Comments Add Comment

ट्याक्सी चालकलाई चाहियो राम्रो ड्रेस ! भाडा बढाउन व्यवसायीको माग

७ भदौ, काठमाडौं । राजधानीमा गुड्ने ट्याक्सीका चालकहरुले अब अनिवार्यरुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ । ट्राफिक प्रहरी महाशाखाले नेपाल मिटर ट्क्यासी व्यवसायी संघसँगको सहकार्यमा सबै चालकहरुले ज्याकेट लगाउनुपर्ने नीति लागु गरेको हो ।

ट्राफिक प्रहरीले तोकेको ड्रेस लगाउनुपर्ने नीति कार्यान्वयन शुरु गरेको काठमाडौंका मुख्य चोकहरुमा भेटिएका ट्याक्सी चालकहरुले ड्रेस लगाएको देखिएन् ।

प्रहरीले बुधबार नै५ सय ट्याक्सी चालकहरुलाई ड्रेस कोडसहितका ज्याकेटहरु प्रहरीले वितरण गरेको थियो भने अरूलार्इ पनि लगाउन अनुरोध गरेको छ ।प्रहरीले बुधबारदेखि ३० दिनको समय सीमा दिएर सबै ट्याक्सी चालकहरुलाई असोज ३ गतेभित्र ड्रेस कोडसहितको ज्याकेट अनिवार्यरुपमा लगाउन भनेको छ ।

काठमाडौं उपत्यकामा १० हजार ६ सय ४५ ट्याक्सी सञ्चालनमा रहेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ ।

चालकले अनिवार्यरुपमा ड्रेस लगाउनैपर्ने आवश्यकताका विषयमा सरोकारवालाहरुसँग हामीले प्रतिक्रिया माग्यौं । यसमा सरोकार राख्ने तीन क्षेत्रबाट तीनै थरीका प्रतिक्रिया दिएका छन् । कसले के भन्छन् ?

३० दिनभित्र पोशाक अनिवार्य लगाउनुपर्ने छः एसएसपी पन्त

ट्याक्सी चालकलाई पोशाक अनिवार्य गर्दा धेरै फाइदा हुने भएकाले यो व्यवस्था कार्यान्वयन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त पन्त बताउँछन् ।

ट्याक्सी चालकले पोशाक लगाउँदा सर्वसाधारणहरुलाई पहिचान गर्न सहज हुने साथै चालकहरु स्वयम् अनुशासनमा बाँधिने हुँदा यो व्यवस्था कार्यान्वयनमा ल्याइएको एसएसपी पन्तले बताए ।

पोशाक लगाएको मान्छे आफ्नो पोशाकको मर्यादा राख्न पनि अनुशासित भएर बस्ने एसएसपी पन्तको तर्क छ । ‘सार्वजनिक सवारी साधनका चालक र सहचालकले अनिवार्य पोशाक लगाउनु पर्ने ऐनमै व्यवस्था छ’ उनले भने, ‘ऐनमा भएको व्यवस्था कार्यान्वयनका लागि पहिलो चरणमा ट्याक्सी चालकलाई अनिवार्य गरेका छौं, चाँडै अन्य सार्वजनिक सवारी साधनहरुमा पनि यो व्यवस्था लागु हुनेछ ।’

काठमाडौं उपत्यकामा अहिले करिब ११ हजार ट्याक्सी सञ्चालनमा रहेका र ती सबैका चालकले ३० दिनभित्र पोशाक अनिवार्य लगाउनुपर्ने पन्तले बताए ।

ट्याक्सी चालकले लगाउने पोशाकमा ड्रेस कोडसमेत उल्लेख गरिएको एसएसपी पन्तले जानकारी दिए । नेपाल मिटर ट्याक्सी व्यवसायी संघकै सल्लाहअनुसार पोशाकको रङ पहेंलो र पोशाकमा ‘ट्याक्सी ड्राइभर’ लेखिएको हुनुपर्नेछ । पन्तले अनलाइनखबरसँग भने, ‘व्यवसायी साथीहरुले ट्याक्सी सर्भिस भनेर लेखौं भन्ने प्रस्ताव गर्नुभएको थियो, त्यो अलि नमिल्ने भनेपछि ड्राइभर नै लेख्ने सहमति गरिएको हो ।’

संघ र महाशाखाबीच भएको सहमति अनुसार मोडल तयार पारिएको र सोही मोडलअनुसार चालकहरुले आफैं खरिद गरेर ३० दिनभित्र अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने एसएसपी पन्तले बताए ।

व्यवसायी भन्छन्- चालकलाई सुरक्षा चाहियो

ट्याक्सी चालकहरुको भन्दा ट्याक्सी व्यवसायीहरुको धारणा अलि फरक छ । ड्रेस कोडसहितको चालक पोशाकका केही राम्रा पक्षहरुका साथै केही नराम्रा पक्षसमेत रहेको व्यवसायीहरुको तर्क छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका निवर्तमान अध्यक्ष रामबहादुर श्रेष्ठ भन्छन्, ‘यस्तो पोशाकका फाइदा पनि छन्, साथै यसले चालकहरु अलि असुरक्षित हुने हाम्रो अनुमान छ ।’

चालकहरुले ड्रेस लगाएपछि सर्वसाधारणका साथै खराब मानसिकता भएका व्यक्तिहरुको टार्गेटमा चालक पर्न सक्ने उनी बताउँछन् । ‘मानौं कतै दुर्घटना भयो वा चालकले केही सानो गल्ती गर्‍यो भने त्यतिबेला बाटामा भेटिएका जोकोहीले चालकलाई कुट्न खोज्छन्’ निवर्तमान अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हो, त्यतिबेला सुरक्षाको समस्या हुन सक्छ, यसतर्फ प्रहरीले ध्यान दिनुपर्छ ।’

दुर्घटनाको केशमा गल्ती नै नभए पनि चालकलाई दोष दिने परिपाटी रहेको र पोशाकका कारण सर्वसाधारणको रीस चालकमा पोखिन सक्ने उनको तर्क छ ।

उता संघका अध्यक्ष अर्जुन गौतम पनि चालकको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताउँछन् । उनले राज्यले बनाएको नीति नियम र निर्देशन आफूहरुले मान्दै आएको र आगामी दिनमा पनि मान्ने भन्दै व्यवसायीहरुको गुनासो सुनिनु पर्ने बताए ।

‘विलिङ मिटर राख्न भन्यो राख्यौं, पहेलो रंग छतमा र गाडीभित्रै ट्याक्सी नम्बर राख्न भनियो, राख्यौं । भर्खरै ड्रेस लगाउनुपर्छ भन्ने कुरासमेत हामीले मानेका छौं’ गौतम भन्छन्, ‘हामीले राज्यका नीति निर्देशन सबै मानेका छौं, तर हाम्रो एउटै कुरा पनि राज्यले मानेको छैन, त्यसतर्फ हामीलाई चित्त दुखेको छ ।’

के चाहिँ रहेछ त व्यवसायीको माग ! केमा उनीहरुको चित्त दुख्यो ? हामीले अध्यक्ष गौतमलाई प्रश्न सोध्यौं ।

‘हरेक ४ वर्षमा ट्याक्सी भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ, तर ०६५ सालदेखि अहिलेसम्म भाडा समायोजन भएको छैन,’ गौतमले भने- ‘अब भाडा समायोजन हुनुपर्‍यो भन्ने हाम्रो माग छ ।’

गौतमले अगाडि भने- ‘हामीले धेरै भाडा बढाउनुपर्ने भनेका छैनौं, यसबारे गलत सन्देश नजाओस् । ०६५ सालमा तोकिएको वैज्ञानिक व्यवस्थाअनुसार ट्याक्सीको भाडा वृद्धि हुनुपर्छ । नत्र, हामीलाई गुजारा चलाउनै गाह्रो पर्ने भयो ।’

विभिन्न मुलुकहरुमा ट्याक्सीको मिटर न्यूनतम तीन किलोमिटरका दरले सुचारु हुने व्यवस्था भएको र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सो व्यवस्था गर्नुपर्ने गौतमको जिकिर छ । कतिपय निजी सवारी साधनहरुले ट्याक्सी जस्तै मान्छे ओसार्ने गरेको भन्दै त्यसतर्फ पनि राज्यको ध्यान जानुपर्ने उनको भनाइ छ ।

ट्याक्सी चालक भन्छन्- राम्रो लुगा चाहियो, छि भन्ने नहोस्

बिहीबार राजधानीको मुटु मानिने नयाँ बानेश्वर चोक, बबरमहल, माइतीघर, रामशाहपथ, पुतली सडक लगायतका ठाउँमा भेटिएका ट्याक्सी चालकहरुले ड्रेस कोडसहितको पोसाक लगाएको भेटिएन ।

पोशाक लगाएकाले ड्रेसको आवश्यकता नै नपर्ने बताए । लगाउनै पर्ने भए स्टाण्डर्ड किसिमको चाहिने बताए । बनेश्वर चोक नजिकै भेटिएका ट्याक्सी चालक ओम भुजेलले ड्रेस लगाउनुपर्ने कुरा आफूले थाहा पाएको, तर खासै यसको आवश्यकता नरहेको बताए ।

‘ड्रेस लगाउनुपर्ने कुरा मैले हिजो राति समाचारमा पढेको थिएँ, यसबारे कसैले मलाई जानकारी गराएको छैन’ अनलाइनखबरसँग कुरा गर्दै भुजेलले भने, ‘कस्तो ड्रेस हो, त्यो पनि थाहा छैन, जे होस ड्रेसचाहिँ अलि राम्रो हुनुपर्‍यो, जुन हामीले बाहिर सान देखाएर लगाउन पाइयोस् ।’

मान्छेको परिचय ड्रेसमा देखिने भएकाले अलि स्टाण्डर्ड देखिने खालको कपडा चालकका लागि व्यवस्था गरिनुपर्ने भुजेलको धारणा छ ।

बुद्धनगरमा भेटिएका रामेछाप घर भएका अर्का ट्याक्सी चालक तीर्थमान श्रेष्ठको पनि धारणा भुजेलको जस्तै छ । उनले ड्रेस लगाउँदा अलि राम्रो गुणस्तरको हुनुपर्ने र देख्दै कति राम्रो भन्ने किसिमको हुनुपर्ने बताए ।

बबरमहलमा लहरै ट्याक्सीहरु पार्किङ गरिएका थिए । त्यसमध्ये चन्द्र खत्री -दोलखा) लाई आफूले कोडसहितको पोशाक लगाउनुपर्छ भन्ने विषय नै थाहा रहेनछ । चालकको पोशाक किन नलगाएको भन्दा खत्रीले उल्टै सोधे- ‘लौ हो र ? कहिलेदेखि ?’

खत्रीले अनलाइनखबरसँग भने- ‘म त हिजो ९ बजेसम्म ट्याक्सी चलाएर कोठामा पुग्दा रातको १० बज्न लागेको थियो, खाना खाएर सुतें, ड्रेसको विषयमा मलाई केही थाहा छैन । मलाई कसैले ड्रेस लगाउनुपर्छ भनेको छैन ।’

खत्रीले ट्याक्सी चालकलाई ड्रेस आवश्यक नभएको तर्क गरे । उनले भने- ‘हामीलाई ड्रेस किन चाहियो ? भाडामा डिउटी गर्ने भए पो ड्रेस चाहिन्छ, ट्याक्सीभित्र स्टेयरिङ समातेर बस्ने मान्छेलाई ड्रेस चाहिँदैन ।’

यद्यपि, उनले सरकारी नीति नै भएको भए पालना गर्ने बताए । तर, ड्रेस लगाएर हिँड्दा कसैले छि नराम्रो रहेछ भन्ने खालको चाहिँ हुन नहुने खत्रीको माग छ ।

बाटामा भेटिएका अधिकांश ट्याक्सी चालकहरुले ड्रेस खासै आवश्यक नपर्ने र लगाउनै पर्ने भए उच्च गुणस्तरको हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment