Comments Add Comment

राजपाका मन्त्री र मेयर जेल जालान् त ? के भन्छन् राजकिशोर ?

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा ।

१८ साउन, काठमाडौं । जनकपुर उच्च अदालतले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न परमादेश जारी गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) भित्र खैलाबैला मच्चिएको छ ।

अदालतले पक्राउ गर्न भनेका राज्यमन्त्री र मेयर दुबै राजपाका नेता हुन् । उनीहरुलाई यसअघि नै असई थमन बिकको हत्या अभियोगमा ‘फरार अभियुक्त’ को सूचीमा राखिएको थियो । फरार सूचीमै रहेका बेला उनीहरु राज्यमन्त्री र मेयर बन्न सफल भएका हुन् ।

उच्च अदालतले नै पक्राउको आदेश दिइसकेपछि अब प्रहरीले राज्यमन्त्री र मेयरलाई गिरफ्तार गरेर अदालतमा बुझाउनुपर्ने बाध्यता सिर्जना भएको छ । प्रदेश २ मा राजपा आफैं सरकारमा छ । अब पार्टीले आफ्ना राज्यमन्त्री र मेयरलाई प्रहरीसमक्ष आत्मसमर्पण गराउनुपर्ने बाध्यता आइलागेको छ ।

हामीले यसबारेमा राजपाका अध्यक्ष मण्डलका नेता एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवलाई सोध्यौं– अदालतले तपाईको पार्टीका नेता एवं राज्यमन्त्री र मेयरलाई पक्राउ गर्न आदेश दिइसक्यो, अब पार्टीले यसबारेमा के गर्छ ?

जवाफमा सांसद यादवले भने– ‘हिजो अदालतबाट जुन निर्णय आयो । यो चाहिँ अलि गम्भीर देखियो । त्यसकारण पार्टीले बसेर यसमा एउटा उपयुक्त निर्णय गर्छ । यसमा हामी बस्छौं ।’

यादवले अगाडि भने– ‘अब अदालतले नै निर्णय गरिसकेपछि पार्टीले यसमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता छ । पार्टी बसेर यसमा के गर्न सकिन्छ, गर्छ ।’

असई थमन बिकको हत्या एउटा राजनीतिक घटना भएकाले यसलाई मधेस आन्दोलनसँग जोडेर हेर्नुपर्ने यादवले बताए । उनले भने– ‘मधेस आन्दोलनको समयमा असईको मृत्यु भएको थियो । यो राजनीतिक मुद्दा हो । खास गरी जसको नाम मुछिएको छ, उनीहरु छँदा पनि थिएनन् । सुरुमा १८ जनाको नाम पोलिएको थियो । असईकी श्रीमतीले दिएको निवेदनमा यिनीहरुको नाम थिएन । समातेका मान्छेले पछि यिनीहरु (राज्यमन्त्री शर्मा र मेयर मिश्र) को नाम पोलेको रहेछ ।’

सांसद राजकिशोर यादव

राजपा नेता यादवले भने– ‘अहिलेसम्म हामीले यो एउटा राजनीतिक मुद्दा हो भनिरहेका छौं । आन्दोलनका क्रममा घटेको घटना हो यो । त्यतिबेला घटनाहरु हुन्थे र राजनीतिक रुपले यस्ता मुद्दाहरु लगाइन्थ्यो । यसमा साथीहरुले पनि त्योबेला धेरै वास्ता गरेनन् । यो पनि त्यही प्रकरणभित्रको एउटा मुद्दा हो ।’

अब पार्टीले माथ्लो अदालतमा जाने निर्णय लिन्छ या राज्यमन्त्री र मेयरलाई पदबाट हटाउँछ ? अनलाइनखबरबको यो प्रश्नमा राजपा नेता यादवले भने– ‘प्रक्रियाबारे अहिले नै भन्ने अवस्था छैन ।

त्यतिबेला राज्यसँग हाम्रो एक प्रकारको सम्झौता भएको छ । त्यही सम्झौता अन्तरगत यो पनि हो । त्यसैले हामीले कसरी अगाडि बढ्ने भन्ने बारेमा चाँडै पार्टीको धारणा बनाउँछौं र अगाडि बढ्छौं ।’

मधेस आन्दोलनका बेला कसरी भएको थियो असई थमन बिकको हत्या ? यसबारे अनलाइनखबरमा त्यसबेला प्रकाशित सामाग्री यस्ता थिए–

आन्दोलनकारीद्वारा घाइते असईको लखेटीलखेटी हत्या

तीजका सामान किन्न गएकी शोभा बजारमै ढलिन्

असई थमन बिकको घरमा रुवाबासी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment