि जिन्ना र भुट्टो परिवारको विरासत बोकेका पुराना पार्टीहरुलाई पछाडि पारिदिएको छ ।

पाकिस्तानको निर्वाचनले के देखाइदिएको छ भने जनताको पक्षमा राम्रो काम गर्न सकेनन् भने पुराना पार्टीहरुको भविश्य खराब हुन सक्छ । जस्तो कि नेपालमा पनि नेकपा वा कांग्रेसजस्ता पुराना र स्थापित पार्टीहरुले जनतालाई सही विकल्प दिन सकेनन् भने तेस्रो विकल्पको खोजी हुन सक्छ । उदाहरणका लागि विवेकशील साझा र नयाँशक्ति पार्टी आदिले इमरान खानको नक्कल गर्न खोजिरहेका छन् ।

न वामपन्थी, न उदारवादी !

भुट्टोको विरासत बोकेर पटक-पटक सत्तामा पुगेको पाकिस्तान पिपुल्स पार्टी पिपिपीले आफूलाई वाम समाजवादी बताउँदै आएको थियो । यही कारण बेनजिरले विगतमा उत्तर कोरियासँग पनि निकटता बढाएकी थिइन् । उनी समाजवादी र धर्म निरपेक्षतावादी थिइन् ।

अर्कोतर्फ पाकिस्तानका पिता जिन्नाकै पालाको मुस्लिम लिगको उत्तराधिकारी दाबी गर्ने पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल एन) ले आफूलाई कहिले मुस्लिम पहिचानको धरातलमा त कहिले आधुनिकीकरण एवं उदार लोकतन्त्रको लाइनमा उभ्याउँदै आयो । धार्मिक कट्टरता र आधुनिकताको दोसाँधमा धर्मराइरहेको पाकिस्तानी समाजमा नवाज सरिफको पार्टी पीएमएल (एन) को नीति पनि त्यस्तै धर्मर-धर्मर रहँदै आयो ।

पीएमएलको नीति सामाजिक र सांस्कृतिकरुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि कहिले लोकतान्त्रिक जस्तो त कहिले सेनाप्रति झुकाव राखेजस्तो ढुलमुले रहँदै आयो । भलै पछिल्लो समय पानामा पेपर प्रकरण र सर्वोच्च अदालतको फैसलापछि नवाज सरिफ सेनाको कडा आलोचक भएर निस्केका छन् । यद्यपि जेल गइसक्दा पनि चुनावी सरकारका प्रधानमन्त्री एवं नवाजको पार्टीका नेता साहिद अब्बासी सेनाबाट रुचाइएका नेताका रुपमा चिनिँदै आएका छन् ।

इमरान खानले पीपीपीका नेता जुल्फीकरले जस्तो वाम समाजवादको नारा दिएनन् । न त उनले जनताप्रति जवाफदेही नहुने उदार पुँजीवादको नै वकालत गरे । उनले बरु समाजवादी अर्थतन्त्रका सारतत्वलाई आफ्नै परिवेशमा व्याख्या गर्ने प्रयास गरेको देखिन्छ ।

पाकिस्तानको राजनीतिमा भ्रष्टाचारको मुद्दा निकै अहम रहँदै आएको छ । बेनजिरको पार्टी होस् या नवाजको, दुबै पार्टीलाई भ्रष्टाचारकै आरोपले कमजोर बनाएको छ । र, यसैलाई ‘क्यास’ गर्दै इमरान खानले भ्रष्टाचारको विरोधलाई मूलनारा बनाएर राजनीतिमा आफूलाई स्थापित गरे ।

भ्रष्टाचारको मुद्दाका साथै इमरानको पार्टीले स्वास्थ्य, शिक्षा र सामाजिक न्याय स्थापना गर्ने नारा अघि सार्‍यो । उसले पाकिस्तानमा लोककल्याणकारी राज्य स्थापित गर्ने र राज्यलाई जनताप्रति उत्तरदायी बनाउने नारा अगाडि सारेको छ । अब सत्तामा पुगेपछि कसरी काम गर्छ, त्यो हेर्न बाँकी छ ।

पाकिस्तानको राजनीतिमा सेना र केही स-साना धार्मिक समूहलाई बिर्सने हो भने तीनवटा प्रमुख राजनीतिक दल नै लोकतन्त्रका मुख्य खेलाडी हुन् ।

१. पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)

सन् १९९६ मा पूर्वक्रिकेटर इमरान खानले परिवर्तनको नारा दिएर पाकिस्तान तहरिक ए इन्साफ-पीटीआई) गठन गरे । पीपीपी र पीएमएलजस्ता ठूला पार्टीहरुका सामु केही वर्षसम्म यो कान्छो पार्टीको खासै चर्चा भएन ।

पार्टी खोलेको ६ वर्षपछि सन् २००२ मा इमरानले संसदमा एक सीटमात्रै जितेर राजनीतिको बिऊ रोपे ।

त्यसको ९ वर्षपछि नवाज सरिफको विशेष प्रभाव रहेको पञ्जाव प्रान्तको लाहोरमा सन् २०११ मा इमरानले एक लाखभन्दा बढीको र्‍याली निकाले । जुलुसमा युवा, शहरिया एवं पढेलेखेका मानिसहरुको सहभागी थियो । यही शक्ति प्रदर्शनपछि नयाँ शक्तिका रुपमा पीटीआईतर्फ स्थापनाको १५ वर्षपछि बल्ल पाकिस्तानी जनताको ध्यान तानियो ।

सन् २०१३ को चुनावमा इमरानको पार्टीले ७५ लाख भोट पायो र संसदमा ३५ सीट जितेर नवाजपछिको तेस्रो दल बन्यो । यो चुनावमा खैबर पख्तूनख्वाह प्रान्त उसको पकडमा आयो । तर, इमरानले २०१३ को चुनावमा पीपीलाई जित्न सकेन । आसिफ अलि जर्दारीले नेतृत्व गरेको पीपीपीले २०१३ मा ४७ सीट जितेको थियो ।

सन् २०१४ मा नवाजलाई पदबाट हटाउने नारासहित पीटीआईले र्‍याली निकाल्यो । कार्यकर्ताहरुले इस्लामावादमा ६ महिना धर्ना दिए । नवाजको सरकार धर्मरायो ।

इमरान सुरुदेखि नै नवाजका कडा आलोचक थिए । नवाजविरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गर्ने पनि पीटीआईकै नेता थिए । र, यही मुद्दाको फैसलाअनुसार नवाज जेल जान बाध्य भए । यो परिघटनापछि इमरानको शक्ति अझै सुदृढ बन्यो ।

यो पनि पढ्नुहोस्- इमरान: प्रधानमन्त्री सम्हाल्ने संघारमा क्रिकेट कप्तान

२. पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल एन)

यो पार्टी पाकिस्तानको निवर्तमान सत्ताधारी पार्टी हो । साहिद अब्बासी यही पार्टीका तर्फबाट प्रधानमन्त्री छन् । पार्टीको अध्यक्षमा नवाज रसिफका भाइ शहबाज शरिफ छन् ।

पूर्वप्रधानमन्त्री नवाजलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा १० वर्ष जेल सजायँ सुनाएको छ र उनी अहिले जेलमै छन् ।

नवाज सरिफका हातमा तीनपटक केन्द्र र पञ्जावको सत्तामा आयो । नवाजलाई पूर्वसैनिक शासक ज्याउल हकले १९८१ मा संसदमा मनोनित गरेका थिए । त्यहीँदेखि उनको राजनीतिक यात्राले गति लियो ।

सन् १९९० मा नवाज प्रधानमन्त्री भए । बेनजिर भुट्टोको आन्दोलनले सत्ता ढालेपछि १९९३ मा भएको चुनावमा नवाजको पार्टी विपक्षी बेञ्चमा बस्यो । १९९७ को चुनावबाट नवाज फेरि प्रधानमन्त्री बने । २००२ को चुनाव हारेपछि सत्ताबाट बाहिरिएका उनी एकैचोटि २०१३ को चुनाव जितेर तेस्रोपटक प्रधानमन्त्री बने ।

तर, यसपालिको निर्वाचनमा नवाजको दल इमरानको पार्टीसँग हारेर दोस्रोमा खुम्चिनु परेको छ । विगतमा पीपीपीसँग हारजित गर्दै आएको नवाजको पार्टी अब इमरानको पार्टीसँग पछारिनु परेको छ ।

परबेज मुसर्ररफको सैन्य सत्ता स्थापित भएपछि नवाज साउदी अरेबियामा शरण लिएर बसेका थिए । त्यसको ८ वर्षपछि सन् २०१३ मा उनको पार्टीले १६६ सीट जितेर सत्ता सम्हालेको थियो ।

पानामा पेपरमा भ्रष्टाचारको खुलासापछि २०१७ जुलाईमा नवाजले प्रधानमन्त्री पद छाड्न बाध्य भए । भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतले उनलाई आजीवन सार्वजनिक पदमा बस्न प्रतिबन्ध लगाएको छ र उनी हालै बेलायतबाट स्वदेश जेल सजायँ भोगिरहेका छन् ।

सैन्य शासक ज्याउल हक नजिक मानिने नवाजले पछिल्लो समयमा सेना र अदालतको कडा आलोचना गर्दै आएका छन् । सुरुमा सेनाको निकट रहे पनि ठक्कर खाएपछि अहिले यो पार्टी उदार लोकतन्त्रको पक्षपाती बनेको अवस्था छ ।

कतिपयको आरोप यो छ कि पार्टी र सत्ताबाट नवाज बाहरिए पनि सेनाको साथ अहिले पनि पीएमएलएनलाई नै छ । तर, पाकिस्तानको राजनीतिमा अब इमरानको पीटीआईलाई समेत सेनाको निकट शक्ति भनेर प्रचार गर्न थालिएको छ । पाकिस्तानको लोकतन्त्रमा सेना हावी हुने गरेको यो पछिल्लो दृष्टान्त हो ।

यसपालिको आम चुनावमा नवाज सरिफ जेलमै रहेता पनि उनको पार्टीले दोस्रो स्थानको अग्रता कायमै राखेको छ । बरु उसको पुरानो प्रतिद्वन्दी पार्टीपीपीपी चाहिँ तेस्रोमा खुम्चिएको छ ।

३. पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)

बेनजिरका पिता जुल्फिकर अलि भुट्टोले सन् १९६७ मा पाकिस्तान पिपुल्प पार्टी -पीपीपी) गठन गर्दा वाम समाजवादी धार लिएका थिए । ज्याउल हकको सैनिक सरकारले जुल्पिmकरलाई मृत्युदण्ड दियो । त्यसपछि छोरी बेनजिरले दुईचोटि प्रधानमन्त्री पद सम्हालिन् तर, पूरै सेनाले कार्यकाल सत्तामा रहन दिएन । अन्ततः बेनजिर पनि मारिइन् ।

सन् १९६७ मा जुल्पिmकरले वामपन्थी समाजवादी पार्टी बनाउन खोजेका थिए । उनको पीपीपी १९७० मा पहिलोचोटि सरकारमा पुग्यो । जुल्फिकर १९७३ देखि १९७७ सम्म प्रधानमन्त्री बने । १९७७ को चुनाव पनि पीपीपीले नै जितेको थियो । तर, ज्याउल हकले सैन्य कु गरे ।

पितालाई फाँसी दिइएपछि छोरी बेनजिर भुटटोले पार्टीको सत्ता सम्हालिन् । देशमा लोकतान्त्रिक आन्दोलन भयो । अन्ततः १९८८ मा बेनजिरको पार्टीले सत्ता प्राप्त गर्‍यो र उनी प्रधानमन्त्री बनिन् । तर, उनले ५ वर्षे कार्यकाल पूरा गर्न पाइनन् । सन् १९९० मै चुनाव भयो । सो चुनावमा पीपीपी ४५ सीट जितेर दोस्रो स्थानमा खुम्चियो । नवाज सरिफ प्रधानमन्त्री भए ।

सन् १९९० को चुनावपछि बेनजिरको पार्टी विपक्षी बेञ्चमा थियो । १९९२ मा रावलपिण्डीबाट विशाल र्‍यालीसहित बेनजिरको पार्टीले आन्दोलन थाल्यो । बेनजिरलाई नवाजले घरैमा नजरबन्द गरे ।

अन्ततः नवाज सरिफको सरकारलाई सेनाले हस्तक्षेप गरेर १९९३ मा मध्यावधि चुनाव गरायो । भुट्टोको पार्टीले बहुमत पायो । भुट्टो १९९३ मा दोस्रोपटक प्रधानमन्त्री भइन् । १९९७ देखि २००८ सम्म पीपीपी विपक्षी सिटमा बस्न बाध्य भयो । परवेज मुसर्ररफको सैन्य शासनको समाप्तिसँगै सन् २०१३ मा भएको आम चुनावमा पीपीपी फेरि पनि दोस्रो पार्टीमै खुम्चियो । यसपालिको चुनावमा त ऊ झनै खरम्चिएर तेस्रोमा झरेको छ ।
हाल यो पार्टीको कमाण्ड बेनजिरका छोरा विलावल भुट्टो जर्दारीले सम्हालिरहेका छन् ।

त्यसो त पाकिस्तानमा केही धार्मिक पार्टीहरु पनि छन्, जसले केन्द्रको चुनावमा खासै प्रभाव नजमाए पनि प्रान्तीय चुनावमा ठूला दललाई हराउन वा जिताउन ‘किङ मेकर’ को भूमिका खेल्न सक्छन् ।

यो चुनावमा धार्मिक पार्टीहरुले गठबन्धन गरेका छन् ।

विहीबार साँझसम्मको मतगणना अनुसार कुल २७२ सीटको संसदका लागि पीटीआईले १२० सीटमा अग्रता लिएको छ । नवाजको पार्टीले ६१ र भुट्टोको पार्टीले ४४ सीटमा अग्रता कायम गरेको छ भने अन्य पार्टीले ८/८ सीटमा अग्रता लिएका छन् ।

चुनावी सफलतासँग इमरानले विहीबार पत्रकार सम्मेलन गरेर भनेका छन्- ‘म आज अल्लाहलाई धन्यवाद दिन्छु कि म २२ वर्षको संघर्षपछि मुकाममा पुगेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment