Comments Add Comment

किराना व्यापारीको घरभित्रै हत्या

२९ भदौ, कैलाली । कैलालीको जोशीपुर बजारमा बिहीबार राति एक व्यवसायीको हत्या भएको छ ।

जोशीपुरको टीकापुर रोडमा रहेको ओझा किराना पसलका सञ्चालक ३५ वर्षका रामप्रसाद ओझाको पसल भएकै घरमा हत्या भएको हो ।

घाँटीमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए । उनले प्रारम्भिक अनुसन्धान शुरु गरेको जानकारी दिए ।

१० वर्षदेखि व्यवसाय गर्दै आएका ओझाले भारु सटहीको समेत काम गर्ने गरेको स्थानीय बताउँछन् । ओझाकी पत्नी भने दुई छोरा पढाउन टीकापुरमा डेरा गरेर बस्दै आएकी छन् ।

स्थानीयका अनुसार ओझा बिहीबार राति ११ बजेसम्म जोशीपुर बजारमा भएको नाच हेरेर घर फर्किएका थिए । उनी बस्ने घरको ढोकाहरु सबै खुला रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment