Comments Add Comment

रोनाल्डोबिनाको ला लिगा: रियललाई कठीन, बलियो बार्सिलोना, उस्तै एथ्लेटिको

१ भदौ, काठमाडौं । ला लिगा इतिहासकै उत्कृष्ट मध्येका एक खेलाडी क्रिष्टियानो रोनाल्डोबिना शुक्रबार रातिदेखि नयाँ सिजन सुरु हुँदैछ ।

रियल मड्रिडलाई बार्सिलोनासँग मात्रै होइन, गएको सिजन जस्तै एथ्लेटिको मड्रिडसँग पनि चुनौती ठूलो छ । गएको सिजन लिग सकिँदा बार्सिलोनाको ९३, एथ्लेटिको मड्रिडको ७९ र रियल मड्रिडको ७६ अंक रहेको थियो । चौथोमा रहेको भ्यालेन्सियाको ७३ अंक थियो ।

गएको सिजन च्याम्पियन्स लिग जितेपनि ला लिगामा कमजोर देखिएको रियल मड्रिड रोनाल्डोको अभावमा नयाँ शैलीमा देखिन्छ या झनै कमजोर बन्छ भन्ने बहस सुरु भएको छ । च्याम्पियन्स लिग जिताएका प्रशिक्षक जिनेदिने जिदान पनि क्लबमा छैनन् ।

रियल मड्रिडले पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचालेर विश्व क्लब फुटबलमा आˆनो दबदबा देखाउँदा उनै रोनाल्डोको भूमिका प्रमुख देखिएको थियो ।

सन् २००९ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडबाट आएपछि मड्रिडबाटै ४ च्याम्पियन्स लिग, ४ बालोन डि’ओर जितेका उनको खेल शैली मड्रिड समर्थकलाई जिदानको प्रशिक्षण शैलीभन्दा बढी पि्रय छ ।

रोनाल्डोले मड्रिडबाट ४ सय ३८ खेलमा ४ सय ५१ गोल गरेर उपाधि यात्रामा सधैँ प्रमुख भूमिका खेलेका थिए । उनले मड्रिडबाट ४४ हृयाटि्रक गरे, जसमा ला लिगाको ३४ हृयाटि्रक सामेल छ ।

मड्रिडलाई ४-३-३ को शैलीमा खेलाएका नयाँ प्रशिक्षक जुलेन लोपेटेगीले अट्याकमा करिम बेन्जेमा, मार्को एसेन्सियो र ग्यारथ बेललाई उतार्ने शैली अपनाइरहेका छन् । उनी ग्यारेथ बेलले यसपटक आफूलाई प्रमाणित गर्नेमा पनि ढुक्क छन् । साथै मिडफिल्डर इस्कोलाई नयाँ ढंगमा प्रयोग गर्न चाहन्छन् ।

नयाँ खेलाडीमा खेल्न नरुचाएका लोपेटेगीले गोलकिपरमा केलर नाभासमाथि नै विश्वास गरिराख्छन् या भर्खरै क्लब ल्याइएका थियाबट कोर्टुवालाई खेलाउँछन् भन्ने प्रमुख विषय देखिएको छ ।

यस्तोमा यो सिजन बार्सिलोनाले नयाँ खेलाडी अनुबन्ध गर्ने र टिमलाई अझ बलियो रुपमा बढाउने काममा पनि अरु क्लबले भन्दा धेरै समय र पैसा खर्चिएको देखिन्छ ।

एथ्लेटिको मड्रिडले पनि केही दिन अघि युइएफए सुपर कपको उपाधिमा रियल मड्रिडलाई ४-२ ले पराजित गर्दा समर्थकसँगै खेलाडीले पनि रोनाल्डो सम्भिmरहेका थिए । ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि कप्तान सर्जियो रामोसले रोनाल्डो शैलीमा सेलिब्रेसन गरेका थिए ।

खेलमा पहिलो हाफ एक/एक गोलको बराबरी र निर्धारित समय दुई/दुई गोलको बराबरीमा सकिँदा थप समयमा एथ्लेटिकोले दुई गोल थपेको थियो । जसले रियल मड्रिडले सन् २००० पछि नहारेको युरोपियन फाइनलमा हार्नुपर्‍यो ।

पछिल्लो पटक २०१३/१४ को सिजन ला लिगा जितेको एथ्लेटिको मड्रिडले गएको सिजन जस्तै यसपटक पनि आफ्नो उत्कृष्टता देखाउन थालिसकेको छ । एन्टोनी गि्रजम्यान, डिएगो गोडिन र जान ओबलाक जस्ता राम्रा खेलाडीलाई धेरै क्लबले आँखा लगाइरहँदा क्लबमै राखिरहन सक्नुमा पनि एथ्लेटिकोको बलियो पक्ष देखिएको छ ।

गएको सिजन च्याम्पियन्स लिग अन्तिम १६ मा रोमासँग हारेको बार्सिलोनालाई प्लेइङ ११ परिवर्तन गर्ने प्रमुख चुनौती देखिएको छ ।

गएको सिजन बार्सिलोनाको ३० खेलमा मार्क आन्द्रे टेर स्टेगेन, जोर्डी अल्बा, सर्जियो बुस्केट्स, इभान र्‍याकिटिक, लुइस स्वारेज र लियोनल मेस्सी सुरुअाती ११ मा सामेल थिए । यसैले प्रशिक्षक एर्नेस्टो भालभर्देले ला लिगामा धेरै ध्यान दिँदा च्याम्पियन्स लिगमा खराब हार भोगेका थिए । यसैले पनि यो सिजन प्लेइङ ११ मा परिवर्तन गर्न उनमा चुनौती थपिएको छ ।

मिडफिल्डमा आन्द्रेस इनिस्टा र पोउलिन्होको कमी पूरा गर्न आर्थर र आर्टुरो भिडाल साथै र्‍याकिटिक र बुस्केट्सको पुरानै शैली भालभर्देको प्रमुख हतियार देखिएको छ । अट्याकमा मेस्सी र स्वारेजसँगै मिडफिल्डदेखि नै अट्याकमा मद्धत गर्न फिलिप काउटिन्हो पनि र्फममा नै छन् ।

गएको सिजन घाइते रहेर समस्यामा परेका उसमान डेम्बेले पनि अहिले फिट छन् । उनकै उत्कृष्ट गोलमा गएको आइतबार बार्सिलोनाले सेभियालाई हराएर स्पेनिस सुपर कपको उपाधि पनि जितेको थियो ।

यो सबैका बीच समर्थकलाई खड्किने मुख्य विषय रोनाल्डो र मेस्सीको प्रतिस्पर्धात्मक खेल क्षमता नै हो । २०१५ मा एउटा डकुमेन्ट्रीका बेला मेस्सीका कारण अझै राम्रो खेल देखाउँदै जान आफू प्रेरित हुने रोनाल्डोले बताएका थिए । ला लिगामा रोनाल्डो र मेस्सीले एकआपसमा खेलेका खेल हेर्दा मेस्सी केही अघि देखिन्छन् । १८ भेटमा १० मा मेस्सी विजयी भए भने रोनाल्डोलले ४ खेल जिते । सबै गरेर भएका ३५ खेलमा मेस्सीले १६ खेल जित्दा रोनाल्डोले १० खेल जितेका छन् ।

यसैले मेस्सी र रोनाल्डोको खेल क्षमता दाँजेर ला लिगाको रमाइलो उठाउनेका लागि यो सिजन खल्लो बन्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment