Comments Add Comment

पूर्वलडाकूलाई थाइल्याण्ड जान प्रतिबन्ध, विमानस्थलबाटै फर्काइयो

८ भदौ, काठमाडौं । सरकारले एकजना पूर्वमाओवादी लडाकूलाई थाइल्याण्ड जान रोक लगाएको छ । शुक्रबार त्रिभुवन विमानस्थलमा पुगेका उनलाई एउटा पत्र थमाएर अध्यागमनका कर्मचारीले फर्काइदिएका छन् ।

सरकारले माओवादीका पूर्वलडाकू लेनिन विष्टलाई विदेश जान नदिई विमानस्थलबाटै फर्काएको हो । उनी माओवादीमा बाल सेनाका रुपमा कार्यरत थिए । हाल उनी वयस्क भइसकेका छन् ।

जनयुद्धकालमा माओवादीको बाल सेना बनेका विष्टले पछिल्लो समय युद्धमा बालबालिकाको प्रयोगको विपक्षमा मुद्दा उठाउँदै आएका थिए । उनले अन्तर्राष्ट्रिय मञ्चमा बाल सेनाबारे प्रस्तुति दिन जान लागेको सूचना पाएपछि विदेश जान नदिइएको गृहमन्त्रालय स्रोतको भनाइ छ ।

तर, आफू बालसैन्यबारे कुरा गर्न नभई युवाहरुको कार्यक्रममा सहभागी हुन जान लागेको विष्टले अनलाइनखबरलाई बताए । युवाहरुलाई कसरी शान्तिपूर्ण बाटोमा लगाउन सकिन्छ भन्नेबारे थाइल्याण्डमा कार्यक्रम हुन लागेको विष्टले बताए ।

उनी थाइल्याण्डमा हुन लागेको ‘युथ इन कन्फ्लिक्ट हेल्पिङ एण्ड पिस विल्डिङ थ्रु सोसियल इङ्गेजमेन्ट’ कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।

शुक्रबार बिहान ९ बजे विमानस्थल पुगेका विष्टलाई अध्यागमन विभागका कर्मचारीले रोकेका थिए । ‘माथिको आदेश’ भन्दै उनलाई रोकिए पनि केहीबेरमा विष्टलाई दिइएको पत्रमा ‘थाइल्याण्डमा सहभागी हुन जान लागेको कार्यक्रम सम्बन्धमा नेपाल सरकारको कुनै पनि निकायको अनुमति नलिएकाले फिर्ता’ गरिएको भनिएको छ ।

अन्तर्राष्ट्रिय फोरममा नेपालको बेइज्जत हुने गरी प्रस्तुति दिनका लागि विष्टलाई एक एनजीओले थाइल्याण्ड लान लागेको गृह मन्त्रालयमा रिपोर्टिङ भएपछि उनलाई रोकिएको स्रोतको दाबी छ ।

सत्तारुढ माओवादी नेताहरुको आदेशमा आफूलाई रोकिएको विष्टले गुनासो गरे । उनले अनलाइनखबरसँग भने ‘यो सरकारले लोकतन्त्र र मानवअधिकारको कुरा गर्नु त केवल बोलीमा मात्र रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment