Comments Add Comment

जाजरकोटको पहिरोमा बेपत्ता भएका गोविन्द अझै भेटिएनन्

२२ साउन, जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा गत आइतबार बिहान गएको पहिरोमा बेपत्ता भएका कुशे गाउँपालिका-५ का ८ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् ।

आइतबार र सोमबार दिनभर खोजतलास गर्दा पनि नभेटिएका गोविन्दको आज (मंगलबार) पनि खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटनास्थलमा गोविन्दको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

प्रजिअ बस्नेतका अनुसार आइतबार ८ वटा शव निकाले पनि गोविन्द नभेटिएपछि सोमबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्दारमा जुटिरहेका छन् । खोजी कार्यका लागि ३५० बढी सुरक्षाकर्मी खटिउका छन् ।

पानी नरोकिएको र पहिरो गएको ठाउँ हिलाम्य भएकोले खोजी कार्यमा अप्ठेरो भएको प्रजिअ वस्नेतले बताए ।

उक्त पहिरोमा भेरी नगरपालिका-६ गंगटियाकी २५ वर्षीया शितली लुहार, उनका छोरीहरु १० वर्षीयाा रञ्जना लुहार, ७ वर्षीया मनिषा लुहार, र ३ वर्षीया भगवती लुहार, कुशे गाँउपालिका-५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार, कुशे गाउँपालिका- ६ का ११ वर्षीय नवीन परियार र वारेकोट गाँउपालिकाका तीर्थ बोहराकी छोरी नजम बोहराको मृत्यु भएको थियो ।

भेरी नगरपालिका-६ गंगटियाका लालबहादुर लुहारको जीवितै उद्दार गरिएको थियो । उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment