Comments Add Comment

एनटीभीले बेच्न सकेन ‘पिक टाइम’, के हुन्छन् अब कमेडी सिरियल ?  

नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द छन् । फलस्वरुप आठ बजेको समाचारपछिको पिक टाइममा टेलिभिजनले कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्न सकेको छैन ।

सो समयमा मिडिया हबले चार वटा हास्य टेलिश्रृंखला र एउटा पारिवारिक सिरियल प्रशारण गर्दे आएको थियो । तर, मिडिया हबसँग टेलिभिजनको तीन वर्षे करार अवधि सकिएपछि ती सबै कार्यक्रम बन्द भएका हुन् ।

नेपाल टेलिभिजनले उक्त समय बिक्रीका लागि दुईपटक टेन्डर आह्वान गरिसक्दा पनि एउटै प्रस्ताव नपरेको टेलिभिजनका सुचना अधिकारी नवराज नेपालले बताए ।

‘अहिलेसम्म एउटा पनि प्रस्ताव परेन, अब के गर्ने भनेर हामी छलफलमा छौं,’ उनले भने ।

टेन्डर नभरे पनि मिडिया हबले छुट्टै निवेदन दिएर उक्त समय पुन खरिद गर्ने इच्छा व्यक्त गरेको छ । तर, पहिलेकोभन्दा पैसा घटाउनुपर्ने उसको माग छ ।

टेलिभिजनले पहिलो टेन्डरमा एउटा एपिसोडको दुई लाख ७६ हजार न्यूनतम दर कायम गरेको थियो । त्यसमा प्रस्ताव नआएपछि दोस्रोपटक दुई लाख २८ हजारमा टेन्डर आह्वान गरियो । त्यसमा पनि कुनै प्रस्ताव आएन । मिडिया हबले यसमा केही रकम घटाएमा आफू समय किन्न तयार रहेको जनाएको छ ।

मिडिया हबका प्रमुख सोम धितालले भने, ‘हामी टेलिश्रृंखलाहरु पुन सुचारु गर्ने मनस्थितिमा नै छौं । त्यसका लागि हामीले केही शर्तहरु राखेका छौं । टेलिभिजनले ती शर्तहरु मान्यो भने हामी सबै सिरियलका साथ फर्किनेछौं ।’

नेपाल टेलिभिजनबाट मिडिया हबले प्रत्येक आइतबार ‘परिचय’, सोमबार ‘ब्रेक फेल’, मंगलबार ‘मेरी बास्सै’, बिहिबार ‘जिरे खुर्सानी’ र विहिबार ‘भद्रगोल’ प्रशारण गर्ने गरेको थियो । यी सबै अहिले बन्द छन् ।

एनटीभीका सूचना अधिकारी नेपालले महत्वपूर्ण समयमा राम्रो कार्यक्रम दिन नसक्दा आफूहरु पनि दवावमा रहेको बताए ।

‘हामी पनि चाँडै यसलाई टुंग्याउन चाहन्छौं,’ उनले भने, ‘तर, न्यूनतम रकमभन्दा ओर्लेर सम्झौता गर्न सक्दैनौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment