Comments Add Comment

वीरगञ्जमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

१५ भदौ, वीरगञ्ज । पूर्वाधार विकास नहुँदै महानगरपालिकामा स्तरोन्नती भएकोले वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

साँघुरो सडकमा विभिन्न किसिमका सवारी साधनहरु एकैपटक प्रवेश गर्दा ५० मिटरको दुरी पार गर्न आधाघण्टासम्म कुर्नुपर्ने बाध्यता छ ।

वीरगञ्जमै जिल्ला ट्राफिक प्रहरी कार्यालय भएपनि ट्राफिक प्रहरी मुकदर्शक बनेको आरोप स्थानीयको छ ।

सवारी चालकहरुले पनि ट्राफिक नियमको वेवास्ता गरेर सवारी हाँकीदिँदा झनै समस्या छ । त्यसमाथि आवश्यकता भन्दा बढी ई-रिक्साहरु संचालनमा रहेका कारण महानगरको जुनसुकै गल्लीमा पुग्दा ई-रिक्सा तथा गाडीहरुको लाम लागेको हुन्छ ।

महानगरपालिकामा ६४० वटा ई-रिक्सा दर्ता भएको भएपनि बजारमा १५ सयको हाराहारीमा ई-रिक्सा चल्ने अनुमान गरिएका छ ।
त्यसबाहेक मोटरसाइकल, कार, टेम्पो, रिक्सा, ठेला, साइकल लगायतका अन्य सवारीसाधन सडकमा मनलाग्दी गुडिरहेका हुन्छन् । त्यति मात्रै होइन छाडा पशु चौपाया पनि सडकमै भेटिन्छन् ।

साँझको समयमा वीरगन्ज नगरको मुख्य सडकको घण्टाघरदेखि आदर्शनगर चोकसम्म गाडी लामबद्ध देखिन्छन् । मुख्य सडकमा हुने जामले गर्दा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यकीय सवारीलाई समेत आवतजावतमा समस्या हुने गरेको छ ।

वीरगञ्जमा ट्राफिक व्यवस्थामा लापरबाही देखिएको वीरगञ्ज-११ श्रीपुरका प्रेम घिमिरे बताउँछन् । ‘मान्छे हिड्ने ठाउँमा मोटरसाईकल पार्किङ गर्ने र व्यवसायिक ठेेला लगाएर पसल थापिएको छ । बाटोबाट हिड्दा रिक्सा, ईरिक्सा टाँगा लगायतका सवारीको चाप छ, दुर्घटनाको जोखिम छ । माथिबाट हिड्न बाटो छैन ।’ घिमिरेले भने ‘ ट्राफिक व्यवस्थापनको कमजोरी हो कि कसको ? सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।’

घण्टाघर रेडक्रस अगाडी क्लिनिक सञ्चालन गर्दै आएका डा अनिल झा आफ्नो क्लिनिक भएको क्षेत्रमा ट्राफिकले दुवैतिर पार्किङ निषेध गरिएकोले समस्या बताउँछन् ।

‘घण्टाघरदेखि सिडियो कार्यालयसम्म जाने सडकमा दुवैतिर पार्किङ निषेध गरिएको छ,’ डा झा भन्छन्, ‘क्लिनिक जचाउँन, औषधि लिन, पसलमा समान किनमेल गर्न आउने सर्वसाधरणलाई समस्या परिरहेको छ । बाइक एकातिर पार्किङ गरेर यता आउँदा हेलमेट, बाइक चोरीने हराउने हुन्छ । त्यसको जिम्मा कसले लिन्छ ?’

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुरेश शाहसँग ट्राफिक व्यवस्थापनको कुनै योजना नै छैन । उनी यसबारेमा कुरासमेत गर्न चाहदैनन् ।

तर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकाल प्रहरी र ट्राफिक प्रहरी मिलेर वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सुधार ल्याइरहेको बताउँछन् ।

‘विगतको भन्दा सुधारउन्मुख छ, पूर्णरुपमा कमजोरी हटाउन समस्या लाग्छ, विस्तारै राम्रो गदैै लगेको अवस्था हो । साँघुरो सडक रहेको र पार्किङका लागि खाली जग्गाको अभाव छ,’ एसपी ढकालले भने, ‘पटक पटक सम्झाउने र कारबाही गर्ने गरिएको छ । ठाउँ ठाउँमा नो पार्किङका बोर्डहरु लगाइएको छ । तरपनि स्थायी रुपले समस्या समाधान हुन समय लाग्छ ।’

कार्यविधि बनाउँदै महानगरपालिका

दिन प्रतिदिन आर्थिक एवं व्यापारीक नगरी वीरगन्जको जनसंख्या बढदो छ, त्यस्को साथसाथै सवारी चाप पनि बढ्दो छ । यही कुरालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि कार्यविधि बनाउने तयारी थालेको छ ।

महानगरपालिकाले कार्यविधि निर्माणका लागि सरोकारवालाहरुसँग छलफल गरी सुझाव संकलनको सकाएर ड्राफ्ट निर्माण भइरहेको छ ।

वीरगञ्ज महानगरपालिका भित्र यातायात सेवा दिइरहेका विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग छलफल पछि कार्यविधिको प्रारुप तयार गरिरहेको महानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता कमल मोहन पोखरेलले जानकारी दिए । सरोकारवाला पक्षसँग छलफल गरेर कार्यविधि बनाउँदा उनीहरुले अपनत्व महशुस गर्ने विश्वास महानगरपालिकाले गरेको उनको भनाइ छ ।

‘कोठा भित्रै सरसर्ती बनाउन सकिन्थ्यो तर सरोकारवाला पक्षहरुको कुरा लिईसकेपछि उनीहरुको अपनत्व हुन्छ, कार्यविधिमा उनीहरुले भनेको कुराको एक लाइन मात्रै आयो भनेपनि उनीहरुले हामीले भनेको लाईन पनि आएको छ भनेर सन्तुष्ट हुन्छन् ।

‘सरोकारवालाले अपनत्व महशुस गरेपछि कार्यान्वयनमा लैजान सहज हुन्छ भन्ने विश्वास छ । सबै सवारीलाई सही व्यवस्थापन गर्ने मात्रै लक्ष्य हो, स्टप जहाँ पायो त्यही नहोस, पार्किङ पनि जहाँ पायो त्यही नहोस भन्ने छ, अब तोकिएको ठाउँमा पार्किङ, तोकिएको ठाउँमा रोक्ने, तोकिएको रुटमा, तोकिएको भाडादरमा गाडी चलाउन पाइन्छ । आलोपालो गरेर हुन्छ कि रुट तोकेर हुन्छ सबै व्यवस्था कार्यविधिमा हुन्छ ।’ उनले भने ।

यातायात व्यवसायीहरुले वीरगञ्ज-पथलैया चल्ने सवारी साधनहरु एकै ठाउँबाट छुट्नुपर्ने, विना रुट परमिट सवारी साधन चलाउन दिन नहुने, फरक फरक ठाउँमा बस पार्किङ गर्ने स्थानहरुको विकास गरिनुपर्ने, गल्ती गर्नेलाई चालकलाई मात्रै कारबाही गर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएका छन् ।

महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि कार्यविधि बनाउन ट्राफिक प्रहरीसँगसमेत छलफल गरेको छ ।

वीरगञ्जको ट्राफिक व्यवस्थित बनाउन सबैभन्दा पहिले घण्टाघरमा पार्किङ गर्न दिनै नहुने बताउँछन्, ट्राफिक प्रहरी सहायक निरीक्षक अक्षयलाल महतो । ‘घण्टाघरमा कुनैपनि हालतमा पार्किङ गर्न दिन हुँदैन, खाली ठाउँ बजारमा कहाँ छ त्यो खोजेर पार्किङ बनाउनुपर्छ ।’ उनले भने ।

त्यसबाहेक ग्रामिण क्षेत्रबाट आउने सवारीलाई वीरगञ्ज बजार भन्दा बाहिर पार्किङको व्यवस्था गरिनुपर्ने, बजार क्षेत्रमा साना सवारी मात्रै सञ्चालन गरिनुपर्ने, आवश्यक परेको खण्डमा समय सीमा तोकेर एक-एक वटा सवारी मात्रै बजारमा पठाउनुपर्ने लगायतको सुझाव ट्राफिक प्रहरीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment