Comments Add Comment

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

२६ भदौ, चितवन । विभिन्न स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । प्रहरीले सडक खुल्न समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।

सडक खण्डको जलवीरे, चारकिलोलगायत स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सडक खण्डका दुवैतर्फका गाडी लामो जाममा फसेका छन् ।

तीजको दरखाने दिन भएकाले दर खान माइत हिँडेका चेलीबेटी यसको चर्को मारमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख वेदप्रसाद गौतमले चारकिलोमा पहाड नै खसेकाले अवरोध हटाएर सञ्चालन गर्न समय लाग्ने जानकारी दिए ।

‘सडकखण्डको विभिन्न स्थानमा पहिरो खसे पनि चारकिलोमा पहाडै खसेको छ’, गौतमले भने, ‘पहिरो हटाउन सजिलो नभएकाले सडक खुल्न केही समय लाग्न सक्छ ।’

रातिदेखि नै चितवन र वरपरका सडकमा वर्षा भइरहेकाले अवरोध हटाउन नसकिएको उनको भनाइ छ । पानी केही कम भएपछि सडक खुलाउने काम थाल्ने जानकारी गौतमले दिए ।

प्रहरीले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न यात्रु र सवारी साधनलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment