Comments Add Comment

हिलोमाथि रंग पोतेर विदेशी पाहुनाको स्वागत (भिडियोसहित)

१२ भदौ, काठमाडौं । विमस्टेक सम्मेलनको तयारी गर्न भ्याइनभ्याई छ । कतै स्वागत द्वार बनिरहेको छ, कतै सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

विमस्टेक राष्ट्रका प्रमुखहरु नै आउने भएपछि स्वागतका लागि तयारी गर्नु स्वभाविक हो । तर, विदेशी पाउनेको स्वागतका नाममा कतिसम्म राज्यकोषको दुरुपयोग भइरहेको छ भन्ने नमुना मंगलबार कालीमाटीमा देखियो ।

विमस्टेक बैठक होटल सोल्टीमा राखिएको छ । विदेशी पाहुनाहरु बस्ने होटलदेेखि सोल्टीसम्मका सडक त जसोतसो टालिएको छ । तर, नाला र सडक पेटी न सग्लो छ न सफा । मंगलबार त्यही फोहोरमाथि धमाधम रंग पोतिएको देखियो ।

सिमसिम पानी परेकाले नालामा पानी र लेदो माटो थियो भने पेटीहरु भत्किएका मात्र होइनन्, हरियो लेउ नै थियो । तर, मजदुरहरु त्यसमाथि नै रंग पोतिरहेका थिए ।

ठूलै पानी पर्दा पनि मजदुरहरुले रंग लगाउन छाडेनन् । किन यस्तो लापर्वाही ढंगले काम गर्नुभएको भन्ने प्रश्नमा रंग लगाइरहेका एक मजदुरले भने, ‘आज रातभरमा जसरी पनि सकाउनुपर्छ । पानी पर्‍यो भनेर काम रोक्नै मिल्दैन ।’

कालिमाटीका स्थानीय ब्यापारी शिवम् राजथालाले आफूहरुले तिरेको कर राज्यले यसरी दुरुपयोग गरेको देख्दा दुःख लागेको बताए । उनले प्रहरीलाई पनि गुहारे तर, सुनेनन् । ‘यो त राज्यको ढुकुटीको दुरुपयोग हो । पानी पर्दापर्दै भइरहेको कामको अर्थ पनि छैन । पैसा मात्रै सकियो’ उनले भने, ‘विदेशी पाहुनाको आँखा छल्नलाई यस्तो गर्ने पैसाले दुःखी गरिबको उपचार गर्नु नि बरु ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment