Comments Add Comment

धरहराको टेण्डरमा भेटिएनन् ‘नक्कली’ कम्पनी

१६ भदौ, काठमाडौं । धरहरा पुनर्निर्माणका लागि भएको टेण्डरमा नक्कली चिनियाँ ज्वाइन्ट भेञ्चर कम्पनी सहभागी नभएको पाइएको छ । पुनर्निर्माण प्राधिकरणले २ महिना लगाएर गरेको अध्ययनमा धरहराको निर्माणका लागि नेपाली कम्पनीसँग जोडिएर आएका कुनै कम्पनी ‘नक्कली’ नभएको पाइएको हो ।

प्राधिकरणका एक अधिकारीका अनुसार चीनको दूतावासलाई नै सोधेर यसको निक्र्योल निकालिएको हो । धरहरा पुनर्निर्माणका लागि ६ वटा कम्पनीले टेण्डर हालेका थिए ।

उनीमध्ये चार कम्पनी सिण्डिकेटधारी कम्पनी छन्, जसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिएर प्रतिस्पर्धा नहुने अवस्था सिर्जना गरेर अर्बौंको ठेक्का लिँदै आएका छन् ।

तर, थप दुई वटा नयाँ कम्पनी पनि प्रतिस्पर्धामा आएपछि खलखेल सुरु भएको थियो । त्यसका लागि ‘ज्वाइन्ट भेन्चर’को कागजात नक्कली भएको दाबी गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी हालिएको थियो ।

६ वटा कम्पनीले आवेदन दिएकोमा प्रारम्भिक मूल्यांकनबाट २६ असारमा ५ वटा कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको थियो । जसमा कम मूल्य कबोल गर्नेले ठेक्का पाउने अवस्था थियो ।

तर, त्यही दिन प्रधानमन्त्री कार्यालयबाट प्राधिकरणमा एउटा पत्र आएको थियो, जसमा आर्थिक मूल्यांकनमा रहेको केही कम्पनीको कागजपत्र नक्कली छ भनिएको थियो ।

त्यतिबेलै धरहराको पुननिर्माण्को ठेक्का हत्याउन ‘माननीय’ ठेकदारहरुले चलखेल गरेको आशंका प्राधिकरणका अधिकारीहरुलाई थियो ।

नभन्दै अनुसन्धानबाट त्यस्तै देखिएको छ । ठेक्का प्रक्रियमा आएका सबै बम्पनी अहिले नेपालमा विभिन्न आयोजनामा काम गरिरहेको भेटिएको छ ।

चिनियाँ दूतावासले पनि प्राधिकरणलाई जवाफ लेख्दै कम्पनीको आधिकारितामाथि शंका लागे चीनकै अदादमा जान सुझाव दिएको छ । दूतावासले आफूलाई यस्ता विषयमा अनुसन्धान गर्ने अधिकार नभएको बताउँदै आशंका गरिएका सबै कम्पनीले नेपालमै काम गरिरहेको पाइएको जवाफ प्राधिकरणलाई दिएको छ ।

नक्कली कम्पनी सहभागी भएको भन्दै उजुरीकर्ता कालिका–रसुवा–सिको जेभीले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हो । जो आफैं पनि धरहरा पुनर्निर्माणको टेण्डर प्रक्रियामा छ ।

रसुवा कन्सट्रक्सन कांग्रेस सांसद मोहन आचार्यको कम्पनी हो भने कालिका कन्स्ट्रक्सन राप्रपा नेता तथा पूर्वसांसद विक्रम पाण्डेको कम्पनी हो ।

त्यस्तै कांग्रेस सांसद जिपछिरिङ लामाको लामा कन्स्ट्रक्सनले पनि विदेशी कम्पनीसँग जेभीमा टेन्डर हालेको छ । टेन्डरमा कांग्रेस नेता जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवा पनि संलग्न छ । नेताहरुको चार कम्पनीले मिलेर ठूला आयोजनाहरुमा टेण्डर हाल्ने र ठेक्का बाँडेर लिने गरेका थिए ।

तर, यो पटक रमन र कुमार कन्सट्रक्ससन पनि धरहराको यो टेण्डर प्रक्रियामा संलग्न भएको छ । अर्को कम्पनी आशिष कन्सट्रक्सन भने पहिलो चरणकै मूल्यांकनमा असफल भएको छ ।

आफ्नो समूह बाहेकका दुई कम्पनीले टेन्डर बोलकबोल गरेको रकम कम भएको सूचना चुहिएपछि ठूला ठेकेदारहरु उजुरीमा गएका थिए ।

प्राधिकरणले प्रधानमन्त्री कार्यालयलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउँदै टेण्डर मूल्यांकनको प्रक्रिया अघि बढाउन दिन माग गरेको छ । आइतबार सबै कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment