Comments Add Comment

मध्यरातमा सिमरा आइपुग्यो मालपोत र नापीको श्रेस्ता

स्थानीयबासीले गरे फूलमालाले स्वागत

३० साउन, सिमरा । बाराको सिमरामा मालपोत र नापीको श्रेस्ता आइपुगेको छ । मङ्गलबार राति ९ बजे कलैयाबाट प्रहरी सुरक्षामा मालपोत तथा नापी कार्यालयको श्रेस्ता ल्याएसँगै अब यस क्षेत्रका नागरिकले सिमराबाटै मालपोत र नापी कार्यालयको सेवा पाउने भएका छन् ।

३० असोज ०७१ मा तत्कालीन सरकारले सिमरा र सिम्रौनगढमा सेवा केन्द्र खोल्ने निर्णय गरेको थियो । तर, त्यसको विरोधमा कलैयामा आन्दोलन सुरु भयो । आन्दोलन हिंसात्मक बन्दै गएपछि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले ५ महिनापछि ०७१ फागुनमा निर्णय स्थगित गरेको थियो ।

पछिल्लो पटक २१ जेठमा सरकारले सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापना गर्ने निर्णय गर्‍यो । यो पटक पनि कलैयामा बिरोध भयो । कलैया बचाउ संघर्ष समिति नै बनाएर काठमाडौंसम्म डेलिगेसनमा गयो ।

तर, सरकार पछि हटेन । मंगलबार राति सुरक्षाकर्मीको सहयोगमा श्रेस्ता सिमरा पुर्‍याइएको छ । सिमरामा मालपोत र नापी कार्यालय स्थापना गरेर ठूलो चुनौती सामना गर्न सफल भएको नेकपाका नेता राजन पौडेल बताउँछन् ।

जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल पनि मालपोत र नापी कार्यालय स्थापनाले यस क्षेत्रका जनतालाई राहत मिलेको बताउँछन् ।

श्रेस्तालाई स्थानीयको स्वागत

जितपुरसिमरा ३ बजनीस्थित कार्यालयमा मालपोत र नापी कार्यालयको श्रेस्ता ल्याउँदा स्थानीयले स्वागत गरेका थिए । मध्यरातमा पनि उनीहरु उपस्थित थिए ।

सिमरा सेवा कार्यालयको प्रमुखका रुपमा मालपोतमा राज राजेश्वर त्रिवेदी र नापीमा क्रान्ति गुप्तासहित प्रहरी टोलीलाई स्थानीयले फूलमालाले स्वागत गरेका हुन् ।

नापी कार्यालय सिमराका प्रमुख क्रान्ति गुप्ताका अनुसार बुधबार दुवै कार्यालयमा विधिवत पूजाआजा गरिएको छ । केही दिनभित्र औपचारिक रुपमा कार्यालय उदघाटन गरी सेवा आरम्भ हुने कार्यालय प्रमुख गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment