Comments Add Comment

सुन चोरीको नयाँ शैली, सक्कली निलेर नक्कली फिर्ता !

सांकेतिक तस्वीर

१२ साउन, विराटनगर । नेपाली समाजमा भनाइ नै छ ‘चोरका चार दाउ’ । यस्तै जुक्ति रचेर सुनको सिक्री चोर्न खोज्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् ।

इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरज कुमार नेपाल विराटनगर महानगरपालिका–९ स्थित अरुण कुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्न गए । उनले सुनको सिक्री मागेर गलामा लगाए । अनि ऐना अगाडि उभिएर केहीबेर आफूलाई हेरे । त्यसपछि उनले सुनको सिक्री गलाबाट निकालेर ‘मन परेन’ भन्दै फिर्ता गरे ।

सुन पसलेलाई शंका लाग्यो । हेर्दा उस्तै देखिए पनि नेपालले फिर्ता गरेको सिक्री आफ्नो नभएको दावीसहित राठीले प्रहरीलाई खबर गरे । प्रहरी पसलमा आएर नेपाललाई नियन्त्रणमा लियो । उनको शरिर खानतलासी गर्‍याे तर, सिक्री फेला परेन ।

पसलेले आफ्नो सुनको सिक्री सुरजसँगै रहेको दावी गरिरहे । प्रहरीले उनले सिक्री निलेको शंका गर्‍याे र विराटनगरको विराट अस्पतालमा लगेर भिडियो एक्सरे गरायो । भिडियो एक्सरेको रिपोर्टमा पेटभित्र सुनको सिक्री देखियो । यो देखेर स्वास्थ्यकर्मी मात्र होइन, प्रहरीसमेत चकित परे ।

उनले पसलेको सक्कली सुनको सिक्री निलेर आफूसँग भएको नक्कली सुनको सिक्री फिर्ता गरेका रहेछन् ।

कसरी गरे यस्तो ?

सुरज सुनको सिक्री किन्न पसलमा गए । उनले आफूसँग भएको जस्तै डिजाइनको एउटा सिक्री मागे र गलामा लगाए । ऐना अगाडि उभिएर हेरे । अनि गलाबाट निकालेर मुखमा हालेर निले । अनि आफूसँग भएको नक्कली सुनको सिक्री पसेलेलाई फिर्ता गरे ।

विराटनगरको यो घटनाले देशभरका सुनचाँदी पसल सन्चालकलाई सजग रहनुपर्ने पाठ सिकाएको छ । गहना किन्ने बहाना बनाएर आउनेहरुले यसरी पनि चोरी गर्ने रहेछन् भन्ने कुराको एउटा उदाहरण हो यो ।

सुन चोर्ने नयाँ शैली अपनाउन खोजेका सुरज कुमार नेपाल हाल प्रहरी नियन्त्रणमा छन् । उनलाई वडा प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment