+
+
Shares

पर्साका महिला जनप्रतिनिधिको गुनासो : हामीलाई अझै पुरुषहरुले हेप्छन्

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १६:१३

११ भदौ, वीरगञ्ज । यहाँका स्थानीय तहमा निर्वाचित महिलाहरुले पुरुष जनप्रतिनिधिबाट हेपिएको गुनासो गरेका छन् । सोमबार मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित महिला नेतृत्व अवसर र चुनौती शीर्षकको छलफल कार्यक्रममा महिलाहरुले पुरुष जनप्रतिनिधिबाट हेपिएको गुनासो गरेका हुन् ।

उनीहरुले स्थानीय तहको महिला उपप्रमुखलाई पुरुष वडाअध्यक्षले समेत हेपेको सुनाए । कार्यक्रमका पुरुष वक्ताहरुले भने महिलाहरु नेतृत्वमा पुगे पनि क्षमता देखाउन नसक्दा परनिर्भर बनेको जवाफ दिए ।

पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले महिलाले पुरुष जनप्रतिनिधिको कुरामा समर्थन नजनाए चरित्रमाथि नै प्रश्न उठाइने गरेको आरोप लगाइन् । ‘चुनाव सम्पन्न भएपछि मैले हरेक ठाउँमा आफूलाई प्रमाणित गर्नुपरिरहेको छ । पुरुष प्रतिनिधिहरुको कुरामा हो मा हो मिलाए ठिक हुन्छ, होइन भने चरित्र माथि नै प्रश्न उठाउँछन्’ उनले भनिन् ‘म सँधै स्पष्टिकरण दिँदै हिड्ने हो भने मैले काम कहिले गर्ने ?’

विन्ध्यवासिनी गाउँपालिकाकी उपप्रमुख किरणदेवी गुप्ताले महिलालाई हेप्ने प्रवृत्तिका कारण काम गर्न समस्या भएको गुनासो गरिन् ।

पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले महिलाबाट नै बढी महिला हिंसा भइरहेको दावी गरे । ‘हिजोआज पढेलेखेका र शिक्षित भनिने महिलाहरु अनपढ महिलासँग बस्न रुचाउँदैनन्, यो पनि एक प्रकारको हिंसा नभएर के हो त ?’ उनले भने, ‘नेतृत्व तहमा पुगेका महिलाहरुले उनीहरुलाई पनि समेेटेर अघि बढ्नुपर्छ ।’

सांसद शेख चाँद ताराले महिला नेतृत्वका लागि सबैभन्दा चुनौती संस्कृति र रितिरिवाज देखिएको बताइन् । ‘हामीले आफूलाई भाग्यमानी ठान्नुपर्छ । कानुनी हिसाबले हामीले विकसित मुलुकमा जति अधिकार पाएका छौं’ उनले भनिन् ‘तर हाम्रो मुख्य चुनौती भनेको हाम्रो संस्कृति, रितिरिवाज परम्परा देखिएको छ । अझै पनि महिलालाई कसरी बाहिर पठाउने ? भन्ने चलन छ ।’

महिलालाई घर बाहिरको काममा पठाउने प्रचलनमा पहिला भन्दा सुधार आए पनि जुन गतिमा हुनुपर्ने हो त्यति नभएको उनले बताइन् । घर बाहिर निस्किएका महिलाहरुले समेत घर र बाहिर दुवैतिरको काम गर्नुपर्ने अवस्था रहेको सांसद सेख चाँदताराले बताइन् ।

स्थानीय तहमा दलित, विपन्न समुदायका अशिक्षित महिलाहरु पनि प्रतिनिधि बनेर आएका कारण क्षमतामा प्रश्न उठ्नु स्वभाविक भएको बताउँदै उनले उनीहरुको क्षमता विकासका लागि विशेष प्याकेज ल्याउनुपर्ने बताइन् ।

प्रदेशसभा सांसद ओमप्रकाश शर्माले विगतमा जस्तो अहिले महिला पीडित नभएको तर्क गरे । ‘आमाले छोरा र छोरीमा विभेद नगर्ने हो भने त्यहीबाट रुपान्तरण शुरु हुन्छ’ उनले भने ‘विगतमा जस्तो अवस्था अहिले छैन, महिला नै जिम्मेवार भएर आउनुपर्छ ।’

प्रदेश सांसद प्रल्हाद गिरीले महिलाले महिलालाई अर्थात सासुले बुहारीलाई गर्ने हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘महिला र पुरुषबीच टसल गरेर केही हुँदैन, केही समस्या दुवैतिरबाट छ’ उनले भने ‘दुवै मिलेर समाधान गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?