Comments Add Comment

जीएमको सपना देखाउनेलाई खानपिन गराएकै हुँ

‘म कसैले भष्टाचारी भन्दैमा लुगलुग काम्ने व्यक्ति होइन’

२६ साउन, काठमाडौं । चार वर्षअघिसम्म डोलिन्द्रप्रसाद शर्मा सामान्य व्यापारी थिए । अनामनगरमा उनले खोलेको अक्सफोर्ड ट्युसन सेन्टर र अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन्सले विद्यार्थीलाई आवश्यक पर्ने गाइड बुक, पाठ्यपुस्तक र पुराना साहित्यकारका अप्रकाशित कृति छाप्ने गर्दथ्यो ।

ट्युसन सेन्टर चलाएर व्यवसायिक जीवन सुरु गरेका डोलिन्द्र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक नियुक्त भएलगत्तै चर्चामा आए । चर्चा यसअर्थमा कि अहिले उनी भ्रष्टाचारको आरोप खेपिरहेका छन् ।

साहित्य र राजनीतिभन्दा पर रहेका व्यक्तिलाई साझाका दुईवटा महत्वपूर्ण पदमा लगेको भन्दै तत्कालीन सरकार र सञ्चालक समितिको ठूलो विरोध भयो । यसबीचमा साझामा भ्रष्ट्राचार भएको भन्दै शर्मालाई सरकारले बर्खास्त पनि गर्‍याे । तर, सर्वोच्च अदालतबाट पुर्नबहाली गराएर पुनः उनी साझामा प्रवेश गरेका छन् र उनी भन्दैछन्– कसैले भ्रष्टाचारी भन्दैमा म लुगलुग काम्ने व्यक्ति होइन ।

रोचक त के छ भने यिनै शर्माले ‘बादलमाथिको घाम’ शीर्षकमा पुस्तकै लेखेर राजनीति एवं कर्मचारीतन्त्र कसरी भष्ट्राचारमा डुबेको छ भन्ने फेरहिस्त सुनाएका छन् । आफ्नो पुस्तकमा उनले साझा प्रकाशनमा कसरी भ्रष्टाचार हुन्छ भनेर समेत लेखेका छन् ।

साझा प्रकाशनका यिनै विवादित व्यक्तिलाई हामीले यो साता अन्तरवार्ता लिएका छौं ।

तपाईं त पुस्तक व्यापारी मान्छे, साझा प्रकाशनको अध्यक्ष र महाप्रबन्धक कसरी बन्नुभयो ?

०७० सालको कुरा हो । सामुदायिक विद्यालयका पाठ्यपुस्तकका लागि शिक्षा मन्त्रालयले १९ वटा प्रकाशनगृहलाई कक्षा एक देखि पाँचसम्मका पुस्तक छाप्न स्वीकृति दिएको थियो । तीमध्ये केही ब्यापारी मित्रहरु सबै प्रकाशन गृह मिलेर कार्टेलिङ् गर्नुपर्छ भनेर मिटिङ गरे । यो पैसा या त सरकार यात सामुदायिक शिक्षाका गरिब जनताले तिर्ने पैसा थियो । सबैले एउटै मूल्य राखेर बिल–बिजक सँगै राख्दा हामीले जति मूल्य राखे पनि जनताले पुस्तक किन्नुपर्ने बाध्यता आइलाग्ने अवस्था आयो । म सिण्डिकेटको बिरोधमा उत्रिएँ ।

स्वाभाविक थियो, उनीहरु दुश्मन भए । मेरो ब्यापार बिग्रने छाँटकाट देखेपछि सुरक्षित हुन जनक शिक्षाले वितरण गर्ने पाठ्यपुस्तकको जिम्मा लिने निधो गरेँ । त्यही क्रममा एकजना व्यक्तिले हिम्मत गर्ने हो भने साझाको जीएम हुने तिर लाग्नूस्, ब्यापार बिग्रिएर के हुन्छ, नयाँ बाटो खुल्छ भन्ने सल्लाह दिनुभयो । त्यहीँबाट दिमाग क्लिक भयो ।

साझा प्रकाशनको अध्यक्ष तथा जीएम हुन ठूलो आर्थिक चलखेल हुन्छ भनेर स्वयं तपाईले आफ्नो पुस्तकमा लेख्नुभएको छ नि ?

एकपल्ट राम्रोसँग ‘बादलभित्रको घाम’ पढ्नुभयो भने धेरै कुरा लेखेको छु । तर, त्यो पनि केवल २५ प्रतिशत मात्र लेखेको हुँ । बाँकी ७५ प्रतिशत त लेख्नै बाँकी छ । अर्को बर्षभित्र त्यो पनि आउँछ ।

तपाईंको पुस्तक पढ्दा त घुस खुवाएरै साझाको अध्यक्ष तथा जीएम हुनुभएको प्रमाणित हुन्छ । यसमा के भन्नुहुन्छ ?

जसले जीएम बन्ने सपना देखायो, उसलाई खानपिन गरिएको कुरा पुस्तकमा उल्लेख गरेको छु । बाँकी, शिक्षा मन्त्रीले कहिल्यै पनि मसँग कुनै किसिमको कुरा गर्नुभएन ।

तर, सबै खराब हुन्छन् र सबैले पैसा नखाई काम गर्दैनन् भन्ने कुरा म मान्दिनँ । मसँग यस्ता घटना पनि छन्, जसले साझाको अध्यक्षलाई पैसा झार्न शिक्षामन्त्रीको नाम लिएर देशका राज्यमन्त्रीसमेत मलाई भेट्न एउटा रेष्टुराँमा आएका थिए । देशको मन्त्री, राज्यको झण्डावाल गाडी चढेर एउटा रेष्टुराँमा पैसाको कुरा गर्न आउने राज्यमन्त्री पनि यही देशमा छन् ।

तपाईंलाई साझाको जीएम बनाइदिन्छु भनेर पैसा धुत्ने कर्मचारी को थियो ?

जुन कर्मचारीले मलाई साझाको जीएम बन्नुहोस् भनेर उक्साउँदै मसँग फाइदा लिइरहेका थिए, उनले मलाई बिरालोले मुसा खेलाएझैँ खेलाई खेलाई लुटे ।

जब मेरो शिक्षामन्त्रीसँग राम्रो सम्बन्ध स्थापित भयो, एक दिन म मन्त्रीकै अघि भएका बेला उनले फोन गरेर मन्त्रीकै बिरोधमा कुरा गरे । त्यो कुरा मैले फ्री ह्याण्ड गरेर मन्त्रीजीलाई सुनाइदिएँ । त्यो सुन्दा शिक्षा मन्त्रीको अवस्था के भयो, तपाईं अनुमान लगाउन सक्नुहुन्छ ।

खासमा काम गर्न नदिने र बिगार्ने कर्मचारीहरु हुन् । राजनीतिज्ञलाई बरु देशको चिन्ता छ, जनतासँग बाचा गरेका हुन्छन्, कर्मचारीहरुलाई त केवल कमाउनु छ । त्यसकारण यहाँ यस्ता खेल खेलिन्छन् ।

तपाईं साहित्य उति नबुझेको मानिस, साझा प्रकाशनको नेतृत्व गर्न अप्ठ्यारो हुँदैन ?

मेरा १७ निबन्धमध्ये एउटा निबन्धको शीर्षक छ– ‘साहित्यमा म’ । बाग्लुङबाट विदेश जान भनेर काठमाडौं आएको मान्छे, दलालले पैसा खाएपछि म काठमाडौंमा बाध्यताले बसेको हुँ ।

तर, काठमाडौं आएको दुई–चार दिनमै म लक्ष्मीप्रसाद देवकोटाको घर खोज्दै डिल्लीबजार पुगेँ र त्यो घर हेरेर आँशु खसाएँ । लक्ष्मीप्रसाद देवकोटाका जेठा छोरा पद्यमप्रसादलाई भेटेर देवकोटाको तृष्णा मेटेको म अहिले पनि सम्झन्छु ।

त्योबेला डायमन समशेर, मोहन कोइराला, मदनमणि दीक्षितलाई भेट्नका लागि उहाँहरुका घर–घर पुग्थेँ । कतिपय साहित्यिक कृति प्रकाशन पनि गरेँ । आज नेपाली साहित्यलाई ‘बादलभित्रको घाम’ दिएको छु । चाँडै अर्को पुस्तक आउँदैछ । त्यसकारण साहित्य नबुझेको मानिस साझामा गयो भन्ने आरोप नबुझ्नेहरुले लगाउने हो ।

साझा धराशायी हुनुको मुख्य कारण के रहेछ त ?

जब कुनै संस्थाप्रति सञ्चालक र कर्मचारीहरुको माया हुँदैन, त्यो स्वतः बिग्रिएर जान्छ । साझामा नियुक्त हुनु भनेको साहित्य सेवा गर्न होइन, कमाउन जानु हो भन्ने परेपछि यसको हालत कस्तो हुन्छ, कल्पना गर्न सक्नुहुन्छ ।

साझामा कतिसम्म भएको रहेछ भने तीन लाख रुपैयाँ तलब तोक्ने र त्यसको ५० प्रतिशत तलब तोकिदिने मानिसलाई कमिसन दिने गरिएको रहेछ । कम्पनी १९ करोडको घाटामा गएको बेला बैंकलाई एक करोड बार्षिक नाफा देखाएर ऋण लिने अनि त्यो ऋण लिएको पैसालाई विभिन्न बाहानामा खर्च गरेर कमाउने कारण पनि संस्था धराशायी भएको रहेछ । यस्ता कति विकृति छन्, मेरो पुस्तकमा धेरै कुरा उल्लेख गरिएको छ ।

साझा प्रकाशनमा आएर तपाईले के गर्नु भो त ?

सबैभन्दा पहिले मैले आर्थिक रुपमा उठ्न साझा प्रकाशनबाट अंग्रेजी माध्यमका ३ देखि कक्षा १० सम्मका व्यवसायिक पाठ्यपुस्तक उत्पादन गर्न थालेँ । किनभने हामीसँग सबै सामग्री थिए । मसँग व्यवसायिक ज्ञान थियो । त्यसलाई सदुपयोग गरेर पैसा जम्मा गरेँ । त्यसपछि त्यो पैसाले बजारमा माग भएका साहित्यिक कृतिहरुको पुनःमुद्रण गरेँ । साझाका पुरस्कारहरुलाई नियमित गरेँ । त्यसबाहेक राम्रा लेखकका बिक्री हुने कृतिहरुलाई प्रकाशन गर्न थालेँ । किनभने संस्था टाट पल्टिसकेको थियो र भएको सामाग्रीले ब्यापार गर्नुबाहेक अर्को विकल्प थिएन ।

तपाईंले पुराना कर्मचारीहरु किन निकाल्नुभयो ? उनीहरुको सेवासुविधा दिनुभएको छैन भन्ने गुनासो छ नि ?

कर्मचारीको अर्थ हो काम गर्ने व्यक्ति । काम नगरी तलब खान पाइँदैन, त्यो तथ्य हो । जो कर्मचारी निस्कनुभयो, उहाँहरु आफैं अब साझा कुनै हालतमा माथि आउँदैन भन्ने ठानेर छाडेर जानुभएको हो । अहिले साझा बौरिएपछि मेरो अधिकार चाहियो भन्नु कहाँसम्मको न्याय हो ? काम गर्नेहरुलाई समयमा तलब दिनु र उहाँहरुको भविष्यको सुरक्षा गर्नु मेरो दायित्व हो । त्यसबाट म भाग्दिनँ । यति हुँदाहुँदै पनि म कसैमाथि अन्याय गर्न यहाँ आएको होइन । अब साझा आफ्नो खुट्टामा उभिएको छ । चाँडै समस्या समाधान हुन्छ । ०६८ सालदेखि हालसम्म उपदान पाउने सर्तमा बाहिरिनुभएका कर्मचारीहरुले पाउने रकमको व्यवस्था गर्दैछु । मेरो कार्यकाल पूरा हुनुअगावै यी समस्याको समाधान गर्छु ।

तपाईंमाथि साझामा भष्ट्राचार गरेको आरोप छ । साझामा नियुक्त हुनका लागि धेरै दुःख र खर्च गरेको कुरा त तपाईंका पुस्तकमै लेखिएका छन्…

अरुका लागि साझा के हो, थाहा छैन । मेरा लागि यो सरस्वतीको मन्दिर हो । यहाँ म अरुजस्तो कमाउन आएको होइन । मेरो जीवन चलाउन ब्यापार नै काफी छ । यो संस्था लक्ष्मीप्रसाद देवकोटा–बालकृष्ण समहरु जस्ता दिग्गज व्यक्तित्वहरुको सपना हो र कल्पना हो । न म यहाँ कसैलाई भष्ट्राचार गर्न दिन्छु, न म भष्ट्राचार गर्छु । कसैले भष्ट्राचारी भन्दैमा लुगलुग काम्ने व्यक्ति म होइन ।

पत्रिकामा भष्ट्राचारको समाचार आयो भन्दैमा डराउनुपर्ने के छ ? जुन सञ्चार माध्यम भष्ट्राचारको जगबाट जन्मिएको छ, उसले अरुलाई भष्ट्राचारी देख्नु सामान्य हो । अरुले नदेखेको भष्ट्राचार पत्रिकाले मात्रै देख्नु अनौठो होइन ?

तपाईं पत्रिकालाई भन्दै हुनुहुन्छ, तर सरकारले नै तपाईंलाई भष्ट्राचारको आरोपमा निलम्बनसमेत गर्‍याे नि ?

तर, सर्बोच्च अदालतले फुकुवा गर्‍याे । त्यसोभए कानुनलाई गलत मान्ने ? हेर्नोस्, तपाईंले प्रश्न सोधे झैं यति सजिलै नेपालको राजनीति बुझिँदैन । म पनि लहैलहैमा साझा प्रकाशनमा आउने रहर गरेँ र यो संसार देख्न पाएँ । मलाई गुमाउनु पर्ने कुरा पनि केही थिएन, यसबाट एक पैसा कमाउनु पनि थिएन । यही कारण धेरैलाई खुसी पार्न सकिनँ । म यहाँ कुनै अमूक मन्त्री वा नेतालाई पैसा कमाइदिन आएको होइन । त्यसैले यस्ता आरोप लाग्छन् । अब महालेखापरीक्षकको रिपोर्ट आउँदैछ । त्यसले धेरैको मुटुको ढ्याङग्रो बज्न थालेको छ । धेरै स्वनामधन्य साहित्यकारहरुको नयाँ रुप देखिनेबाला छ । म अर्को पुस्तक लेख्दैछु ।

साझा छाडेपछि के गर्नुहुन्छ, राजनीति गर्नुहुन्छ ?

राजनीति र कर्मचारीको अवस्था नजिकबाट हेरेँ । अब देश र समाजका लागि कलम मात्र चलाउँछु ।

अनि ब्यापार नि ?

ब्यापार गरेर दुई छाक खान पुग्ने पैसा कमाएको छु । सन्तानलाई पैसा होइन, शिक्षा दिनुपर्छ भनेर नियम बनाएको छु । त्यसकारण अनावश्यक पैसा कमाउने रहर पनि छैन । हिजो बुबाले कमाउनुभएको खेत आज बाँझै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment