Comments Add Comment

के तपाई पनि कुनै शिक्षक-शिक्षिकाको प्रेममा पर्नुभएको छ ?

रातो रंगको पातलो सिफनको साडी, स्लिभलेस ब्लाउज, सुन्दर अनुहार,  खुला कपाल हावामा उड्दै गरेको र साडीको पल्ला काँधबाट खसिरहेको ।

मैले आँखा बन्द गरेँ र दिमागको घोडा दौडाएँ । आफ्नो स्कूल-कलेजका हरेक उमेरका शिक्षिकाहरुलाई सम्झिएँ । तर, २००४ मा रिलिज भएको हिन्दी फिल्म ‘मे हुँ ना’को रातो साडीवाली शिक्षिका चाँदनीको जस्तो रुपमा कोही पनि फिट भएनन् ।

कटनको साडी, सेफ्टी लगाएर अड्काइएको साडीको पल्ला काँधबाट तल खसिरहेको र हल्का रातो रंगको खुल्ला हावामा उडीरहेको कपाल भएकी शिक्षिकाबाट अगाडि जान त मेरो कल्पनाले पनि साहस गरेको थिएन ।

सायद म पुरुष थिएँ भने कल्पनाको उडान केही अरु नै हुन सक्थ्यो वा सायद नहुन पनि सक्थ्यो ।

स्कूल-कलेजमा पुरुष शिक्षक पनि हुन्छन् तर, फिल्ममा उनीहरुको भूमिका यति कामुक काहीँँ देखाइएको पाईदैन ।

‘मे हुँ ना’ को तीन वर्षपछि रिलिज भएको फिल्म ‘तारे जमिन पर’को निकुम्ब सर स्मार्ट थिए तर कामुक थिएनन् । न त उनको सर्टको माथिल्लो बटन खुलेको थियो न त कहिल्यै आधा खुलेको आँखाले उनले कुनै शिक्षिका वा छात्रालाई कामुक नजरले हेरेका थिए ।

तर, के उनी शिक्षक थिए ? उनको लागि मेरो मनमा हरेक किसिमको भावना आयो ।

लाग्यो, उनको काखमा शिर राख्ने हो भने हरेक समस्याहरु टाढा भाग्नेछ । अझै उनले अंगालोमै बेरे भने त मनको बोझ धेरै कम हुन्छ र यदि उनीसँग मित्रता भयो भने मेरो मनमा भएका सबै कुरा बताउने छु ।

त्यतिखेर मलाई लाज लाग्दैन किनभने उनले मेरो निर्दोषपन र बालापनलाई बुझ्नेछन् ।

शिक्षक-शिक्षिकासँग प्रेमको कल्पना

शिक्षक वा शिक्षिकासँग प्रेमको कल्पना पक्कै पनि सबैमा हुन्छ । स्कूलका छात्रछात्राको किशोरवयको उमेरसँगै यस्तो कल्पना अझै रंगीन हुन पनि एकदम सहज हुन्छ ।

तर, पछिल्ला दशकमा बलिउडका महिलाहरुको शरीरलाई आकर्षक र ग्यामरस देखाउने चलनभन्दा फरक वास्तविक जीवनमा यो कल्पनामा कपडा, अर्धनग्न शरीर वा श्रृंगार माथिको प्रेम हुँदैन ।

मनमा रहेका बेचैनीहरु आमाबुबा सँग खुलेर भन्न नपाउने कारणले एक ठूलो उमेरका साथीको आवश्यकता वा उनीहरु जस्तै स्मार्ट बन्ने चाहना सबै किशोर किशोरीमा हुन्छ ।

पढाई बाहेकका अन्य कैयौ कारणहरुले छात्रछात्राको मनमा शिक्षकशिक्षिकाको लागि उथलपुथल पैदा हुन्छ । अघिल्लो वर्ष अमेरिकाको नेभाडा विश्वविद्यालयमा १३१ छात्रछात्रामा गरिएको शोधबाट शिक्षकहरु आकर्षक भएमा विद्यालयका छात्रछात्रामा के असर पर्छ भनेर बुझ्ने प्रयास भएको थियो ।

शोधबाट धेरै आकर्षक शिक्षकशिक्षिकाले पढाएको छात्रहरुले धेरै बुझ्ने पाइएको थियो । तर, यो आकर्षणलाई सेक्सुअल मानिएको थिएन ।

स्वभाविक हो यस्तो आकर्षण

शोधकर्ताहरुका अनुसार छात्रछात्राहरुलाई यसकारण पढेको पाठ राम्रोसँग आयो किनभने आकर्षक शिक्षकको कारण उनीहरुमा रुची धेरै थियो र उनीहरुको कुरामा ध्यान पनि धेरै दिइरहेका थिए ।

शिक्षक तर्फ आकर्षण स्वभाविकै हो तर, यसको परिभाषा र दायरा अलग हुन सक्छ ।

धेरैजसो उनीहरुको जिन्दगी साथीहरुसँग हुने कुराकानी र चुटकिलाहरुमा सीमित हुन्छ । कहिलेकाँही त्यस भन्दा धेरै भएमा कल्पना वा सपनाको रुप लिन सक्छन् ।

तर, त्यस भन्दा अगाडिको हद पार भएन भने नै राम्रो हो किनभने कैयौं देशमा यस्तो सम्बन्धलाई गैर कानूनी मानिन्छ ।

बेलायतमा यदि एक शिक्षकशिक्षिका वा कुनै पनि यस्तो व्यक्ति जसलाई नाबालिग बच्चाको जिम्मेवारी दिइएको हुन्छ उनीहरुले ती बच्चाको साथमा यौनसम्बन्ध बनाउने कोशिश गरेमा सात वर्ष सम्मको जेल सजाय हुन सक्छ ।

किनभने १८ वर्षभन्दा कम उमेरका बच्चाहरुले यौन सम्बन्धको लागि सहमति दिन सक्दैनन् भन्ने मान्यता छ ।

यस्तो सम्बन्धलाई के नाम दिने ?

शिक्षक-शिक्षिकासँग आकर्षणको यो मसला विद्यालयको पर्खालभित्र मात्रै सिमित छैन । कलेजमा झनै यसको सम्भावना बढ्छ ।

कलेजमा छात्रछात्रा वयस्क भइसकेका हुन्छन् र साधारण सहज जस्तो लाग्न सक्ने यो आकर्षणले विस्तारै सहमतिबाट बन्ने एक संवेदनशिल सम्बन्धको रुप लिन सक्छ ।

सबै किसिमको सम्बन्ध र रुचीको बारेमा उदारवादी हुँदै गएको सामाजिक सोचको बीचमा छात्रछात्रा र शिक्षकशिक्षिका बीचको प्रेम सम्बन्धलाई लिएर भने विश्वभर अझै पनि डर छ ।

हावार्ड विश्वविद्यालयका अनुसार नियम अनुसार कुनै शिक्षकशिक्षिकाले पढाइरहेका छन्, नम्बर र ग्रेड दिइरहेका छन् भने उनीहरुलाई आफ्नो छात्रछात्रासँग प्रेमसम्बन्ध बनाउने पनि अनुमति छैन ।

अमेरिकाको कैयौं अन्य विश्वविद्यालयमा पनि यस्तै खालको फैसला गरिएको थियो ।

अमेरिकन एसोसिएसन अफ युनिभर्सिटी प्रोफेसर्सले यस्तो प्रतिवन्धको सिधै वकालत त गर्दैन तर घुमाउरो पारामा भन्छ, ,’यस्ता सम्बन्धमा शोषण हुने सम्भावना बढ्छ ।’

छिमेकी देश भारतको विश्वविद्यालयमा पनि यस्ता प्रतिवन्ध वा नियम छैन तर, यसको मतलब त्यहाँ यस खालको स्विकृती मिल्छ भन्ने भने होइन ।

युवाअवस्थामा छात्रछात्राले आफ्नो शिक्षक-शिक्षिका प्रति आकषिर्त भएर प्रेम भावनाहरुको कल्पना गर्नु र उनीहरुको कल्पनाको यात्रा वास्तविक हुने कुरा धेरै पेचिलो छ । तर, यो हल्का वा सावधान हुन नपर्ने विषय पनि होइन ।

बलिउडमा देखाइने महिला शिक्षिकाभन्दा हाम्रा शिक्षिकाहरु फरक छन् र उनीहरुको लागि मनमा उठ्ने भाव आँखाबाट झल्किने चाहनाभन्दा धेरै गहिरो छ ।

बिबिसीबाट भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment