२६ भदौ, वीरगञ्ज । रोल्पामा तरुण दलका नगर अध्यक्ष रोहित पुन हत्याको विरोधमा नेपाल तरुण दल पर्साले वीरगञ्जमा प्रदर्शन गरेको छ ।
हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै नेकपा नेतृत्वको सरकारको विरोधमा विभिन्न नाराबाजी गर्दै वीरगञ्जमा प्रदर्शन गरेको हो ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
वीरगञ्जको घण्टाघर चोकबाट प्रदर्शन गर्दै नेपाल तरुण दलका नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए । त्यहाँ केहीबेर नाराबाजी गर्नुका साथै केही नेताहरुले भाषण गरेका थिए ।
त्यसपछि प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले ज्ञापन पत्र बुझ्न ढिलाई गरेको भन्दै उनीहरुले प्रजिअकै विरोधमा नाराबाजी गरे । उनीहरुले प्रमुख जिल्ला अधिकारी तानाशाही बनेको र तस्करी नियन्त्रण गर्न नसकेको आरोप समेत लगाए । स्थिति केहीबेर तनावपूर्ण बनेको थियो ।
प्रमुख जिल्ला अधिकारी कार्यकक्षबाट बाहिर आएर ज्ञापनपत्र बुझन तयार भएपछि उनीहरु शान्त भएका थिए । प्रमुख जिल्ला अधिकारी पौड्यालले ज्ञापनपत्र बुझ्दै छिटो भन्दा छिटो प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिए ।
तरुण दल पर्साका सचिव विवेककुमार चौरसियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । पीडित परिवारलाई तत्कल प्रदान गर्नुपर्ने, पुनलाई शहीद घोषणा गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा राखिएको छ ।
सरकारले माग पूरा नगरे विरोधमा थप कार्यक्रम ल्याउने तरुण दलका पूर्व अध्यक्ष सहरुम राउत गद्दीले चेतावनी दिए । ‘सत्ताधारी पार्टीको कार्यकर्ताले कानुन हातमा लिएर अपराधिक र आतंककारी शैलीमा नेता पुनको हत्या गरिएको छ ।’ रोल्पाको सुलीचौर बजारमा गोली प्रहार गरी पुनको हत्या गरिएको थियो ।
प्रतिक्रिया 4