Comments Add Comment

नेपाल र माल्दिभ्सको खेल सुरु, इतिहास रच्ने लक्ष्यमा नेपाल

२७ भदौ, ढाका । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको खेल सुरु भएको छ ।

बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका छन् । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा रहेको छ ।

तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल यो पटक भने ऐतिहासिक छलाङ मार्ने दाउँमा छ । यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।

नेपाल र माल्दिभ्स पछिल्लो पटक सन् २०१६ मा बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा यही बंगबन्धु राष्ट्रिय रंगशालामा भेट भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।

जारी साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह ‘बी’ को उपविजेता हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४-० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

यता, माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २-० गोलको हार ब्यहोरेको थियो ।
माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो ।

त्यस्तै, आजै दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तानबीचको खेल राति ७ बजे हुदैछ ।

नेपालको प्लेइङ इलाभेन

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर – आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी

मिडफिल्डर – रोहित चन्द, सुजल श्रेष्ठ, निराजन खड्का, सुनिल बल

फरवार्ड -बिमल घर्ती मगर, भरत खवास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment