Comments Add Comment

प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट ग्यास आउन छाड्यो, उपभोक्ता सिलिन्डरमै फर्किए

२७ भदौ, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्मला पन्त हत्या प्रकरणमा पक्राउ गरिएका तीनै जना छाडिएकोलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । घटनामाथि प्रधानमन्त्री र गृहमन्त्रीको आश्चर्यजनक संवेदनहीनता देखिएको भन्दै पत्रपत्रिकाहरुले ४८ दिनपछि अनुसन्धान शून्यमा पुगेको उल्लेख गरेका छन् ।

पत्रपत्रिकाहरुमा प्रकाशित अन्य सामग्रीहरुमा भने विविधता छ । पत्रपत्रिकाको पहिलो पृष्ठमा प्रदेश सांसदलाई केन्द्र नै बढी प्यारो भएको, नेपालमा रेल जोड्न चीन आतुर देखिएको, लापरबाहीले पहिलो चट्टान अभिलेख मासिने अवस्थामा पुगेको, विराटनगरमा पाइपबाट ग्यास आउन छाडेकोलगायत खबर छन् ।

जोशी फर्किंदा सर्वोच्चमा सकस

अन्नपूर्ण र नागरिकले वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्केपछि सर्वोच्च अदालतमा जटिलता उत्पन्न भएको लेखेका छन् । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएपछि बिदा बसेका जोशी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदबहालीसँगै फर्केका हुन् ।

नागरिकका अनुसार जोशी सर्वोच्च फर्किएपछि समकक्षीहरुले राजीनामा दिन सुझाव दिएका छन् । कान्तिपुरको भित्री पृष्ठमा जोशीलाई इजलास नदिइने भएको समाचार छ ।

अन्नपूर्णमै कर्णाली प्रदेशका अधिकांश सांसद् काठमाडौंमै रमाएको सामग्री पनि छ । समाचार अनुसार प्रदेश तहमा कानून बनाइदिनुपर्ने सांसदहरु संघीय राजधानी छाडेर प्रदेश नजाँदा संसद् बैठक प्रभावित हुँदै आएको छ । ४० सदस्यमध्ये अधिकांश राजधानी काठमाडौं र अन्यत्र छन् ।

नेपालमा रेल जोड्न चीन आतुर बनेकोलाई अन्नपूर्णले एंकर बनाएको छ ।

अन्नपूर्ण लेख्छ– काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरुले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतमा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।

चुरे फाँड्दै सडक

मुगुको छायानाथ रारा नगरपालिकालाई मदिरा निषेधित पार्न महिलाहरु भेला भएको तस्वीर पहिलो पृष्ठमा प्रकाशित गरेको कान्तिपुरले चुरे फाड्दै सडक निर्माण गरिएको विषय उठाएको छ ।

धरान–गाईघाट–सिन्धुली–हेटौंडा सडक बनाउने क्रममा चुरे महाभारत क्षेत्रका १२ हजारभन्दा बढी ठूला रुख काटिए पनि एउटै पनि नरोपिएको समाचारमा उल्लेख छ । झापादेखि डडेल्धुरासम्म १२ सय किलोमिटर पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग निर्माण गर्ने सरकारको निर्णयअनुसार यसै वर्षदेखि काम थालिएको छ ।

सार्वजनिक पदाधिकारीका विवरण गोप्य नरहने खबर कान्तिपुरको भित्री पृष्ठमा छ । संसदको राज्य व्यवस्था समितिले सार्वजनिक पदमा आसीन व्यक्तिको परिभाषासमेत खुलाएर ती व्यक्तिको व्यक्तिगत विवरण खुला हुने सहमति गरेको हो ।

मन्त्रीकै कार्यकक्षमा कुटिए पिए

मन्त्रीलाई भेट्न नदिएको भन्दै मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन् ।

नेपाल समाचारपत्रका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवका पीए सन्तोष विष्टले भेट्न आएकालाई लामो समयसम्म भेट्न नदिएपछि कुटाइ खाएका हुन् ।

कुटपिट गर्ने नेकपाकै कार्यकर्ता हुन् । द्वन्द्वपीडितसमेत रहेका ती कार्यकर्ताले साँझ ६ बजेसम्म कुर्दा पनि भेट्न नदिएपछि बिष्टमाथि हातपात गरेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट ग्यास आउन छाड्यो, उपभोक्ता सिलिन्डरमै फर्किए

निर्मला हत्या प्रकरण ४८ दिनपछि शून्यमा झरेको समाचार प्रकाशित गरेको नयाँ पत्रिका दैनिकले विराटनगरमा पाइपबाट ग्यास आउने छाडेकोलाई प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबरग्यास प्लान्टबाट ग्यास आउन छाडेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्लान्ट उदघाटन गर्दै सिलिन्डर बोक्ने जमाना गएको बताएका थिए । प्रधानमन्त्रीले गत भदौ ५ गते यसो भने पनि त्यसको १२ दिनपछि प्लान्ट बन्द भएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment