+
+
Shares

पैदल हिँड्दै हुनुहुन्छ ? प्रहरीले बाटैमा रोक्ला !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १३ गते ९:४५

१३ भदौ, काठमाडौं । के तपाई आज काठमाडौंमा जोर नम्बरको गाडी चलाउन पाइँदैन भन्ने ठानेर पैदल यात्राका लागि निस्कनुभएको छ ? त्यसो हो भने तपाईलाई प्रहरीले बाटैमा रोक्न सक्छ र भन्न सक्छ– यताबाट नहिँड्नोस्, उता जानोस् ।

सवारी साधनमा हिँड्नेलाई त प्रहरीले रोकेको छ नै, पैदल यात्रा गर्नेहरुलाई पनि मुख्य सडक पार गर्न नदिएर किनारामा रोक्ने गरिएको छ ।

बिमस्टेक बैठकमा भाग लिन विदेशी पाहुनाहरु आउने क्रम सुरु भएकाले प्रहरीले सवारी साधन र पैदल यात्रीहरुलाई बुधबार बिहानैदेखि रोक्न थालेको हो । बानेश्वरबाट सिभिल अस्पताल हिँडेका कतिपय मानिसहरु सडकमै रोकिनुपरेकाले प्रहरीसँग वादविवाद गरिरहेका थिए ।

विमानस्थलबाट सोल्टी होटलसम्म भीआइपीको सवारी चल्ने बेलामा प्रहरीले यात्रुहरुलाई सडकको किनारामै रोक्ने गरेको छ भने सवारी साधनलाई भित्री गल्ली प्रयोग गर्न सुझाएको छ ।

भाडाका सवारी साधनहरु कम चलेका कारण गन्तव्यमा हिँडेका नागरिकहरु सडकका किनारामा उभिएर गाडी कुरिरहेको दृश्य जतात्यतै देख्न सकिन्थ्यो ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन दुई देशका राष्ट्रप्रमुख आउन लागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कंलकीसम्मको रुटमा ओहोर दोहोर गर्ने सार्वजनिक सवारीका साधन चल्न रोक लगाइएको ट्राफिक प्रहरीले जानकारी दियो ।

जोर नम्बरका सवारी सधान चल्न नपाएको र विजोर नम्बरका गाडीलाई पनि प्रहरीले ठाउँ ठाउँमा रोकेका कारण सर्वसाधारणले पाउनुसम्मको सास्ती पाएका छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रोकिएको थियो । बिमस्टेक सम्मेलनका लागि श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुक काठमाडौं आएका छन् ।

सरकारले आज बिजोर नम्बरका सावारी सधान मात्रै चल्न दिने भनेको छ । भोलि १४ गते जोर नम्बरका र पर्सि १५ गते बिजोर नम्बरका सावारी साधनमात्रै चल्न दिने सरकारले घोषणा गरेको छ ।

भीआइपीको सवारी भइसकेपछि भने पैदलयात्रीलाई प्रहरीले बाटो काट्न दिएको छ । धेरैबेर रोकिएर बाटो काट्दा सडकमा भिडभाड देखिएको छ । उनीहरुलाई सोल्टी होटेल पुर्‍याएपछि अहिले भने सवारी आवागमन सुचारु भएको छ ।

काठमाडौं त्यस्तो ठाउँ हो, जहाँ अधिकांश मान्छेहरु सार्वजनिक सवारी साधन प्रयोग गर्छन् । सवारी जोर नम्बरका सवारी सधान चल्न नपाएको र विजोर नम्बरका गाडीलाई पनि प्रहरीले ठाउँ ठाउँमा रोकेका कारण सर्वसाधारणले पाउनुसम्मको सास्ती पाएका छन् ।

सडकमा सरकारी र निजी सवारी साधनमात्रै गुडिरहेका देखिन्थे, सार्वजनिक यातायातका सवारी साधन नचल्दा यात्रुहरु हिँडेरै गन्तब्यतर्फ लाग्न बाध्य भएका छन् ।

सरकारले काठमाडौंमा १४ र १५ गते शिक्षण संस्थाहरु बन्द गराएको छ । तर, सवारी सभान नपाइने भएकाले कतिपय विद्यालयले बुधबार पनि वालवालिकालाई छुट्टी दिएका छन् ।
हेर्नुहाेस् भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?