Comments Add Comment

युएईको जेलमा रहेका खड्गबहादुरलाई नेपाल फर्काउन विश्वभरका नेपाली जुटे

युएई । युएईको जेलमा रहेका तेह्रथुमको फेदाप-२ ओयाक्जुङका खड्गबहादुर जोगीको उद्दारका लागि देश तथा विदेशबाट रकम संकलन हुन थालेको छ । यसअघि परिवारले खड्कबहादुरको उद्दारको अपील गरेको थियो ।

तेह्रथुम घरभइ हाल इजरायलमा रहेका देव बाँस्कोटाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकताबद्ध गरी जोगी बचाउ अभियान सुरु भएको हो ।

बाँस्कोटाका अनुसार हालसम्म स्वदेश तथा विदेशमा रहेका संघसंस्था तथा व्यक्तिबाट १७ लाख रुपैँयाको प्रतिवद्धता आइसकेको छ । जसमा तेह्रथुम जिल्लाका २ नगरपालिका तथा ३ गाउँपालिकाबाट ११ लाख रुपैँया, तेह्रथुम जन्मघरभइ हाल अमेरिकामा बस्दै आएका समाजसेवी हेम थापाबाट २ लाख रुपैँया सहयोग मिलेको छ ।

यस्तै सामाजिक कार्यमा क्रियाशील तिनजुरे मिडिया ग्रुपको मासिक एक पीडित सहयोग अभियानको २४ औँ सहयोग अन्तर्गत १ लाख ५० हजार रुपैँया र प्रेम राई बचाऔं अभियानबाट २ लाख ५० हजार रुपैँयाको प्रतिबद्धता आएको बाँस्कोटाले बताए ।

अभियानलाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवर्धन बोडमार्फत कुटनैतिक तथा कानुनी परामर्श लिएर अघि बढ्न पहल भइरहेको जनाइएको छ ।

नेपालमा दुर्गाप्रसाद गिरीको अध्यक्षतामा तीन सदस्यीय खड्गबहादुर जोगी बचाऔं अभियान मुल समिति निर्माण गरी अभियान सुरु भएको हो ।

समितिको सचिवमा खगेन्ऽबहादुर जोगी र कोषाध्यक्षमा कुमार गिरी रहेका छन् । तीनैजनाको नाममा नेपाल बैंक लिमिटेडमा संयुक्त खाता खोलिएको र उक्त खातामा विभिन्न ठाँउबाट रकम जम्मा भइरहेको सचिव जोगीले जानकारी दिए ।

जोगीलाई सहयोग गर्न चाहानेहरुले नेपाल बैंक लिमिटेडको खाता नम्बरः ०५४००१०६५७०३२९०००००१ मा सहयोग गर्न सकिनेछ ।

विदेशमा पनि अभियान

नेपालमा जोगीको गृह जिल्कोला सिफारिसमा विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग संकलन भइरहेको छ ।

यस्तै युएई, दक्षिण कोरिया,डेनमार्क, अमेरिका,कतार, मलेसिया लगायतका ठाँउमा रहेका प्रवासी नेपाली ,सम्बन्धित जिल्ला समाज र गैरआवासीय नेपाली संघ (एनआरएनको ) सहकार्यमा सहयोग अभियान चलिरहेको बाँस्कोटाले जानकारी दिए ।

यता युएईमा पनि जोगी बचाउ अभियानका लागि पहल सुरु भएको छ । सामाजिक संजालमार्फत सबैलाई जानकारी गराइरहेको र केहीँदिन भित्रमा संस्थागतरुपमा अभियानलाई अघि बढाउने तयारी रहेको तेह्रथुम घरभइ युएईमा कार्यरत पिएस लिम्बुले बताए ।

जोगी तेह्रथुमबासी भएकाले पनि उनको विषयमा चासो दिएको र छिटै तेह्रथुम घरभइ युएईमा कार्यरतहरुको भेलबाट अभियानलाई सामुहिक र संस्थागतरुपमा अघि बढाउन पहल हुने उनको भनाइ छ ।

युएईमा अघि ब्लडमनीकै मुद्दामा आर्थिक अभावका कारण स्वदेश र्फकन नपाएका चितवनका टोपबहादुर बिकलाई एनआरएन युएई र विभिन्न संघसंस्थाले आर्थिक सहयोग जुटाएर नेपाल फर्काएका थिए ।

सोहीअनुसार जोगीलाई पनि नेपाल फर्काउन यहाँका सबै नेपाली र संघसंस्था एक भएर अघि बढ्ने गैरआवासीय नेपाली संघ सांस्कृतिक विभागका केन्दि्रय सदस्य कृस सुनुवारले बताए ।

मृत्युदण्डको सजाय होइन

सँगैकाम गर्ने फिलिपिनी नागरिकको हत्या अभियोगमा खड्गबहादुरले ५ वर्षको सजाय भोगिरहेका छन् । उनलाई यहाँको अदालतले २ लाख दिराम (करिब ६२ लाख नेपाली रुपैयाँ) जरिवाना तोकेको छ ।

अदालतको फैसला अनुसारको रकम बुझाएपछि उनलाई छुटाउनका लागि आवश्यक कानुनी प्रकृया सुरु हुने नेपाली दूतावास अबुधाबीले जनाएको छ । तर, परिवारजनमा भने उनलाई मृत्युद्दण्ड दिइने हल्ला फैलिएपछि चिन्ता थपिएको छ ।

यसबारेमा दूतावासले प्रष्ट पार्दै भनेको छ, सन् २०१४ मे देखि अबुधाबीको सेन्ट्ररल जेलमा कैद भुक्तान गरिरहेका जोगी २०१९ को मार्च २७ सम्म जेल बस्नुपर्ने अदालतको फैसला छ । उक्त समयभित्रमा ब्लडमनि बाफतको रकम बुझाएमा उनी जेलमुक्त हुनेछन् । यदी रकम बुझाउन नसकेमा थप जेल सजाय रहन सक्ने तर मृत्युदण्डको सजाय भने नहुने दूतावासले स्पष्ट पारेको छ ।

कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले भने, ‘अदालतले तोकेको ब्लडमनी रकम जम्मा गर्नु अहिलेको आवश्यकता हो । अदालतले तोकेको रकम संकलन भएपछि उनलाई छुटाउन कुटनैतिक र कानुनी प्रकृया सुरु हुन्छ । तर अदालतको फैसला अनुसारको मितिसम्मभने उनी जेलमा रहनु पर्नेछ ।’

दूतावासले उनको मुद्धाका बारेमा सरकारलाई समेत जानकारी गराएको थियो । तर, विदेशमा यस्ता प्रकृतिका मुद्दा खेपिरहेका नेपालीलाई सरकारले आर्थिक सहयोग गर्ने प्रावधान नभएकाले जोगीको मुद्दा किनारा लाग्न नसकेको दूतावासका श्रमसहचारी मोतिराम भुसालले बताए ।

जोगीले भने आफूले सहकर्मी फिलिपिनी नागरिकको हत्या नगरेको तर बचाउन खोज्दा आफू फसेको परिवारसँग बताउदैँ आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment