News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङ सदरमुकामलाई पृथ्वी राजमार्गसँग जोड्न जिल्लाका १३ वटै स्थानीय तहको लागत साझेदारीमा फुर्केखोलामा पन्टुन ब्रिज जडान सुरु भएको छ ।
- भाइटीकाको भोलिपल्टदेखि जडान थालिने पुलबाट पहिलो चरणमा हलुका र अत्यावश्यक सेवाका सवारी चलाइने छ ।
- १० भदौको बाढीले फुर्केखोला पुल बगाएपछि मार्ग विच्छेद भएकाले स्थानीय तहले अस्थायी विकल्प खोजेको मेयर भीमप्रसाद ढुंगानाले बताए ।
२२ कात्तिक, काठमाडौं । धादिङ सदरमुकामलाई पृथ्वी राजमार्गसँग जोड्न धादिङका सबै स्थानीय तहको संयुक्त पहलमा पन्टुन ब्रिज (पानीमा तैरिने पुल) जडान सुरु गरिएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार जिल्लाका १३ वटै स्थानीय तहको लागत साझेदारीमा तत्कालका लागि यातायात सुरु गर्ने गरी यस्तो पुल जडान गर्न लागिएको छ । पन्टुन ब्रिज अस्थायी प्रबन्ध हो । जुन पानीको बहाब कम भएको हिँउदयाममा मात्र सञ्चालनयोग्य हुन्छ ।
यहाँ पन्टुन पुल जडानका लागि आवश्यक ड्रम र संरचना भने बर्दिया राजापुरबाट धादिङ पुर्याइएको छ । राजापुरको पन्टुनमा कुल ३३ वटा ड्रम रहेकोमा तीन ड्रम यसअघि नै बाढीले बगाएको बताइएको छ । धादिङमा भने २४ ड्रम ल्याइएको छ ।
प्राविधिकले गरेको जाँचपासले उक्त संख्यामा ड्रम जोड्दा नदी वारपार हुने बताएपछि सोही संख्यामा पुल पार्टहरू ढुवानी गरिएको अध्यक्ष ढुंगानाले जानकारी दिए ।
उनका अनुसार एक कन्टेनरमा दुइटा पार्टमात्र ढुवानी गर्न सम्भव भएको छ । सोही अनुसार रकम भुक्तानी गरी पुल संरचना धादिङ ल्याइएको उनले जानकारी दिए । यो पन्टुनले बर्दिया राजापुरमा ठूलो सेवा दिएको थियो ।
कर्णाली नदीमाथि कोठियाघाटमा पक्की पुल निर्माण हुनुअघि सोही पन्टुनले यातायात सुविधा दिएको थियो । असोज २०७१ मा सोही स्थानमा पक्की पुल उद्घाटन गरिएको थियो । त्यसयता पन्टुन थन्किएर जीर्ण अवस्थामा थियो ।
यसरी प्रयोगविहीन पुल क्षमता केही कम भए पनि प्रयोग गर्न योग्य रहेको प्राविधिकले बताएपछि धादिङमा जडान गर्ने निर्णय गरिएको उनले जानकारी दिए । पन्टुन राजापुर सिँचाइ व्यवस्थापन कार्यालय मातहत थियो ।
स्थानीय तहले सिँचाइ विभाग र मन्त्रालयबाट समेत सिफारिस लिई फुर्केखोलामा जडानका लागि अन्तिम तयारी गरिएको मेयर ढुंगानाले बताए ।
उनका अनुसार भाइटीकाको भोलिपल्टदेखि जडान थालिने छ । अहिले पुलका पार्टहरूको मर्मत र रङरोगनको काम जारी छ भने पुलसम्म पहुँचमार्ग निर्माणको कामसमेत भइरहेको छ । प्राविधिकहरूको सल्लाह अनुसार पन्टुनबाट पहिलो चरणमा हलुका सवारीसाधन र अत्यावश्यक सेवाका सवारी आगावमन गराइने छ । त्यसपछि मात्र भारी सवारीसाधन परीक्षण गरिने छ ।
१० भदौको विनाशकारी बाढीले फुर्केखोला पुल बगायो । त्यसपछि पृथ्वीराजमार्गसँग धादिङ सदरमुकाम जाने मार्ग विच्छेद भयो । यसले धादिङ र गोरखाका कतिपय गाउँको यातायात सेवामा अवरोध आएको छ ।
अहिले अस्थायी विकल्पबाट यातायात चलाइए पनि त्यसले यात्रुलाई सास्तीमात्र भएको छैन, महँगी बढाएको छ भने स्थानीय उत्पादनले बजार पाउन सकेको छैन ।
मेयर ढुंगानाका अनुसार फुर्के खोलामा शीघ्र पुल बनाउनुपर्ने आवश्यकता भए पनि त्यसमा काम नै नथालिएपछि स्थानीय सरकारहरू मिलेर अस्थायी जोहो गर्न थालिएको हो ।

यस स्थानमा छिटो स्थायी पुल निर्माण गर्न निरन्तर दबाब भने कायम राखिने उनको भनाइ छ । उनका अनुसार अस्थायी पन्टुन निर्माणमात्र ३०–३५ लाखसम्म लागत लाग्ने छ ।
‘स्थायी पुल वा बेलिब्रिज स्थानीय तहको क्षमताले जडान गर्न नसकिने भयो,’ उनले भने, ‘सोहीकारण संघीय सरकारले छिटो पहल लिओस् ।’
बर्दियाको परिचय थियो पन्टुन पुल
कुनै बेला बर्दियाको चिनारी पन्टुन पुल बनेको थियो । बर्दिया राजापुर क्षेत्र वारपार गराउन गेरुवा नदीमा यस पुलले १४ वर्ष सेवा दिएको थियो । २०५६ देखि २०७० सालसम्म निरन्तर यो पुलले बर्दियामा सेवा दिएको हो । यो पुललाई कात्तिकदेखि जेठसम्म नदीमाथि राखेर यातायात सेवा चलाइएको थियो । सोहीकारण स्थानीयहरू पन्टुनलाई राजापुरको बरदान मान्थे ।
तत्कालीन समयमा एसियाली विकास बैंकको करिब ७ करोड ऋण सहयोगमा यो पुल भित्र्याइएको हो । चिनियाँ प्रविधिको यो पुललाई लामो समय मर्मत नगरिएका कारण कतिपय ड्रममा खिया लाग्ने र प्वाल पर्ने समस्या देखिएको थियो ।
पन्टुन व्यवस्थापन राजापुर सिँचाइ आयोजनालाई समेत समस्याका रूपमा देखिएको थियो । धादिङमा पुन: प्रयोग तयारीले एक दशकभन्दा लामो समयपछि पन्टुन फेरि सेवामा फर्किने भएको छ ।
तस्बिर स्रोत : पोषनाथ अधिकारी
प्रतिक्रिया 4