Comments Add Comment

चारपाथी जौं-मकै फल्ने बारीमा १५ लाखको तरकारी !

जौं-मकै लगाउने बारीमा सिस्नो खेती

३१ साउन, बुटवल । गुल्मीको छत्रकोट-४ श्रृङ्गा रुक्सेका किसान रामकृष्ण कंडेलले आफ्नो बारीमा जम्मा चारपाथी जौ स्याहारेेको सम्झिन्छन् । तर, अहिले त्यही बारीमा १५ लाखको तरकारी उत्पादन गरेको दावी उनको छ ।

कंडेलले अहिले त ४५ रोपनीमा थरीथरीका तरकारी तथा फलफूल खेती गरेका छन् । ‘चार वर्षअघिसम्म बारीमा मकै, गहुँ ,कोदो, जौं रोप्दा घरमा खान पनि पुग्दैन थियो,’ उनले अघि भने, ‘अहिले टमाटर, सिमी, बोडी, तितेकरेला, सिस्नो, भुटुक, खुर्सानी, अमिलो, सुन्तला रोपेकोले पैसाको कुनै दुःख छैन ।’

४ वर्षयता ब्यबसायिक कृषिकर्म थालेपछि गतसाल मात्रै १२ लाख आम्दानी गरेको उनले सुनाए । कंडेल गुल्मी जिल्लामा सबैभन्दा बढी तरकारी उत्पादन गर्ने किसानका रुपमा पुरस्कृत समेत भइसकेका छन् । ‘अन्नबाली लगाउँदा भन्दा अहिले तरकारीबाट ९५ प्रतिशत आम्दानी बढेको छ,’ कंडेलले उत्साहित हुँदै भने, ‘यही बारीबाट गतसात १२ खाद कमाए, यो पटक १५ लाख कमाउने लक्ष्य छ ।’

घरकै सदस्यहरुको सहयोगमा तरकारी खेती गरिरहेका कंडेलले विदेश गएका युवाहरुलाई पनि घर फर्केर कृषिकर्ममा जुट्न सुझाव दिए ।

उनी मात्रै होइन गुल्मी छत्रकोट गाउँपालिकाका धेरै किसानहरु परम्परागत खेती प्रणालीलार्इ विस्थापित गर्दै व्यवसायिक तरकारी खेतीतर्फ अाकर्षित भएका छन् । योसँगै यहाँका किसान तरकारीमा आत्मनिर्भर बनिसकेका छन् ।

बजार र उत्पादित बस्तुको भाउको बारेमा किसानमा कुनै चिन्ता देखिदैन । पैचो पसलले बारीमै पुगेर तरकारी खरिद गरिदिन्छ । ‘हामीलाई कुनै चिन्ता छैन, तरकारी र फलफूल उत्पादन गरे बजारमा लैजान गाडी घरमै गाडी आउँछ ।’ स्थानीय रमेश परियारले सुनाए ।

सरकारीको सहयोग नपाएको गुनासो

छत्रकोट-१ का हुंगाका २५ वर्षीय भुवन खरालले बारीभरी २२ हजार खुर्सानी रोपेका छन् । उनले ९ रोपनीमा टमाटर र १२ रोपनीमा खुर्सानी रोपेर खुर्सानी कृषकको रुपमा पहिचान बनाएका छन् । ‘वार्षिक १० हजार तिर्नेगरी लिजमा जग्गा भाडामा लिएर मैले एक्लैले बारीभरी खुर्सानी रोपेको छु यसबाट मनग्ये आम्दानी हुन्छ ।’ खरालले भने ।

रामकृष्णको सिस्नो खेती

छत्रकोट-१ कै लक्ष्मीनारायण न्यौपानेले आफूहरुको खेतिपातिमा सरकारले कुनै प्रकारको सहयोग नगरेको गुनासो सुनाउँछन् । कृषकलाई प्रोत्साहन र अनुदानको नीति ल्याउनुपर्ने ६२ वर्षीय न्यौपानेको भनाइ छ । ‘हुनेखानेले नै सरकारले दिने अनुदान हत्याउँछन्, हाम्रो बारेमा सरकारले कुनै पनि सोच बनाएन, दुःखसुख गरेर काम गरेका छौं ।’ उनले भने ।

स्थानीय रमेश परियारले पहिलोपटक ब्यबसायीक रुपमा तरकारी खेती सुरु गरेको बताए । उनको बारीमा आँप, कटहर, खुर्सानी, टमाटर, काँक्रो लटरम्म फलेका छन् ।

छत्रकोट १ हुंगाका २५ वषिर्य लक्ष्मण न्यौपानेले ६ हजार पाँच सय टमाटर र १० हजार काउलीका बेर्ना रोपेका छन् । उनले गतबर्ष मात्रै १५ लाखको तरकारी बेच्दा ९ लाख बचत भएको बताए ।

किसानहरुले सरकारबाट सहयोग नपाएको गुनासो गरेपनि छत्रकोट १ का वडाध्यक्ष धातानन्द भण्डारीले भने स्थानीय सरकारले किसानहरुकै पक्षमा नीति बनाएको बताए । ‘छत्रकोटका किसानहरुकै पक्षमा नीति बनाएका छौं । किसानको आम्दानी हेरेर पेन्सन पनि दिने योजना छ ।’ उनले भने ।

यो क्षेत्रमा चार वर्षदेखि पैचो पसलले सहयोग गरिरहेको छ । पहाडी क्षेत्रका किसानको सारथीको रुपमा काम गरिरहेको पैचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुब न्यौपानेले पैचोमा ४ सय जनाले प्रत्यक्ष रोजगारी पाएको र अहिलेसम्म २२ करोड बराबरको लगानी बिस्तार गरिएको बताए ।

पैंचोका १८ शाखा र ३६ वटा संकलन केन्द्र संचालनमा छन् । ‘किसानहरुलाई ब्यबसायीक बनाउने आफूहरुको मुख्य प्राथमिकता हो ।’ प्रबन्धक न्यौपानेले भने ।

( गुल्मीको छत्रकोटबाट र्फकेपछि )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment