Comments Add Comment

‘फरार’ राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

राज्यमन्त्री अभिराम शर्मा ।

१७ साउन, जनकपुरधाम । उच्च अदालत जनकपुरले प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ ।

राजपाबाट प्रदेश २ सरकारमा राज्यमन्त्री बनेका उनी असई थमन विकको हत्याका परार अभियुक्त हुन् । प्रहरीको सूचीमा फरार भएकै बेला उनी प्रदेशसभा सदस्य चुनिएका थिए । हालै मात्र राजपाले उनलाई राज्यमन्त्री बनाएको छ ।
अर्का अभियुक्त शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर भइसकेका छन् ।

फरार भनिएका प्रतिवादीहरू सार्वजनिक पद धारण गरेर खुलेआम हिँड्दा पनि हत्याका अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै उच्च अदालत जनकपुरले बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो ।
न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले प्रहरीलाई सचेत गराएको छ ।

महोत्तरी जिल्ला अदालतको आदेशबाट केही प्रतिवादी जलेश्वर कारागारमा थुनामा रहेको भए पनि बाँकी प्रतिवादीलाई प्रहरीले पक्राउ नगरेको भन्दै असई विककी श्रीमती शोभा गहतराजले २८ चैत २०७२ मा अदालतमा मुद्धा हालेकी थिइन् ।

यो मुद्दामा जलेश्वर २ का मिश्रलिाल माझी, ३ का संजयकुमार साह र परिकौलीका मोहन ठाकुर थुनामा छन् । तर, अरु अभियुक्त पक्राउ परेका छैनन् ।

फरार प्रतिवादीमध्ये अभिराम शर्मा प्रदेश सांसद हुँदै राज्यमन्त्री बनेका छन् भने कौशलकुमार यादव प्रदेशसभा सदस्य र शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर छन् । महोत्तरी प्रहरीका अनुसार २८ जना हालसम्म फरार छन् ।

उच्च अदालत जनकपुरले फरार अभियुक्तहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको रजिस्टार मानबहादुर कार्कीले जानकारी दिए ।

महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक कुवेर कडायतले भने अदालतको आदेश आइनपुगेको बताए ।

राज्यमन्त्री शर्माले राजनीतिक विषयलाई आपराधिक मुद्दा बनाएर फसाउन खोजेको दाबी गर्दै आएका छन् । अन्य प्रतिवादीहरुले पनि राजनीतिक आस्थाका आधारमा झुठा मुद्दा लगाइएको भन्दै फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् ।

मधेस आन्दोलनको क्रममा २५ भदौ ०७२ मा महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा सशस्त्र प्रहरीका असई थमन घाइते भएका थिए । उपचारका लागि जनकपुरमा ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर उनको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment