Comments Add Comment

रुपन्देहीका थप तीनवटा पानी उद्योगलार्इ कारबाही

२२ भदौ, बुटवल । मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेका रुपन्देहीका थप तीनवटा पानी उद्योग कारवाहीमा परेका छन् ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेका सी एण्ड एच फुड एण्ड बेभरेज इण्डस्टि्रज बुटवल चिडियाखोला र मानसरोवर वाटर प्रोसेसिङ इण्डस्टि्रज बुटवल कारवाहीमा परेका हुन् ।

सी एण्ड एच फुड एण्ड बेभरेजले ब्लु ड्रप ब्राण्डमा जारमा पानी भरेर बेच्दै आएको थियो । मापदण्ड पूरा नगर्दासम्म दुबै उद्योगलाई पानीको उत्पादन र वितरण बन्द गर्न निर्देशन दिइएको छ ।

दुबै उद्योगमा स्वचालित मेसिन पनि नभएको र सरसफाईको अवस्था पनि नाजुक देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक श्रवण ढुंगानाले जानकारी दिए ।

यसैगरी बुटवल नयांगाउंको क्यारोलिना वाटर इण्डस्टि्रजले मापदण्ड निर्देशिका अनुसार स्वचालित बोतल प्लान्ट बाट उत्पादन गर्नुपर्नेमा नगरेको पाइएकाले बोेतल पानी उत्पादनमा रोक लगाइएको ढुंगानाले बताए ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ अनुसार बोतल पानी उत्पादन गर्ने उद्योगहरुले पानी उत्पादन कार्य स्वचालित मेसिनमार्फत मात्रै गर्नुपर्ने प्रावधान छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अगुवाईमा इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलका प्रतिनिधिहरु सहभागी टोलीले अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका पानी प्रशोधन गर्ने उद्योगलाई कारवाही गरेको हो ।

यसअघि भैरहवाको रिद्धिसिद्धि वाटर इण्डस्टि्रज, रोहिणी गाउंपालिका वडा नं २ को हिमालयन रोज डि्रङकिङ वाटर र सोही गाउँपालिका वडा नंं ३ को आर एन जे वाटर इण्डस्टि्रजले मापदण्ड पूरा नगरी पानी उत्पादन र विक्रि वितरण गरेको पाइएकाले कारवाहीमा परेका थिए ।

रुपन्देहीमा गत आर्थिक वर्षको अन्त्यसम्म १४ वटा पानी उद्योगले दर्ता नवीकरण गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त राईले बताए ।

कतिपय पानी उद्योगले प्रशोधित पानीलाई मिनरल वाटर भनेर उपभोक्तालाई झुक्याइरहेकाले त्यस्तो नगर्न सचेत गराइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment