Comments Add Comment

ठगी गर्ने चिनियाँ नागरिकमाथि अनुसन्धान गर्न समस्या

ट्रान्सलेटर बोलाइयो

१७ साउन, काठमाडौं । साथीलाई नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिक जिओङजिन युआनले नेपाली र अंग्रेजी भाषा नबुझ्दा प्रहरीलाई अनुसन्धानमा कठिनाइ भएको छ ।

यसअघि सोमबार राति १० बजे प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले उनलाई भागेर ग्वान्झाओ जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले पक्राउ परेका चिनियाँ नागरिकले नेपाली र अंग्रेजी दुवै भाषा नबुझेका कारण समस्या भएको बताए ।

‘हामीले थप अनुसन्धानका लागि ट्रान्स्लेटर बेलाएका छौं । बुधबार ट्रान्स्लेटर उपस्थित भएनन्’, सिंहले अनलाइनखबरलाई भने, ‘बिहीबार उनी आएपछि विस्तृत अनुसन्धान सुरु हुन्छ ।’

यस्तो थियो घटना

सिंहका अनुसार युआन ३ महिनाअघि नेपाल आएका थिए । भिजिट भिषामा उनी नेपाल आएको भए पनि एउटा कम्पनीमा कार्यरत थिए ।

त्यसक्रममा नेपालमा सडक निर्माण सम्बन्धी चिनियाँ प्रोजेक्टको ठेक्का लिएका झाङ जीन जियाङसँग उनको चिनजान भयो ।

उनीहरुबीच भेटघाट बाक्लियो । एक दिन अन्य दुई जना साथीसहित युआनले जियाङलाई भेटे । र, आफूसँग करिब १ सय वर्ष पुरानो बहुमुल्य धातु रहेको बताउँदै लोभ्याए । त्यसबेला उनले सक्कली सुन देखाएका थिए, जुन शताब्दी पुरानो भएको उनले दाबी गरेका थिए ।

‘त्यो सस्तोमा दिने बताएपछि उनी लोभिएको देखिन्छ’, महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने, ‘सस्तोमा पाएपछि जियाङले त्यो धातु किनेका थिए । तर, पछि त्यो धातु नक्कली भएको खुल्यो ।’

महाशाखाका अनुसार युआनसहित अन्य दुई जनाले जियाङलाई २० वटा सुन जस्तो देखिने धातुको टुक्रा दिएर ९० लाख लिएर भागेका थिए । रकम लिएर सम्पर्कबिहीन भएपछि प्रहरीमा खबर पुगेको थियो । र, अपराध महाशाखाको टोलीले ठगी आरोपमा युआनको पक्राउ गर्‍यो ।

उनीसँगै रहेका अन्य २ जना पनि फरार रहेकाले खोजी तीब्र बनाइएको बताइएको छ ।

पक्राउ परेका युआनमाथि ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरेर ५ वर्षसम्म कैद र भिगो भराएर त्यस बमोजित जरिवाना हुने व्यवस्था रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment