Comments Add Comment

इन्डोनेसिया भूकम्पः ९८ को ज्यान गयो, २० हजार घरबारविहीन

२२ साउन, काठमाडौं । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ ।

भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, २० हजार घरबारविहीन भएका छन् ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतवार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको हो ।

अमेरिकी जियोलोजिकल सर्भेले भने ७.० म्याग्नीच्यूडको भूकम्प गएको बताएको थियो । भूकम्प जमिनको सतहबाट करिब १०.५ किलोमिटर मुनि रहेको थियो ।

त्रसित मानिस रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन् ।

भूकम्पबाट प्रभावितहरूलाई राहत तथा उद्धारका कामहरु पनि भइरहेको छ ।

यही क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए ।

प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ ।

२००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो जसका कारण एक दर्जन तटीय मुलुकका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment