Comments Add Comment

निबन्धः आनन्दको खोजीमा

केही पहिले, प्लस टुको विद्यार्थी छँदा एकदिन लागूपदार्थको दुव्र्यसनमा फसेर तड्पिरहेको साथीलाई सोधेको थिएँ, ‘तँ ड्रग्स किन सेवन गर्छस् ?’

‘आनन्दको खोजीमा’ मेरो प्रश्नलाई उसले यसरी जवाफ दियो, मानौं, म त्यही प्रश्न सोध्नेवाला छु भनेर ऊ अघिदेखि तयार बसेको छ ।

साथीको जवाफ चित्त बुझेन । यसौ भनौं, सोचेर नदिएको उत्तरको अर्थ भए जस्तो लागेन । मैले मुख खुम्च्याउँदै भनें, ‘तड्पेर बसेको देख्छु, यसमा के आनन्द ? मलाई त तेरो अवस्था देखेर कतै पनि आनन्द आएको जस्तो लागेन ।’

“तड्पिनुको आनन्द नतड्पिनेलाई के थाहा ? साथीले मलाई लागूऔषध नखानेको ग्याङमा राखेको थियो । यो त्यसैको व्यंग्य थियो ।

‘ट्यापे… खान नपाएर मर्न लागिराछ, आनन्द रे’ मैले उसलाई साथीको नाताले गाली गरेको थिएँ ।

०००

मलाई आजभोलि स्कुल कलेजका ती दिनको याद आइरहेको छ । छोडिएका हरेक कुरा प्यारा लाग्छन् । मलाई त्यो ट्यापे साथी पनि याद आइरहेको छ । जसले हालसालै ड्रग्सका कारण जीवन समाप्त पार्‍याे भन्ने सुनेको छ ।

यतिखेर रातको बाह्र जति बजेको छ। म एक्लै एउटा मसानघाट जस्तो लाग्ने ठूलो हालभित्र छु । मेरा साथीका रूपमा एउटा मेसिन, एकजोर ट्युबलाइट र ट्युबलाइटका छेउमा भुनभुनाइरहेका केहि पुतली र भुसुनाहरू छन् । बाँकी सिङ्गो दुनियाँ निदाएको छ।

काम गर्दागर्दै यौटा पुतली फ्यात्त सामुन्नेको पानीमा झरेर छटपटाउन थाल्यो। काम छाडेर पुतलीलाई पानीबाट उद्धार गरेर सुख्खा ठाउँमा राखिदिएँ । केही छिन ऊ मौन बस्यो। अलिअलि पखेटा अख्रिन थालेपछि छट्पटाउन थाल्यो । उड्न खोज्यो।

हेरिरहेँ । केहीछिनको छटपटीपछि पुतली उड्यो। ऊ यस्तरि हानिएर उड्यो कि लाग्छ गन्तव्यमा पुग्न हतार छ उसलाई। एउटा ज्यान बचाएको थिएँ । उद्धारकर्ता झैँ म मुस्कुराएर उसलाई कता जान्छ भनेर हेरेँ । ऊ सिधै बलिरहेको ट्युबलाइटमा गएर ठोकिया। उसले आफ्नो गति सम्हाल्न सकेन र फेरि अर्को पानीको टबमा तुप्लुक्क झर्‍याे । यस पटक ऊ धेरै छटपटाएन। सायद धेरै नै जोडले ऊ ट्युबलाइटमा ठोक्किएको छ । म उद्धार गर्न पुग्दानपुग्दै उसले जिन्दगीलाई यतै कतै बिसर्जन गरिभ्यायो।

झल्याँस्स, समयको याद आयो । मध्य १२ को यो समयमा लाग्यो, यी पुतली, भुसुनाहरू यो भूतले खाजा खाने समयमा कालो मृृृृत्युलाई उज्यालोले सिँगार्न आएका त हैनन् ? यिनीहरूले उज्यालोमा मृत्युवरण गर्न चाहेका त हैनन् ? हामी मान्छेहरू जस्तै यिनीहरू पनि मृत्युसँग डराउँछन् ?

०००

चार वर्ष पुगेछ मेरा पखेटा पलाएको । आफ्नो दुनियाँ बिर्सिएर कृत्रिम प्रकाशको खोजीमा रूमल्लिएको । भूत जाग्ने बेलामा जागेको। मेसिनहरूको दुनियाँमा हराएको।

नेपाल छाड्दै गर्दा मसँग यौटा सुनौलो सपना थियो । यौटा गतिलो भविष्यको परिकल्पना थियो। सपना देख्दैै गर्दा मैले विदेशमा काम गर्नुपर्छ भन्ने मात्र सोचेको थिएँ। कस्तो काम गर्नुपर्छ भन्ने सोचेको थिइन।

हुनत संसारका हरेक काम समान छन्। मान्छे भनेपछि गरिब धनी, बलियो कमजोर, मोटो पातलो, अग्लो होचो, सवलाङ्ग विकलाङ्ग सबै पर्छन् । कामको शाब्दिक अर्थ यौटै हो–कुनै ईलम गरेर गुजारा चलाउनु । कामसँग मेरो कुनै गुनासो होइन।

त्यसो त म आजकल हरेक कुरासँग सन्तुष्ट हुन खोज्छु । सन्तुष्ट हुने प्रयत्न गर्छु । उमेरले जति सिँढी चढ्दै जान्छ असन्तुष्टि पनि बिस्तारी दूर हुदै जाने रहेछ। चित्त आफैं बुझ्दो रहेछ ।

आजकल लाग्न थालेको छ – मैले उतिबेला त्यस्ता सपनाहरू किन देखे हुँला?

मार्वलको एक छेउमा खोपेर कारखानाको नाम कुद्नु मेरो काम हो । चार वर्षदेखि म यही काम गरिरहेको छु। काममा म एक्लै हुन्छु। मार्वलको घुलो पखाल्दा पखाल्दा कालो भएको पानी, कर्कस आवाजमा एकोहोरो चलिरहेको मेसिन, एउटा सामान उचाल्ने गाडी, केही थान मार्वल मेरा परिचित साथीहरू हुन्।

कहिलेकाहीँ मलाई आफ्नै काम देखेर अचम्म लाग्छ। मेरो कारखानाको साहु सम्झेर हाँस उठ्छ। त्यत्रो तलब दिएर जाबो नाम लेख्ने काममा किन राखेको होला मेरो साहुले मलाई ? म जति मेहनत गरेर मार्वलमा कारखानाको नाम कुद्छु त्यति नै मेहनत गरेर कुनै मिस्त्रीले मार्वल बिछ्याउने बेलामा त्यो नाम मेटाउँछ। आखिर मेटाउनै पर्ने भएपछि किन लेखिरहनु?

काम गर्दा गर्दै आफ्नो अचम्मलाई आफ्नै मनले थुमथुम्याउन थाल्छ— मर्नु नै छ एकदिन भने तँ किन जन्मिइस् ? संसारका हरेक कुराहरू नाशवान् छन् । नाश हुनै पर्छ । यहाँ कुँदिएका नाम पनि त्यस्तै हुन् । अकस्मात् मलाई ऊबेला देखिएका सपनाहरू मिथ्याजस्तो लाग्न थाल्छ ।

सपना र यथार्थमा यौटै फरक छ, सपना सकेजति देख्न पाइन्छ । यथार्थ सकेजति भोग्न ।

०००

काम गर्दा कहिल्यै पनि मेरो मन ठेगानमा हुँदैन । मलाई थाहा छ काममा ध्यान नदिए दुर्घटना हुन्छ । ज्यानै पनि जान सक्छ। ज्यान गएका उदाहरण धेरै छन् । तर मलाई कल्पनाको सागरले खुब आनन्द दिन्छ। म काम गर्दा सधैं यतिखेर म काम गरिरहेको छु भन्ने कुरा बिर्सन्छु । म काम गर्दा गर्दै अनेकथरि सोच्छु । नचाहिँदो दिमाग खियाउँछु ।

आज मेरो मथिङ्गल केही भुसुनार पुतलीहरूले हल्लाइरहेका छन् ।

म अघिदेखि नियाली रहेछु ट्युबलाइटको वरिपरि घुमिरहेका पुतली र भुसुनाहरूलाई। लाग्दैछ, यो मध्यरातमा दुनियाँ निदाएका बेला यिनीहरूलाई किन बिउँझनु परेको होला ? आखिर केका लागि यिनीहरू यति हत्ते गरेर यो ट्युबलाइटलाई घेरिरहेछन् ? कि ट्युबलाइटको प्रकाशमा पो नाचिरहेका छन् यिनीहरू? कि उज्यालो गुम्ने डरले आत्तिरहेछन् ? जीवन र मृत्युको दोसाँधमा रहेको यौटा मानिसको मृत्यु कुरेर बसेका कुरुवाजस्तो के कुरिरहेछन् यिनीहरू? आखिर यो कृत्रिम प्रकाशसँग त्यस्तो के तागत छ? यिनिहरूलाई निद्रा लाग्दैन? प्रकृतिको दैनिकी हो मुस्कुराउनु । भोलि यो सिङ्गो प्रकृति मुस्कुराउने नै छ। त्यतिखेर दिल खोलेर प्रकृतिलाई फन्को मारे के बिग्रन्छ यिनीहरूको ?

अनायासै मलाई ट्युबलाइट बन्द गर्न मन लाग्छ। स्विच अफ गर्छु ।

बत्ती निभेपछि चारैतिर अन्धकार छाउँछ । म हल बाहिर निस्किन्छु र यौटा चुरोट सल्काउँछु।

चारैतिर चकमन्न अन्धकार छ। चुरोटको ठुटामा सल्किएको आगो पनि खुब झर्झराउँदो देखिइरहेछ। यत्तिकैमा कतैबाट यौटा किरो हान्निएर आयो । चुरोटको ठुटामा ठोकियो। सायद उसको पखेटा डढ्यो तत्कालै ऊ कतै अन्धकारमा अदृश्य भयो ।

ममा झन् कौतुहल बढ्यो । गोजीबाट मोबाइल निकालेँ र फ्ल्यासलाइटको सहारामा भर्खर चुरोटको ठुटामा ठोकिएको किरो खोज्न थालेँ । नभन्दै त्यो किरो भुइँमा मृत्युसँग छटपटाइरहेको रहेछ । कीराले मेरो हातमा रहेको मोबाइलको फ्ल्यासलाइट देखेर उड्न खोज्यो तर सकेन। म किरोलाई बचाउन सक्दिन थिएँ। बेवास्ता गरिदिएँ । उसको मृत्यु पनि कुरिन। सायद मर्‍याे ।

चुरोट निभाएर हलमा छिरें । निभाएको स्वीचअन गरेँ । त्यहाँ कीराहरू थिएनन् । अँध्यारो देखेर कीराहरूले ट्युबलाइट बस्ती खाली गरेछन् ।

फेरि काममा लागेँ । आखिर काम गरेरै मध्यरात कटाउनु छ ।

केही घन्टापछि थाकेर हलभित्रै चुरोट सल्काएँ। लामो सर्को तानें र खुुुई.. गर्दै माथि ट्युबलाइटतिर हेरें । पुतली, भुसुनाहरू अघि जसरी नै फेरि पूरै झुम्मिइसकेछन् ।

भुसुनाहरूको लीला हेर्दाहेर्दै अनायासै मलाई आफू पुतली भएको भाव मनमा आयो । सोचें चारैतिर अन्धकार छ । चकमन्न छ । ठ्याक्कै मेरो विद्यार्थी जीवनजस्तो ।

विद्यार्थी हुँदा एउटा सपना थियो पढेर ठूलो मान्छे बन्ने । म आकारले त ठूलो बनेँ तर मलाई पढ्न थाल्दा मैले देखेको ठूलो शब्दको अर्थ थाहा थिएन । म यहीँनेर अल्झिएँ आखिर ठूलो भनेको के हो? त्यसपछि मैले दुनियाँलाई नजिकबाट पढ्न थालेँ ।

दुनियाँलाई जति पढे पनि यौटै कुरा मात्र पाइयो –पैसा । पढे लेखेका ठूला मान्छेहरूलाई पनि पैसाकै जरूरत थियो। नपढेका साना होचाहरूलाई पनि पैसाकै। ठूला पढे लेखेकाहरू पनि बिहान बेलुका नखाई बाँच्न सक्दैनथिएँ । नपढेकाहरूलाई पनि खानै पर्ने । बरु समाजले प्रस्ट देखाइदियो ठूलो र सानाको वर्गीकरण र परिभाषा त पैसाले अपभ्रंश गरीवरि धनी र गरिब पो बनाइदिइसकेछ । धनीभित्र पढेका पनि थिए नपढेका पनि। गरिबमा पनि पढेका नपढेका दुवै । पढाइको भन्दा ठूलो इज्जत त धनको पो रहेछ।

मेरो ठूलोको परिभाषा बदलियो । पढाइ हापिदिएँ । त्यसपछि पैसाको पछि दगुरँे। नेपालीका लागि पैसा कमाउनु भनेको विदेश जानु हो । (अँ, केहीका लागि राजनीतिमा लाग्नु पनि हो ।) राजनीति गर्ने चरित्रको थिइन सायद, त्यसैले विदेश जानका लागि मेरा पखेटा पलाए।

काम गर्दा गर्दै अब म पुतली भएर उड्न थालें। अनि मेरो सामुन्नेको ट्युबलाइट एकाएक रुपैयाँमा रूपान्तरण भयो। म दिन रात, थकाइ आराम केही नभनी क्षणिक आनन्दको खोजीमा पैसाको पछिपछि उडिरहेको भान भयो ।

सोच्न थालें, नाथे ! यौटा कागजमा कति धेरै शक्ति ? दुनियाँको प्राण रक्षक हो पैसा । पैसाले संसारका सबै खुसीहरू नसकेपनि धेरैजसो खुशीहरू किन्न सकिन्छ । मान्छेको सबैभन्दा ठूलो शत्रु ‘भोक’लाई आफ्नो काबुमा राख्नसक्ने क्षमता छ पैसामा। पैसाले के गर्न सकिदैन र? जे पनि सकिन्छ। यो सिङ्गो दुनियाँलाई राज गर्ने यौटै चिज हो पैसा। आफू निर्जीव छ तर दुनियाँलाई सजिव बनाइराख्ने जिम्मेवारी पैसाले बोकेको छ। पैसाले किन्न नसकिने भनेको जीवन मात्र हो। तर पैसाबिना जीवन स्वयं पनि जीवन रहँदैन।

यी त पैसाका विशेषताहरू भए आखिर के हो त असलमा यो पैसा भन्ने चिज ? आफ्नै असन्तुष्ट मनले फेरि गुनासो गर्न थाल्यो।

सन्तुष्ट मनले तत्कालै जवाफ फर्कायो ‘पैसा केही पनि होइन । तर पैसासाग आनन्द लुकेको छ ।’

मैैैले फेरि ट्युबलाइटतिर हेरें, पुतलीहरू हेरेँ, उसरी नै उडिरहेका छन् । सामुन्नेको पानीमा हेरें असंख्य मृत भुसुना र पुतलीहरूको छाली बनेको छ ।

अकस्मात म आफ्नै मनले आफैंसँग गरेका प्रश्न र जवाफको गोलचक्करमा रुमल्लिन पुगेँ ।

के मृत्यु नै हो त आनन्द भनेको ?

होइन मृत्यु त अन्त्य हो ।

उसोभए यिनीहरू मर्ने थाहा हुँदाहुँदै कुन आनन्द खोज्न आए होलान् ?

जो कसैलाई मर्नुपर्छ भन्ने थाहा छ तर म मर्छु भन्ने लाग्दैन। मृत्यु आफैं हुने पनि होइन। आनन्दले जन्माउने हो मृत्युलाई । जसरी काम गर्दा सतर्कता नअपनाए ज्यान जाने थाहा भएर पनि म सतर्कता अपनाउन मन गर्दिन । हरेक आनन्दसंग अवसान जोडिएको छ ।

हरेक यौनसंग स्खलन जोडिए जसरी नै । तर, स्खलनको लागि कसैले मैथुन गर्दैन । यौनको आनन्द भन्नु नै चरमोत्कर्ष हो। दुनियाँका हरेक प्राणीहरू उत्तेजनाको चरमोत्कर्षमा रहिरहन चाहन्छन्। स्खलन बिर्सिएर हरेक पटक हरेक भाले प्रजातिले चरमोत्कर्षको लागि समागम गर्छ । यी पुतलीहरू, यी भुसुनाहरू यतिखेर आनन्दको चरमोत्कर्षमा छन् । यिनीहरूलाई यतिखेर न भोक छ, न प्यास, न जीवनप्रतिको आशक्ति नै बाँकी छ । यिनीहरूले मृत्यु बिर्सिएका छन्।

हरेक कुरा हरेक पटक कहाँ सम्झिरहन सकिन्छ र? यौटा बिर्सनलाई अर्को सम्झने हो। या त अर्को सम्झनलाई यौटा बिर्सने हो । बिर्सनैपर्छ । दुःख बिर्र्सनलाई सुख, सुख बिर्सनलाई दुःख । जिन्दगीको आशक्तिलाई नबिर्सिए जीउनुको आनन्द कहाँ हुन्छ र ? फूलले ओइलाएर झर्नु पर्छ एकदिन भन्ने सोचिदिए फूलमा सौन्दर्यको जन्मनै हुने थिएन। फूल फुल्नेथिएन । फूल नफुलेपछि, नओइलाएपछि अथवा चरमोत्कर्षपछि स्खलन नभइदिए सजीवताको अस्तित्वनै कहाँ रहने थियो र ?

पत्र पत्र जोडिएर प्याज बनेको हुन्छ । प्याजका प्रत्येक पत्र आफैंमा पूर्ण छन्। आनन्दका किस्ताहरू जोडिएर बनेको जिन्दगी यौटा प्याजको डल्लो हो। प्याजका कुनै पनि पत्रलाई थाहा हुँदैन, आफूूूूले कति पत्रलाई जेलेको छु । या त आफूलाई कति पत्रले जेलेका छन् ।

होसमा आएजस्तो गर्छु र लामो खुुुई तान्छु । फेरि ट्युबलाइटतिर हेर्छु ।

सोच्छु यो प्रकाश (कृत्रिमता) नहँुदो हो त यिनीहरूलाई पनि मान्छेलाई जस्तै जीवनको मोह जाग्नेछ। चुपचाप कतै भित्तामा लपक्क टालिएर बस्नेछन् । पुतलीहरू जसरी उज्यालोको लोभमा यहाँ नाचिरहेछन् । त्यसरी नै क्षणिक आनन्दको लोभमा जीवन बिर्सिरहेका छन् । जसरी यौटा ठूलो महलको आनन्दको नाममा मैले आफ्नो घर बिर्सिएको छु । भविश्यको सुखको लोभमा वर्तमान बिर्सिरहेको छु । कल्पनाको महासागरमा काम र मेसिनहरू बिर्सिरहेको छु । यौन चरमोत्कर्षका लागि स्खलन बिर्सिरहेको छु । अर्थात् क्षणिक आनन्दका लागि आफ्नै मृत्यु बिर्सिरहेको छु ।

०००

काम गर्दागर्दै मेरो मगजमा थोरै गम पस्यो ।

अब म ऊबेला दुव्र्यसनमा फसेको साथीको जवाफको अर्थ बुझ्न सक्छु । अब म बुझ्न सक्छु मान्छे किन प्रेममा पागल हुन्छ ? म किन परदेश भासिएँ म भन्न सक्छु । किन पुतलीले ट्युबलाइटलाई फन्को मार्दैछ ? म बुझ्न सक्छु ।

यतिखेर मलाई बोध भएको छ, जिन्दगी आफैंमा यौटा आनन्दको खोज न रहेछ । मैले जे जे गरिरहेको छु आनन्दकै लागि त गरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment