Comments Add Comment

काठमाडौंमा चौथो बिमस्टेक शिखर सम्मेलन सुरु

१४ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि  बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो ।

सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गरेका छन् । बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा ओलीले २२ मिनेट सम्बोधन गर्नेछन् ।

ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख/सरकार प्रमुखहरूले १५-१५ मिनेट मन्तव्य राख्नेछन् ।

सम्मेलनपछि रात्रीभोज

साँझ करिब छ बजेतिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिन्छ । त्यसपछि अतिथिहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख/राष्ट्र प्रमुखको सम्मानमा ‘रिट्रिट’ आयोजना गरेका छन् । त्यसपछि बिहान साढे एघार बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ ।

शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ भन्ने मुलनारा रहेको सम्मेलनमा बिमस्टेक क्षेत्रमा प्रतिआतंकवादका साझा रणनीति तय गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिमस्टेक सन्धि ४ भदौमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ ।

सम्मेलनमा स्वतन्त्र व्यापार, बिमस्टेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता एजेण्डामा छलफल हुनेछन् ।

बुधबार बसेको बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले विद्युत प्रसारण लाइन (ग्रीड इन्टरकनेक्सन्स) को एमओयुलाई अगाडि बढाउने निर्णय गरिसकेको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment