Comments Add Comment

आउनुस् फिल्डमा ! मेरोजत्तिको काम गरेर देखाउनुस् !

म अध्ययनकै क्रममा थिएँ । ०६५ सालतिरको कुरा हो, मलाई एउटा सहकारीमा प्रवन्धक पदका लागि कुरो आयो । मैले ठीक छ, म गर्छु भनें । तलब पनि आकर्षक नै थियो । पढ्ने क्रममा विद्यार्थीसँग उति सारो पैसा त हुँदैन, तर मैले जागिर खान थालेकीले पैसासँग खेल्न थालें ।

ठ्याक्कै मिति त सम्झिन्नँ, त्यसैताका सनराइज बैंक र प्राइम कमर्सियल बैंकले सर्वसाधारणलाई जारी गरेको साधारण सेयर निस्काशनबारेको सूचना पत्रिकामा पढें । त्यसैबेला मेरा भिनाजु र मामाहरु सेयरका बारेमा खुबै चर्चा गरिरहनुहुन्थ्यो । मैले पनि चासो बढाउन थालें ।

लगत्तै सम्वन्धित बैंकमा गएर सेयर भरें । उसबेला आईपीओ भर्नेको उत्तिसारो चाप नभएर होला, मलाई दुबै बैंकमा ३०० र ३०० कित्ता सेयर पर्‍यो । मेरो सेयरसम्वन्धी ज्ञान यसबेलासम्म थिएन । तैपनि जुनसुकै कम्पनीको साधारण सेयर खुल्थ्यो, मैले भरेकै हुन्थें । यसरी सेयर बजारमा मेरो प्रवेश भयो ।

समयसँगै मेरो सेयर दुगुना चारगुना, दशगुना हुँदै गयो । आफूले लगाएको रकमभन्दा तीस/ चालिस गुणासम्म नाफा पनि भएको छ मलाई । गतवर्ष मात्रै एउटा अमूक कम्पनीको आईपीओमा पैसा हालेकी थिएँ । मेरो नाममा १० कित्ता र बाबाको नाममा १० कित्ता परेको थियो । लगानी २० कित्ताका लागि दुई हजार परेको मैले एक वर्ष त्यो सेयर राखेर ६० हजारमा बेचें ।

यसरी काम गर्न थालेपछि पुँजीबजारप्रति मेरो लगाव बढ्दै गयो । त्यसपछि म दोस्रो बजारमा हामफालें ।

सुरुमा मैले केही दिन ब्रोकर कार्यालय गएर त्यो स्क्रिनमा आएको हरियो, रातो र सेतो मात्रै हेरें । सोधौं, कसलाई सोध्ने । नसोधौं, के हो केहो मेसै नपाइने । अनि विस्तारै हरियो भनेको बढेको, रातो भनेको घटेको र सेतो भनेको हिजोकै भाउमा कारोवार भएको भनेर बुझ्न थालें । त्यसपछि बिस्तारै सेयर मार्केटमा रस बस्न थाल्यो ।

आफ्नो अफिसको काम १२ बजेसम्म सक्यो, सहयोगीलाई अफिस जिम्मा लगायो अनि हिँड्यो ब्रोकर अफिसतिर । एवं रीतले मैले काम गर्दै गएँ । पैसा पनि बिस्तारै बन्दै गयो । म यो मार्केटको व्यवहारबाट कहिल्यै हार खाइनँ । पछि के बुझ्न थालें भने मार्केट किन घटेको हो र किन बढेको हो ? हुन पनि सेयर मार्केटमा यस्तै हुने गर्छ । र, यस्तैलाई यो मार्केटको सुन्दर पक्ष भनिँदो रहेछ ।

यो त भयो सेयर मार्केटमा मेरो प्रवेश र भोगाइ । अब म यसभन्दा अगाडि बढ्न चाहन्छु ।

पुँजीबजारको आन्दोलन र अध्यक्षको जिम्मेवारी

यसैवीच गत श्रावण २ गते पुनर्गठन भएको नेपाल पुँजी बजार लगानीकर्ता संघले मलाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा चयन गर्‍यो । मैले खासै लामो समय पुँजीबजारमा काम नगरेको भए पनि लगानीकर्ताको भावनाबमोजिम मैले यो जिम्मेवारीलाई सहस्र स्वीकारें ।

गत जेठ १८ गते आन्तरिक राजस्व विभागले एउटा हास्यास्पद र विवादास्पद निर्णय गरेर छापामार शैलीमा सबै ब्रोकर कार्यालयमा परिपत्र जारी गर्‍यो । पत्रको व्यहोरा राईट र बोनस सेयरको फेस भ्यालु एक सय रुपैयाँ कायम गरी सोभन्दा माथि बिक्री गरेमा पाँच प्रतिशत लाभकर बिक्रीकर्ताबाट असुलउपर गर्नू भन्ने आशयबाट प्रेरित थियो ।

यस्तो परिपत्र आउनु लगानीकर्ताहरुलाई सरासर गला रेटेजस्तै थियो । किनकि बोनस वा राईट ईस्यू गर्दा बुक क्लोजको दिन नेप्सेले मूल्य समायोजन गरिसकेको हुन्छ । यस्तो परिस्थितिमा हामीले त्यो परिपत्र अनुसार तिर्नु भनेको घाटामा कर तिर्नु हो । सरकारले यो निर्यण नसच्याउने हो भने हामी तमाम लगानीकर्ताहरुको पाटीको बास हुने निश्चित थियो । हामीले विरोध नगरी धरै थिएन । हामी विरोधमा उत्रियौं ।

हामीले विरोध बडो भद्र किसिमले गर्‍यौं । पुँजीबजारको इतिहासमा लगानीकर्ताका तर्फबाट आजसम्म नभएको खरिद-विक्री नै नगर्ने किसिमले विरोध जनायाैं । नभन्दै जेठ २२ गते एकै कित्ता सेयर पनि खरिद-बिक्री भएन । आश्चार्य त यस्तो भयो कि १५ लाखभन्दा बढी लगानीकर्ता रहेको पुँजीबजारमा एक मतले देशैभरिबाट न सेयर खरिद भयो, न त बिक्री नै । हामी १५ लाखभन्दा बढी लगानीकर्तामा कुनै मतान्तर भएन ।

जब हामी विरोधमा उत्रँदै थियौं, म त्यसबेला नेपाल पुँजीबजार लगानीकर्ता संघकी उपाध्यक्ष थिएँ । नेपालमा पुँजीबजारको हकहितका लागि खुलेका अन्य दुई संगठनसँगको सहकार्यमा विरोध जनाइरहेका थियौं । यसै सिलसिलामा जेष्ठ २३ गते अर्थमन्त्रालयवाट हामीलाई वार्तामा बोलावट भयो । हामी तीनैवटा संगठनका पदाधिकारीहरु वार्तामा गयौं । नेपाल पुँजी बजार लगानीकर्ता संघका तर्फबाट म सहभागी थिएँ ।

वार्ता मन्त्रीस्तरको भनिए पनि राजस्व सचिव शिशिर ढुंगाना लगायतसँग हामी वार्तामा बस्यौं । सचिवले लौ अब कारोवार गर्नुस् एउटा आयोग बनाएर १५ दिनभित्र यो विवादित विषय टुंग्याउँला भन्नुभयो । त्यसपछि हामी तीनवटै संगठनका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गरेर कारोवार सुचारु गर्‍यौं ।

समय व्यतीत हुँदै जाँदा मन्त्रालयबाट बनाएको समितिको म्याद पनि सकियो । तर, निर्णय हुन सकेन । त्यसपछि हामीमाथि परेको अन्यायविरुद्ध पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटाैं र सम्पूर्ण बेलीविस्तार लगाऔं भनेर हामी नेपालनिवासतिर हान्नियौं । नेपालसँगको भेटपछि अब हामीलाई अन्याय पर्ने छैन भन्ने निश्कर्ष निकालेर फर्कियौं ।

त्यसको केही समयपछि नै हाम्रो पुँजीबजार संगठनमा मतमतान्तर सुरु भयो । अब संगठनको नेतृत्व तपाइर्ंले लिनुपर्छ भनेर दुई तिहाई साथीहरुले मसँग कुरा राख्नु भयो । मैले स्वीकारे गरें ।

हुन त कम्मल ओढेर ध्यू खान पल्किएका केही अजासु (अति जान्ने सुन्ने) लगानीकर्तामाझ आफूलाई स्थापित गराउन चानचुने कुरा थिएन । जीवन आफूले सोचेजस्तो सरल रेखामा कहिल्यै हिँड्दैन, सधैं बक्र रेखामा हिँड्ने गर्छ भन्ने पनि मैले नबुझेकी होइन । त्यसैले गत साउन २ गतेबाट अध्यक्षको भूमिकामा रहँदै गर्दा आफूले कामबाट पछि नहट्ने प्रण गर्नतिर लागें ।

काठमाडौंदेखि जनकपुरसम्म

गत श्रावण २७ गते काठमाडौंमा एउटा कार्यक्रमको आयोजना गर्दै प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बनाउने लक्ष्य लिएर अगाडि बढें । उहाँलाई कैयन पटक निवासमा गएर आफ्नो योजना सुनाउन थालें । उहाँ साह्रै सकारात्मक सोचको खानी, वौद्धिक, शालीन र कर्तव्यपरायण नेता हुनुहुँदोरहेछ । समय नै बलवान हो भन्ने उहाँले कहिल्यै भुल्नुहुँदोरहेन छ । यो मैले उहाँसँगको कैयन भेटमा पाएको एउटा राज हो । बल्ल पो मैले उहाँलाई नजिकबाट चिन्ने मौका पाएँ ।

यसैवीचमा गभर्नर डा. चिरञ्जीवी नेपालसँग भेट गरें । उहाँमा पनि मैले सेयर बजारप्रति सकरात्मकता नै बढी पाएँ । पूर्वअर्थमन्त्री डा. रामशरण महतज्यूलाई पनि कार्यक्रममा अतिथि राख्न पाए सुनमा सुगन्ध हुने थियो भन्दै उहाँको निवासमा हान्निएँ । विभिन्न सरोकारवालाहरुसँग टाइम मिलाउँदै गएँ । आखिर म सफल भएरै छाडें । आज पनि उहाँहरुको समीपमा बस्दा मलाई मेरा ९० वर्षे पिताजीसँग बसिरहेछु भन्ने महसुस हुन्छ । उहाँहरुसँग फोनमा कुरा गर्दा मलाई उनै मेरा पिताजीको याद आउँछ ।

यसै क्रममा प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा कार्यक्रमको आयोजना गरियो । त्यसका लागि जानैपर्ने थियो ! मुटु रोगी, त्यहीमाथि बिरामी थपियो ! तर पनि औषधिकै भरमा जनकपुर पुगेर कार्यक्रम गर्न पुगे । मुख्यमन्त्री लालबाबु राउतले सेयर बजारको विस्तारमा धेरै बचन दिनुभएको छ । त्यही संगालेर काठमाडौं फर्किएँ ।

अब मेरो उद्देश्य यसै आर्थिक बर्षभित्र सातै प्रदेशमा सेयर शिक्षा पुर्‍याउने र अर्को आर्थिक वर्षमा ७७ जिल्लामा सेयर शिक्षा पुर्‍याउनुरहेको छ ।

देशले नचिनेका अर्थमन्त्री !

कामकै सिलसिलामा मैले राजस्व सचिव शिशिर ढुंगानासँग भेट गरें । मेरो लक्ष्य भनेको पुँजी बजारको हक हित नै थियो । यसै रफ्तारलाई अगाडि बढाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाको निवासमा पुगें । त्यहाँ पुगेपछि मलाई धेरै नमज्जा लाग्यो । यति राम्रो अर्थमन्त्री पाएको रहेछ देशले, तर हामी भने कागले कान लग्यो भन्दैमा त्यसकै पछि लागिरहेका रहेछौं । अर्थमन्त्रीले मलाई निवासमा झण्डै एकघण्टा भेट दिनुभयो । दुनियाँले सोचेभन्दा फरक पाएँ उहासँगको लामो बसाइमा ।

र, मैले ज्यादै जिद्धि गरें कि हजुरसँग आजै अर्थमन्त्रालयमा हाम्रो टिमसमेतले भेटनुपर्‍यो र हजुरलाई एउटा ज्ञापनपत्र बुझाउनुछ । मैले अनुरोध गरेपछि उहाँले २ बजे आउनुस् भनेर समय दिनुभयो ।

सामाजिक सञ्जालबाट निराश भएँ

यसैवीचमा कस्ता-कस्ता आलोचना गरेर मेरो उछित्तो काढ्ने मान्छे बढ्दै जान लागे । न रूनु, न हाँस्नु । न रिसाउनु, न बौलाउनु । किंकर्तव्यविमूढ भएँ । गाडी छेउ लगाएर एकैछिन भावशून्य भएर टोल्हाएँ । हुन त यो मेरो जीवनको पहिलो घटना थिएन । यसअघि पनि यस्तै आलोचनाको सामना गरेकी थिएँ । मनस्थिति पूरै बिगि्रयो । तैपनि आफूलाई सम्हालें ।

यो पुरूषप्रधान समाज यति ढोंगी, अमानवीय छ कि भन्न पनि शरम लागेर आउँछ । यसको अर्थ, मैले पुरूषहरूको बिरोध गरेकी होइन, पुरूषप्रधान प्रवृत्तिको बिरोध गरेकी हुँ । मलाई राम्रोसँग थाहा छ, नारी-पुरूष एउटै रथका दुई पांग्रा हुन् । एकविना अर्काको अस्तित्व सम्भव छैन । समभाव र समान अधिकारसहित सँगसँगै मिलेर समाजलाई अघि बढाउनुको कुनै विकल्प छैन । तर, हाम्रो देशका ‘अजासु’हरुको चेतनास्तर हेर्दा दया नै लागेर आउँछ । हुन त भनिने गरिन्थ्यो ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुलाई पनि बनाउन दिँदैन ।’ बल्ल हो रहेछ भन्ने लाग्न थाल्यो ।

मैले राम्रो काम गर्न खोज्दा सामाजिक सञ्जालमा आएको गाली सम्झेर आँखामा सागर र मुटुभित्र सुनामी उर्लिएर मलाईसहन निक्कै गारो भयो । पटक-पटक भक्कानिएँ । साँच्चै बिक्षिप्त नै भएँ म त मान्छेहरुको एकहरो खेदाइले । तर, हिम्मत हारिनँ । म हिम्मत हार्ने नारी पनि होइन । यसबाट म एक इञ्च पनि पछि हट्ने छैन र आफूलाई सर्वोपरि ठान्दै मेरो अभियानलाई कमेडीभन्दा कम छैन भन्नेहरुलाई म च्यालेञ्जका साथ भन्न चाहन्छु- आउनुस् फिल्डमा उत्रनुस् । मेरोजत्तिको काम गरेर देखाउनुस् ।

पक्कै पनि सानो होस् या ठूलो काम गर्न सजिलो छैन । र, म जुनरूपमा यहाँसम्म आएँ, यसवीचमा धेरै नै बाधाहरु आए । अझै कति आउने हुन् थाहा छैन । तर, म यसबाट डराएर भाग्ने नारी होइन ।

मैले सानैमा मृत्युसँग जुधेकी हुनाले सबै समस्यासँग जुध्न सक्ने सामर्थ्य ममा अझै बाँकी छ । मुटुमा समस्या हुनेहरूको आत्मबल कमजोर हुने जुन मानसिकता छ, त्यसलाई म गलत सावित गर्न सक्छु । किनकि, मैले कहिल्यै हिम्मत हारेकी छैन र हार्ने पनि छैन ।

हामी नारीको सबैभन्दा ठूलो कमजोरी भनेको नै हाम्रो कोमलता र प्रेमभाव हो । हामी नारी यो कमजोरीबाट मुक्त हुन सक्छौं कि सक्दैनौं मलाई पनि थाहा छैन । किनकि, प्रकृतिले नै हामीलाई यस्तै बनाइदिएको छ । नारीप्रतिको शोषण आज पनि विभिन्न प्रकृति र स्वरूपमा आ-आफ्नै शैलीसहित समाजमा प्रकट भइरहेका छन् । त्यसलाई पन्छाउँदै मैले विभिन्न कार्यक्रमहरु गर्न सकें । त्यसपछि मलाई झनै सस्तो लोकपि्रयताका निम्ति प्रचारमा सीमित हुनेहरु विरोध गर्न लागे । मानौं कि उनीहरुसँग मेरो पुस्तौनी दुश्मनी छ र पानी बारबारको स्थिति रहे जसरी !

विश्व एक्काइसौं शताब्दीमा छ । ज्ञान, विज्ञान र प्रविधिको विकासले मानव सभ्यतामा अभूतपूर्व क्रान्ति भएको छ । पृथ्वी साँघुरो भएको अनुभूत गर्दैछ मान्छे । तैपनि मान्छेमा नैतिकता स्खलित भइरहेको छ । मान्छेमा बढ्दै गएको कठोरता र मूल्यहीनताले मुटु चिमोटिरहृयो । समाजमा कसरी मानवीय मूल्य स्थापित होला ? प्रश्नै प्रश्नको चक्रब्यूहमा रूमल्लिँदै मैले आफ्नो कामलाई अगाडि बढाउँदै अगाडि बढिरहेकी छु ।

सामाजिक सञ्जालमा आफ्नो चरित्र देखाउन भन्दा पनि पुँजीबजार विकासका लागि हात फैलाउँदै र आˆनै पकेट खर्च जोगाएर कार्यक्रम गर्दै हिँड्दा पनि हातेमालो गर्दै अघि बढ्न खोज्ने पाइला पनि लर्खराउन थालेको पाएकी छु मैले । मान्छे मेसिन होइन । मान्छे पशु पनि होइन । मान्छे, मान्छे हो । पुरानो मेसिन थोत्रो भएपछि कारखानामा नयाँ मेसिन जडान गरेजस्तो वा पशु बुढो भएपछि मासु काट्नेलाई बेचेजस्तो मान्छेलाई गर्न सकिँदैन रहेछ ।

रिसानी माफ गर्नुस् आदरणीय गुरूबर्गहरु ! मैले यहाँहरूलाई होच्याउन र बदनाम गर्न खोजेकी होइन । तर, ज्ञान बाँड्ने र विज्ञान सिकाउने कतिपय गुरूहरू नै हिंस्रक पशु बनेपछि आक्रोश त जन्मने नै रहेछ । फेरि पनि हामी नारीहरू, तिनै व्यक्तिमाथि बधाई वाणी बर्साइरहेका छौं । दण्डित गर्नुपर्नेलाई पुरस्कृत गरिरहेका छौं । यो हामीभित्र भएको दासी मनोवृत्ति नै हो ।

यस यात्रामा भेटिनु भएका सहयोगी मनहरुको पनि कमी छैन । मसँग ती शब्दहरुको कमी छ । लाग्छ, उहाँहरुसँगको सम्बन्ध वर्षौंवर्षदेखि अनुभव गरेकी छु मैले । हुन त जीवनको लामो यात्रामा सपनासँग सौदा गर्न आउने स्वार्थी मनहरू सर्बत्र भेटिन्छन् । तर अप्ठेरोमा सहयोग गर्ने निस्वार्थी हातहरू अपवादमा मात्रै भेटिन्छन् । मेरो मुटु चिरिएको भए पनि हिम्मत अझै पनि चिरिएको छैन !

हामी २१ औं शताब्दीको दोस्रो दशकमा छौं । विज्ञान प्रविधि र सूचना सञ्चारमा आएको अभूतपूर्व परिवर्तनले मान्छेको चेतना, सोच र बानी ब्यहोरामा समेत ठूलो परिवर्तन ल्याइरहेको छ । हिंसाको स्वरूप र परिभाषामा पनि परिवर्तन आएको छ । पुरूषमा हुने लैंगिक अहंकारको अन्त्य नभएसम्म महिलामाथि पाइला-पाइलामा हुने हिंसाको अन्त्य सम्भव छैन । यदि म गलत छैन भने सही बाटोमा हिँडाउनुभन्दा गलत बाटोमा कुद्न उक्साउनेहरूकै जमात बलियो देखिरहेकी छु मैले यहाँ ।

जुन मानिसले राम्रो कामको सही मूल्यांकन गर्न सक्दैन, त्यो समाज आवरणमा जति नै आधुनिक र भव्य देखिए पनि, मान्छेहरू जति नै सभ्य र शिष्ट देखिए पनि अन्ततः त्यो पाषाण समाज हो र त्यस्तो समाजका मान्छेहरू दुईखुट्टे पशु हुन् । तसर्थ, मेरो बिनम्र अनुरोध छ- यदि राम्रो काम गर्न सकिँदैन भने नराम्रो पनि नगराैं । मानव हुनुको परिचय स्थापित गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment