Comments Add Comment

चेल्सीमा चल्दैछ जर्जिन्होको जादु

काठमाडौं । दक्षिणी ब्राजिलको इम्बिटुबामा जन्मिएका जर्ज लुइज फ्रेलो फिल्हो अर्थात् जर्जिन्हो १५ वर्षको उमेरमा इटाली पुगे । त्यहाँ पुग्दा नै उनमा फुटबलको कला पसिसकेको थियो ।

मिडफिल्डर जर्जिन्होले इटालीमा सन् २००७ मा भेरोना क्लबको युवा टिमबाट व्यावसायिक फुटबल सुरु गरे । २०१० मा भेरोनाको मुख्य टिमबाट खेलेका उनी त्यही वर्ष लोनमा तल्लो तहको क्लब साम्बोनिफेसेस गए, जहाँ एक सिजन खेलेर भेरोना नै फर्किए ।

सिरी ‘बी’ मा रहेको भेरोनालाई सिए ‘ए’ मा लैजाने क्रममा जर्जिन्होको खेल देखेर उनलाई २०१४ मा नापोलीले किन्यो । २०१८ सम्म उनले १ सय ३३ खेल खेले । नापोलीमा पहिलो सिजन नै इटालियन कप विजेता बन्दा उनको खेलले नयाँ उचाइ लियो ।

त्यसबेला फाइनलमा फिरोन्टेनियाविरुद्ध पूरा ९० मिनेट खेलेर पनि जर्जिन्हो त्यसपछि धेरै समय बेञ्चमै विताए । प्रशिक्षक राफा बेनिटेजले उनको शैलीलाई उपयोग गर्न सकिरहेका थिएनन् ।

२०१५ मा प्रशिक्षक माउरिजियो सारी आएपछि नापोलीको मिडफिल्डमा जर्जिन्होको नाम छुटेन । सारीको ४-३-३ को शैलीमा उनले आˆनो खेललाई अझ निखार्दै लगे । उनले छोटा पास दिँदै विपक्षी डिफेन्सको भित्रसम्म पुगेर खेल देखाउन पाए ।

यसैले सारी इंग्लिस क्लब चेल्सी आएसँगै जर्जिन्हो पनि नयाँ सिजनका लागि चेल्सी आइपुगेका छन् । कतिसम्म भने सारीले आफू चेल्सी आउने पक्का भएसँगै जर्जिन्होलाई ल्याउनेबारे क्लबमा बताइसकेका थिए ।

चेल्सीमा सारी नआएका भए जर्जिन्हो म्यानचेस्टर सिटी जानेबारे लगभग पक्का भइसकेको बताइन्छ । इटालीको राष्ट्रिय टिमबाट ९ खेल खेलिसकेका जर्जिन्होले सारीले सिकाएको तरिकासँगै आफ्नो फुटबल कलालाई माथि लगिरहेका छन् ।

चेल्सीमा ५ नम्बर जर्सी लगाएर पि्रमियर लिग नयाँ सिजनको पहिलो खेलमै मैदान उत्रिएका जर्जिन्होले हडर्सफिल्डविरुद्ध एक गोल पनि गरे । त्यसपछि आर्सनलसँग ३-२ ले जित्दा राम्रो खेलेका उनले न्युक्यासलविरुद्ध २-१ ले र ब्रोनमाउथविरुद्ध २-० ले जित्दा पनि ९० मिनेट नै खेले ।

सेन्टर मिडफिल्डबाट जर्जिन्होले देखाएको खेलले पि्रमियर लिगमा उनको भविष्य राम्रो बन्दै गएको छ । उनले बलमा नियन्त्रण बनाइराख्ने र गोलका अवसर सिर्जना गर्ने काम निकै राम्ररी गरिरहेका छन् । उनलाई सेन्टर एरियामा रोक्न र बल खोस्न विपक्षीलाई हम्मे पर्छ ।

अहिले चेल्सीमा जर्जिन्होकै समय चलिरहेको भान हुन्छ । पोसेसन बनाउने र सर्ट पास खेल्नेमा राम्रो देखिएका उनी लामो पासमा भने केही कमजोर देखिन्छन् । चेल्सीमा उनले सुधार्नु पर्ने पक्ष नै त्यही देखिन्छ ।

प्रशिक्षक सारीले नै सर्ट पासमा बल गरिरहेको भए पनि २६ वर्षका जर्जिन्होले आफ्नो क्षमता बढाउन लामा पासमा पनि ध्यान दिएकै राम्रो हुन्छ ।

विशेष त गोलको अन्तिम पास मिलाउने भन्दा पनि गोलको अवसर बढाउन जर्जिन्होको भूमिका प्रमुख हुन्छ । कुन क्षेत्रबाट बल बढाउने र आक्रमण गर्ने भन्ने रणनीतिमा उनको भूमिका देखिन्छ ।

जर्जिन्होको अर्को महत्वपूर्ण पाटो पेनाल्टी टेकरको पनि हो । २०१४ मा इटालियन सुपर कपमा जियान लुइजी बुफोनलाई पेनाल्टीमा गोल हान्न नसके पनि नापोलीमा उनी पेनाल्टी टेकर नै थिए ।

साथै उनी डिफेन्स लाइनसम्म पुगेर बल खोस्ने काममा पनि अब्बल मानिन्छन् । विपक्षीले काउन्टर अट्याकका लागि बल बढाउँदा आˆनो एरियामा छिटो र्फकन सक्ने क्षमता जर्जिन्होसँग छ । डिफेन्सिभ र अफेन्सिभ दुवै भूमिकामा जर्जिन्हो देखिन सक्छन् ।

तीब्र प्रेसिङ र छिटो अट्याक गर्ने लिभरपुल, टोटनहृयाम, म्यानचेस्टर सिटी जस्ता टिमविरुद्ध सारीले जर्जिन्होको भूमिका बढाउने देखिन्छ ।

चेल्सीमा उत्कृष्ट रहेका एन्जेलो कान्टे र एडन हजार्ड जस्ता खेलाडीसँगै जर्जिन्होले आफूलाई नयाँ रुपमा प्रस्तुत गर्दै लाने छन् ।

चेल्सीले यो सिजन पि्रमियर लिगमा जितेका हरेक खेलको हरेक मिनेट मैदानमा रहेका जर्जिन्होले आफूले चेल्सीको फुटबल बुझेको र चेल्सीमा राम्ररी समय कटिरहेको बताएका छन् ।
‘प्रिमियर लिग धेरै नै राम्रो छ । यस्तो अनुभव हुन्छ भनेर पनि बुझाउन कठिन छ । जुन कुरा आफैले महसुस गरेपछि मात्रै थाहा हुन्छ’ चेल्सी एफसीसँग उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment