२७ साउन, काठमाडौं । प्रहरीले अवैध मुगा कारोबारी विदेशी नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले यमन नागरिक एल अस्री मोहामे यहा यहालाई ठमेलको एक होटलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको सुटकेस खानतलासी गर्दा मुगाको माला र विदेशी मुद्राहरु बरामद गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मुगाको कारोबार गर्न आएका जुम्ला घर भएका नवीन चौलागाई, मुगु घर भइ बौद्ध बस्ने ग्याल्पु तामाङलाई समेत पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका यमन नागरिकबाट ८ किलो मुगा, ५२ सय ३ अमेरिकी डलर, यमन मुद्रा १४ हजार, इजिप्टको मुद्रा ७५०, चाइनिज युआन ४९३ लगायत विभिन्न देशको मुद्राहरु बरामद गरेको छ । त्यस्तै ग्याल्पु तामाङको साथबाट ४६ थान मुगा बरामद गरेको परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।
रेडपाण्डाको छाला सहित ५ जना व्यक्ति पक्राउ
प्रहरीले रेडपाण्डाको छालासहित काठमाडौंबाट ५ जना पक्राउ गरेको छ । शनिबार बेलुका ५ बजे नागर्जुन नगरपालिका ८ नेपालटारबाट ताप्लेजुङका आशिक राई, ओखलढुंगाका सन्तोष राई, रमेश पौडेल, मिलन गुरुङ र जनककुमार चाम्लिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चाम्लिङले हातमा बोकिरहेको रातो फाइबरको झोला जाँच गर्दा रेड पान्डाको रौ र छाला भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता थापाले जानकारी दिए । उनीहरुलाई अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया 4