Comments Add Comment

बानेश्वरमा कसले तेर्स्यायो सांसदको घाँटीमा पेस्तोल ?

'प्रधानन्यायाधीशमा तलमाथि गरे ज्यान मार्ने धम्की दिएको दाबी

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) दिएको खबर पढेपछि सांसदहरु नै छक्क परे । समितिका सदस्यहरु भन्दै थिए, न हामीले मागेका छौं, न पाएका छौं ।’

तर, केहीबेरमै भेद खुल्यो, सत्तारुढ दल नेकपाकी सांसद निरु पालले सुरक्षा माग गर्दै सभामुखसामू निवेदन दिएकी रहिछन् ।

मंगलबार साँझ दूध किन्न सडकमा निस्किएका बेला आफूलाई अज्ञात व्यक्तिले घाँटीमा पेस्तोल राखेर धम्की दिएको सांसद पालको भनाइ छ ।

‘प्रधानन्यायाधीशमा अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै अज्ञात धम्की दिएको र आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् ।

लगत्तै प्रहरी प्रधान कार्यालयले सांसद पालको सुरक्षाका लागि पीएसओ खटाएको छ । उनीसहित सुनुवाइ समितिका ७ जनालाई सुरक्षा दिने निर्णय भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

बाँकी सदस्यहरु मध्ये कतिपयले पहिल्यैदेखि पीएसओको सुरक्षा लिँदै आएका थिए । ‘जेष्ठ सदस्य लक्ष्मणलाल कर्ण, नेकपाका सांसद सुरेन्द्र पाण्डे लगायतसँग पहिल्यैदेखि पीएसओ थिए’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

यसैबीच मंगलबार संसदीय सुनुवाई समितिका अन्य सदस्यलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको भन्दै सांसदहरुको एक समूहले सभामुखलाई भेटेर सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।

सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताइरहेका बेला राजधानीको बानेश्वरमै सांसदको घाँटीमा पेस्तोल ताकिनु र मोबाइल लुटिनुले गम्भीर स्थितिको संकेत गरेको छ ।

सांसद पालले मोबाइल लुटिएको सूचना दिनासाथ सरकारले पीएसओको व्यवस्था त गरेको छ, तर उनको कञ्चटमा कसले पेस्तोल तेस्र्यायो भन्ने चाहिँ अझैसम्म पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment