Comments Add Comment

महोत्तरीमा लाखौंको डकैती, गुहार माग्दा प्रहरीले भन्यो- हतियार छैन

२३ भदौ, बर्दिवास । महोत्तरीमा गोली प्रहार गरी लाखौंको धनमाल लुटपाट भएको छ । महोत्तरीको भंगहा नगरपालिका ६ जमुनियामा गएराति १२ बजे गोली प्रहार गरी लुटपाट भएको हो । डाँकाहरुको समुहले भुजेलको घर घेरा हालेर २० मिनेटसम्म लुटपाट गरेका थिए ।

१० भन्दा बढी संख्यामा आएका अज्ञात हतियारधारी समूहले प्रहार गरेको गोलीको छर्राले घरधनी ४५ वर्षीय अर्जुन भुजेल, उनकी श्रीमती ४२ वर्षीया अन्जु भुजेल, छोराहरु २५ वर्षीय अमित र १८ वर्षीय दिपेन्द्र तथा आफन्त सुमन बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको टाउकोमा चोट लागेको छ । उनीहरुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

‘गुहार माग्दा प्रहरी घटनास्थल जान मानेन’

भुजेलको घरमा लुटपाट भइरहेको जानकारी पाएपछि मोटरसाइकल चढेर उद्धारको लागि आउँदै गरेका आफन्तहरुमाथि डाँका समूहले सुतली बम प्रहार गरेर रोकेको पीडितको भनाइ छ ।

डकैती भैरहँदा नजिकैको जमुनिया चोकमा ड्युटीमा खटिएका सशस्त्र र नेपाल प्रहरीसहितको टोलीलाई सहयोगको लागि गुहार माग्दासमेत प्रहरी घटनास्थल जान डराएको स्थानीयको भनाइ छ । प्रहरीले आफूहरुसँग हातहतियार नभएको भन्दै घटनास्थलमा जान नमानेको स्थानीयले बताएका छन् ।

गोली चलाएर लुटपाट हुँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै भंगाहा नगरपालिकाका बासिन्दाले अहिले प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । स्थानीयहरुले टायर बालेर सडक अवरुद्ध गरेका छन् । लुटपाट भैरहेको थाहा हुँदाहुँदै पनि प्रहरी  मौन बसेको स्थानीयको आरोप छ ।

डाँकाहरुले नगद र गरगहनासहित करिव ८ लाख बराबरको गरहगना लुटेको पीडित परिवारको भनाइ छ । अर्जुनकी श्रीमती र आमाले कानमा लगाएको सुनका गहना डाँकाहरुले लुछेर लगेका छन् ।

यसैबीच लुटपाटबारे केेही व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट रातो कपडामा बेरिएको सुतली बम र तीन थान गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment