Comments Add Comment

एसिया कप : पाकिस्तान र भारतसँग भिड्न हङकङ तयार

२९ भदौ, काठमाडौं । हङकङका तीव्र गतिका बलर अजिज खानले एसिया कपमा पाकिस्तान र भारतको सामना गर्न आफूहरु तयार रहेका बताएका छन् ।

छनोट प्रतियोगितामा फाइनलमा युएईलाई दुई विकेटले हराएर एसिया कपमा स्थान बनाएको हङकङ भारत र पाकिस्तान रहेको समूहमा रहेको छ ।

‘अहिले एकदमै गर्व महसुस भइरहेको छ । सबैजना खुसी छन् । छनोट प्रतियोगितामा हामीले निकै राम्रो खेल्यौं । हाम्रो टिम पाकिस्तान र भारतसँग खेल्न उत्साहित छ । उनीहरु ठूला टिम हुन् तर हामी प्रतिस्पर्धा गर्नका लागि यहाँ छौं’ २५ वर्षका खानले भने ।

‘हाम्रो टिम सन्तुलित छ र अभ्यास पनि राम्ररी गरेका छौं । ब्याटिङ र बलिङ दुवैमा हाम्रो टिम राम्रो बनेको छ । यसैले हामीले राम्रो गर्छौं जस्तो लाग्छ । युएईमा हामीले केही खेलहरु यसअघि पनि खेलेका थियौं यसैले पिचबारे जानकार छौं’ उनले भने ।

शनिबार सुरु हुने एसिया कपमा हङकङको पहिलो खेल आउँदो आइतबार सर्फराज अहमदको टिम पाकिस्तानसँग हुनेछ । खान आˆनो स्टार बलर मोहम्मद आमिर पाकिस्तान टिममा रहेकाले पनि थप उत्साहित छन् ।

‘मैले मोहम्मद आमिरको खेललाई निकै विचार गरेको छु । यो पटक उनीविरुद्ध खेल्ने पहिलो अवसर मिलेको छ । निकै उत्साहित छु । आफ्नो स्टारविरुद्ध खेल्न पाउनु निकै गर्वको कुरा हो । मैले उनीविरुद्ध खेल्न पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ’ उनले भने ।

एसिया कपको समूह ए मा पाकिस्तान, भारत र हङकङ रहेका छन् । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment