Comments Add Comment

फिल्म समीक्षा : खुकुलो तानाबाना, रोमियो एन्ड मुना


रोमियो एन्ड मुना । नाम खास्सा छ । दुई विख्यात प्रेमकथाका अलग-अलग दुई पात्र रोमियो एन्ड जुलियटका रोमियो र मुना-मदनकी मुनालाई समायोजन गरेर न्वारान गरिएको ‘रोमियो एन्ड मुना’ निस्सन्देह लभस्टोरी फिल्म हो ।

सुन्दा सामान्य र सजिलो जस्तो लागे पनि लभस्टोरी फिल्म बनाउनु, त्यसमा मन खोलेर लगानी गर्नु र सबैखाले दर्शकलाई टिकटको पंक्तिसम्म तान्नु पक्कै गाह्रो काम हो । यस्तै गाह्रो काममा हात हालेका छन्, विनय श्रेष्ठ र निर्देशक नरेश कुमार केसीले ।

त्यसो त लभस्टोरी फिल्मले बजेट त्यति विघ्न बजेट माग्दैन । तर, ‘रोमियो एन्ड मुना’को हकमा कुरो अलि फरक छ । खासगरी भिएफएक्स प्रविधिका यसमा खर्च गरिएको छ । अरू कुरा भने सामान्य नै छन्।

लभस्टोरी फिल्मलाई आवरणमा देखाइने तडकभडक र चमकदमकले त्यति वजनदार बनाउँदैन, जति संवेदनाको गहिराइले बनाउँछ । कथा, पात्र र प्रस्तुतिबाट संवेदनाको त्यो गहिराइमा पौडनु सामान्य होइन । यद्यपि फिल्मका नायक तथा निर्माता विनय र निर्देशक नरेशले हिम्मत गरेका छन् ।

कस्तो छ कथा ?

अमेरिकामा हुर्केका वेदजंग (विनय श्रेष्ठ) प्लेब्वाई हुन्, जसलाई आमाले विवाह गरेर घरजाम गर्नका लागि नेपाल पठाएकी छिन् । नर्स प्रिया (सुरक्षा पन्त) उनको हुनेवाली पत्नी ।

वैंशालु उमेरका वेदजंग हुनेखानेका छोरो हुन् । उनी विन्दास मात्र छैनन् उद्दण्ड पनि छन् । राम्री युवतीमाथि कामुक दृष्टि बिच्छ्याउँछन् ।

धरानमा वेदजंगकी पूर्व गर्लफ्रेन्डसँग (सुष्मा कार्की) पनि छिन्, जोसँग वेदजंगले सम्बन्ध नवीकरण गरेका छन् । यता हुनेवाली पि्रयासँग कफी-गफ गरिरहेका वेदजंग पूर्व गर्लफ्रेन्डसँग रतिसुखमा रमाइरहेका छन् । यसैबीच वेदजंग ठोक्किन पुग्छिन्, मुनासँग (सृष्टि श्रेष्ठ) । मुना फाइन आर्टकी विद्यार्थी हुन् । पढाइ सँगसँगै वेटरको काम पनि गर्छिन् ।

वेदजंग र मुनाबीच केही समानता छ । उनीहरु दुवैले राम्रो अभिभावकत्व पाएका छैनन् । वेदजंग आमाको छत्रछायामा हुर्किए पनि उनको बुबासँग सम्बन्ध छैन । बुबा र आमाबीच सम्बन्ध विच्छेद भएको छ ।

यता मुनाकी आमा जंड्याहा बुबाको कुटाइबाट मारिएकी छिन् । बुबा जेलमा छन् ।

मुना र वेदजंगको प्रवृत्ति र व्यवहार भने ठिक उल्टो छ । मुना जिद्दी छिन् । वेदजंग उद्दण्ड । हुनेवाली पत्नी, कामुक गर्लफ्रेन्डसँगको दोस्ती र मस्तीबाट छुटेर गम्भीर, भावुक र जिद्दी युवतीसँग वेदजंगको सम्बन्ध कसरी गाँठो पर्छ ? २ घण्टा ४५ मिनेट लामो फिल्मले त्यही कथा भन्छ ।

के छ राम्रो ?

फिल्मले फ्रेस प्रेमकथा पस्किएको छ । प्रेमिल जोडीहररूलाई यसले पक्कै रोमाञ्चित तुल्याउनेछ । कथा गतिशील छ । एकपछि अर्को जिज्ञासाले दर्शकलाई करिब तीन घण्टासम्म तान्ने सामर्थ्य राख्छ ।

फिल्ममा भिएफएक्स प्रविधिबाट मोनोस्टार, झुसिलकीरा तथा पुतलीलाई पनि समायोजन गरिएको छ, जसले फिल्ममा नयाँपन दिलाउँछ । यसलाई जसरी विम्बको रूपमा प्रयोग गर्न खोजिएको छ, त्यसले पनि फरकपन दिलाउँछ ।

फिल्मको केही ठाउँमा र खासगरी एक गीतमा भिएफएक्स राम्रैसँग प्रयोग गरिएको छ । ‘पल पल’ गीतको कन्सेप्ट सुन्दर छ । मीठास पनि ।
फिल्ममा अनावश्यक तडकभडक छैन । यसको सिनेम्याटोग्राफीले पनि दर्शकलाई लोभ्याउँछ । विनय श्रेष्ठलाई धनाड्य एवं उरेन्ठेउलो युवाको रूपमा सुहाएको छ । उनको अभिनय पनि स्वाभाविक छ । शालीन युवतीको रूपमा सुरक्षा पन्त र भडि्कलो युवतीको रूपमा सुष्मा कार्कीको अभिनय एवं गेटअप सुहाउँदो छ । सृष्टि श्रेष्ठको अभिनय अलि नाटकीय लाग्छ ।

के छ कमजोरी ?

सर्सर्ती हेर्दा मनोरञ्जनात्मक लागे पनि फिल्म धेरै कुरामा खुस्किएको छ । र, निर्देशक जो यसका स्त्रिmप्टराइट पनि हुन्, उनले मेहनत गर्नुपर्ने ठाउँ प्रशस्तै बाँकी छन् ।

फिल्ममा लार्भाबाट पुतलीको रूपान्तर र मोनोस्टर उपस्थितिले एकसाथ दुईवटा तीर हान्न खोजिएको छ । एक त मनोरञ्जन । अर्कोचाहि दर्शन । तर, यी दुई जीवलाई विम्बको रूपमा जसरी प्रयोग गर्न खोजिएको छ, त्यसलाई पेचिलो बनाउने एवं बिट मार्ने कुशलता निर्देशकमा देखिदैन ।

निमुखा युवतीले एक धनाड्य नौजवानलाई आफ्ना  काबुमा राखेर जसरी प्रेमका तानाबाना बुनिएको छ, त्यो कत्ति पनि विश्वसनीय छैन । सामान्य बाजी हारेकै भरमा एक युवा आफ्ना सबै जिम्मेवारी पन्छाएर वेटर बन्न पुग्छन् । त्यही क्रममा उनीहरुबीच नोकझोंक चल्छ । प्रेम अंकुराउँछ । फटाफट हुने यस्ता घटनाक्रमले फिल्मलाई नाटकीय बनाएको छ ।

वेदजंगले सामान्य युवती मुनाको आदेश चुपचाप शिरोधार्य गरेको, क्याफेमा वेटरको काम गरेको, मुना गाउँ फर्किएको, कुटपिटबाट गम्भीर घाइते वेदजंग खोज्दै मुना काठमाडौं पुगेको, मुनाको खातिर वेदजंगले आर्ट ग्यालरी स्थापना गरिदिएको जस्ता थुप्रै कुरामा ‘लजिक’ होइन, ‘म्याजिक’ मात्र खोज्नुपर्ने अवस्था छ ।

‘स्यान्डवीच’ जस्ता केही द्विअर्थी भाषाले दर्शकलाई हँसाए पनि अन्य पात्रको भाषा-शैलीमा स्क्रिप्टराइटर हावी छन् । धरानको परिवेशमा कथा दौडाइएको छ, तर रैथाने शैली र बोलीचालीको टोनलाई टिप्न सकिएको छैन । लाहुरे समुदायको घनत्व रहेको धरान फेशनेवल शहर त हो नै, यहाँको भाषाशैली पनि अलि भिन्न छ ।

अन्य नेपाली फिल्मले जस्तै यसले पनि आफ्ना पात्रमाथि केन्द्रित रहेर फिल्मांकन गरेको छ, जो सुष्म रूपले हेर्दा सडक नाटकजस्ता मात्र लाग्छन् । अर्थात क्यामेराको फ्रेमभित्र समेटिएका अन्य दृश्य र पात्रमा मूल पात्र एवं कथाको समाञ्जस्यता मिलाउन सकिएको छैन । हिरो र हिरोइन रोमान्स गर्दा वा झैझगडा गर्दा फ्रेमभित्र देखिने अन्य पात्रहरूको भावभंगीमा कत्ति पनि बदलिदैन । सामान्य लाग्ने यस्तै त्रुटिले नेपाली फिल्म त्यति विश्वसनीय हुन नसकेका हुन् भन्न करै लाग्छ ।

यद्यपि फिल्मलाई सरसर्ती हेर्दा दिक्क लाग्दैन । मुड फ्रेस गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment