Comments Add Comment

गृहमन्त्री बादल भन्छन्–नागरिकको गोपनियताको संरक्षण हुन्छ

२६ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले नागरिकको वैयक्तिक गोपनियताको रक्षा गर्ने विश्वास दिलाएका छन् ।

मंगलबार प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले सरकारले मौलिक हक अन्तर्गत रहेको वैयक्तिक गोपनियताको अधिकारको संरक्षन गर्ने बताए । ‘वैयक्तिक गोपनियताको अधिकार मौलिक अधिकार अन्तर्गत राखिएको छ,’ वादलले भने, ‘यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’

गृहमन्त्री बादलले वैयक्तिक गोपनियतालाई नागरिकको मान प्रतिष्ठासँगसमेत जोडेर व्याख्या गरेका छन् । ‘यो नागरिकको मानप्रतिष्ठासँगसमेत जोडिएको छ । नागरिकलाई आफ्नो मान प्रतिष्ठा एकदमै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘राज्यले नागरिकको मान प्रतिष्ठाको सम्मान गर्नुपर्छ ।’

व्यक्तिको मान प्रतिष्ठासँग जोडीएको भन्दैमा सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पति विवरण सार्वजनिक गर्नुनर्पने भन्ने आफ्नो भनाइ नरहेको उनको भनाइ छ । ‘छलफलमा एकातिर सबै खुला गर्नुपर्ने र अर्कोतिर सुरक्षालाई देखाएर सार्वजनिक गर्न नहुने तर्क आएका छन् । अब नागरिकको सुरक्षा पनि गर्नुपर्छ,’ उनले भने, ‘अर्काेतिर सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति खुला गर्नुपर्ने पनि छ ।’

गृहमन्त्री वादलले अपराधीलाई सतहमा ल्याउनका लागि भने सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताए । ‘अपराधीलाई सतहमा पनि ल्याउनु पर्यो,’ उनी भन्छन् , ‘त्यसअनुसार दुबैतर्फका तर्कलाई मध्यनजर गरे जानुपर्ने हुन्छ ।’

विधेयकमाथि ९० वटा संशोधन प्रस्ताव परेका थिए । समितिले मंगलबार संशोधन प्रस्तावमाथि दफाबार छलफल सकाएको छ ।

सांसदहरुका सुझाव र दफावार छलफलमा भएका सहमतिअनुसार समिति सचिवालयले वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित अर्को बैठकमा पेस गर्नेछ । समितिको अर्को बैठक पर्सी बिहिबार बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment