२९ भदौ, काठमाडौं । ‘शक्तिशाली अपराधीबाट जुनसुकै बेला मेरो हत्या हुनसक्छ’ भन्दै राजीनामा दिएका वीरेन्द्र केसीले ४८ घन्टैमा यू-टर्न लिए र निर्मला पन्त हत्याको छानबिनका लागि बनेको उच्चस्तरीय समितिमा फर्किए ।
तर, केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने यो प्रश्नले अझै पछ्याइरहेको छ । अखिर को थिए शक्तिशाली अपराधी, जसले केसीको ज्यान लिन खोजेको थिए ?
शुक्रबार निर्मला हत्याबारे जवाफ दिन संसदमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादलले पनि यही प्रश्नको सामना गर्नुपर्यो । कांग्रेस सांसद अमरेशकुमार सिंहले गृहमन्त्रीलाई सोधे-राज्यभन्दा पनि शक्तिशाली को हो ?
गृहमन्त्री बादलले भने यसबारे सही उत्तर आफूले भन्दा वीरेन्द्र केसीले नै दिनसक्ने बताए । छानबिन समितिका सदस्य केसीले आफूहरुलाई दिएको जानकारी अनुसार भन्दै गृहमन्त्रीले भने, ‘घटनास्थल, जहाँ उहाँले छानविन गर्दै हुनुहुन्थ्यो रे । त्यसक्रममा एक जना शक्तिशाली देखिने ठूलै जिउडालको मान्छे आयो रे । उसले तपाईले राम्रै गर्दै हुनुहुन्छ । तर, यस्ता छानविन धेरै भए । छानविन गर्नेहरुलाई गाडी लगाएर हत्या हुने गरेको सम्झनुहोला भनेर भनेर ।’ थापा अघि भन्छन्, ‘शायद शक्तिशाली व्यक्ति त्यही हुनुहुन्छ । उहाँलाई पनि थाहा छैन नाम ।’
प्रश्न सोधिनँ, प्रधानमन्त्रीबाट निर्देशन आयो
कांग्रेस सांसद गगन थापाले भने बम दिदीबहिनीबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा प्रश्न उठाए ।
छानबिन नहुँदासम्म बम दिदीबहिनी दोषी हुन होइनन् भन्न नसकिने भएपनि प्रधानमन्त्री स्वयंमले छानविन प्रभावित गर्ने गरी अभिव्यक्ति दिएको भन्दै थापाले गृहमन्त्रीलाई सोधे, ‘हामीलाई अर्ती उपदेश दिने गृहमन्त्रीले प्रधानमन्त्रीज्यूलाई छानविन प्रभावित गर्ने अभिव्यक्ति किन दिनुभयो भनेर सोध्नुभयो ?’
जवाफमा थापाले यो गम्भीर प्रश्न भएको बताए । आफूले प्रधानमन्त्रीलाई प्रश्न नगरेको बरु छानविनलाई छिटो निश्कर्षमा पुर्याउन प्रधानमन्त्रीबाट निर्देशन आएको उनले बताए । साथै प्रधानमन्त्रीको अभिव्यक्तिबारे थाहा नभएको बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4