Comments Add Comment

थपिएको समयमा पनि मध्य भोटेकोशी पूरा हुनेमा शंका

१५ भदौ, सिन्धुपाल्चोक । १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण अवधि सकिन एक वर्ष बाँकी हुँदा जम्मा करिब ४५ प्रतिशतमात्र काम सकिएको छ ।

आयोजनाको ७ हजार १ सय २४ मिटर लामो सुरुङ खन्नुपर्नेमा अहिलेसम्म जम्मा ३ हजार ७ सय ९५ मिटर सुरुङ खनिएको छ । टनेल निर्माणको काम पनि जम्मा ५७ प्रतिशतमात्रै सकिएको छ ।

आयोजनाको मुख्य सुरुङ निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले पाएको थियो । झण्डै ८ अर्बमा सुरुङ र पावर हाउस निर्माणको ठेक्का पाएको कम्पनीले समयमा काम सक्नेमा आशंका आयोजनाले पनि गरेको छ । आयोजनाका कार्यकारी निर्देशक मणिकुमार काफ्लेले सन् २०१९ सम्म आयोजना पूरा गर्नुपर्ने बताए ।

‘२०१९ को जुन सम्म आयोजना सम्पन्न गर्नुपर्छ यदि त्यो मितिमा सकिएन भने ठेकेदारले २०२० को जुन २० को समय माग गरेको छ, दिने नदिने बोर्डले अहिले नै निर्णय गरेको छैन’ काफ्लेले भने ‘हाम्रो कारणले समस्या भएको रहेछ भने ठेकेदारलाई म्याद थप्छौ होइन भने थप्न सक्ने अवस्था छैन ।’

२०१३ मा निर्माण सुरु भई २०१७ को जुनमा आयोजना सक्ने योजनाका साथ काम सुरु भए पनि भूकम्प, नाकाबन्दी र भोटेकोशी बाढीको कारण आयोजनाको म्याद थपिएर सन् २०१९ को जुनसम्म पुर्‍याइएको हो ।

साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोशी र चाकु नदीको पानी ७ दशमलव २ किलोमिटर सुरुङबाट गातीको जम्बुमा निर्माण गरिने पावरहाउससम्म ल्याई विजुली निकालेछ ।

आयोजना सकिने मिति नजिकदै गर्दा पनि आयोजनाले पावर हाउस लगायतका संरचनाहरुको डिजाइन नै तयार गर्न सकेको छैन । डिजाइन फाइनल नहुदा चिनियाँ ठेकेदारहरुलाई काम गर्न समेत समस्या भएको छ ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले आयोजना डिजाइनका लागि इन्जिनियर विजयलाल श्रेष्ठलाई जिम्मा दिएको थियो । तर उनले डिजाइन गरेका छैनन् । आयोजनाका कार्यकारी निर्देशक मणिकुमार काफ्लेले भने इपीसी मोडलको ठेक्का सम्झौता भएकाले डिजाइनमा केही समस्या भएको स्वीकार गरे

ब्याजसहित साढे १४ अर्बको लागनीमा निर्माण हुने मध्यभोटेकोशी आयोजनालाई चाहिने पूँजीका लागि कर्मचारी सञ्चयकोष सहित नेपाल विद्युत प्राधिकरण स्थानीय स्तरका हाइड्रोपावर लगायतबाट रकम जम्मा गरिने छ ।

स्थानीयको गुनासो

आयोजनाले प्रतिवद्धता जनाएका माग पनि पूरा नगरेको प्रभावित क्षेत्रका वासिन्दाले गुनासो गरेका छन् । स्थानीयसँग भएको ११ बुँदे सहमति आयोजनाले पूरा नगरेको उनीहरुले बताएका छन् । मध्यभोटेकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालय लगायतका भौतिक संरचना निर्माणमा चासो नदिएको बाह्रबिसे नगरपालिकाका मेयर निमाफुञ्जो शेर्पाले बताए ।

त्यस्तै आयोजना प्रभावित वडाहरुलाई उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गको बजेट पनि तीन वर्षदेखि नदिएको वडाअध्यक्षहरुले बताएका छन् । ‘मध्यभोटेकोशीबाट बजेट आउँछ भनेर वडाहरुले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेका छन्, तर ३ वर्षदेखिको बजेट नदिदा समस्या भएको छ’ बाह्रविसे नगरपालिका ५ का वडाअध्यक्ष बेलबहादुर रोक्काले भने । आयोजनाले प्रभावित वडालाई बाषिर्क ३० लाख दिने सहमति गरे पनि नदिएको मेयर शेर्पाले बताए । आयोजनाले जग्गा अधिग्रहण गर्दा भत्काएको विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका संरचनाहरु अझै निर्माण नगरिदिएको स्थानीयको गुनासो छ ।

प्रभावित क्षेत्रका स्थानीयले उठाएका मागहरु सम्बोधन गर्न केही समस्या देखिएको आयोजनाका कार्यकारी निर्देशक मणिकुमार काफ्लेले बताउ । ‘स्थानीय सरोकार समितिका संयोजकमा बाह्रविसे नगरपालिकाका मेयर लगायत आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु नै भएकाले उहाँहरु मार्फत नै सबै काम अघि बढ्छ’ काफ्लेले भने ‘यो समस्या हुनुमा उहाँहरु भित्रै समस्या भएको देखियो ।’

स्थानीय हाइड्रोले गरे आयोजनाको निरीक्षण

मध्यभोटेकोशी आयोजनले सिन्धुपाल्चोकका तीन स्थानीय हाइड्रपावर कम्पनीलाई एक/एक प्रतिशत शेयर दिएको छ । अरनिको हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर र सिन्धु इन्भेष्टमेन्ट कम्पनी स्थानीय शेयर होल्डर हुन् । यी तीन कम्पनीले मंगलबार आयोजनाको स्थलगत भ्रमण गरेका छन् ।

आयोजनाको काम सन्तोषजनक रुपमा नै अघि बढेको पाइएको अरनिको हाइड्रोका अध्यक्ष सुवास कर्माचार्यले जानकारी दिए । ‘सुरुङको काम करिब ५० प्रतिशत सकिएको पाइयो, हेडवक्र्स र पावरहाउसको काम पनि सन्तोषजनक हिसाबले नै अघि बढेको छ’ अध्यक्ष कर्माचार्यले बताए । प्रभावित क्षेत्रका मागहरुलाई तत्काल सम्बोधन गर्न आफुूरुले आयोजनालाई आग्रह गरेको कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment