३१ भदौ, काठमाडौं । सरकारले खानेपानीको समस्याबाट प्रभावित समुदाय, घरपरिवारलाई सहज तरिकाले खानेपानी उपलब्ध गराउने भएको छ । त्यसका लागि खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घरपरिवार, समुदायको विवरण मागेको छ ।
देशभरका विभिन्न क्षेत्रमा खानेपानीको समस्याबाट पिडित रहेका जनताको तथ्याकं संकलन गरी सहज ढंगले उपलब्ध गराउने मन्त्रालयको योजना छ । बसोबासको क्षेत्रमा खानेपानी अभाव हुँदा विभिन्न क्षेत्रका जनता घण्टौको यात्रा गरेर मुहान र खाेलानदीको पानी ओसार्न बाध्य छन् ।
खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्नेहरुले स्वयंले समेत मन्त्रालयमा निवेदन दिन सक्नेछन् । त्यसका लागि मन्त्रालयको टोल फ्रि नम्बर १६६००१४२१११ फाेन गरेर टिपाउन वा ministrywatersupply@gmail.com मा ईमेल गर्न सकिनेछ ।
मन्त्रालयले सूचना जारी गरी खानेपानीको समस्या समाधान गर्ने उद्देश्यले देशभरीका स्थानीय तहहरु, खानेपानी तथा ढल निकास विभाग र मातहतका पाँचवटै अनुगमन तथा सुपरीवेक्षण कार्यालयहरु साविकका डिभिजन र सवडिभिजन कार्यालयहरु मार्फत र सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा, सामाजिक संघसंस्थाहरुलाई खानेपानीको समस्याबाट प्रभावित समुदाय तथा घरपरिवारको विवरणहरु एक हप्ताभित्र पठाउन भनेकाे छ ।
खानेपानीको समस्याबाट प्रभावित जनताको तथ्याकं संकलन गरी सहज तरिकाले उपलब्ध गराउन आवश्यक योजना बनाउने मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले बताए । तर याेजनाकाे प्रक्रियाबारे भने उनले खुलाउन चाहेनन् ।
जलस्रोतमा विश्वकै दोस्रो ठूलो राष्ट्र भएर पनि नेपालका धेरै क्षेत्रमा खानेपानीको समस्या छ । बढ्दो सहरीकरण, खडेरी, बन विनास लगायतका कारणले नदीनाला, मुहान, भूमिगत पानी सुक्दै गएको छ । तर ठूला नदीमा रहेको अपार पानीको समुचित प्रयोग हुन सकेको छैन । राजधानी काठमाडौंमै समेत खानेपानीको चरम अभाव छ ।
सिन्धुपाल्चोकको मेलम्चीबाट टनेलमार्फत ल्याएर काठमाडौंमा पानीको संकट टार्न वर्षौंअघि थालिएको महत्वकांक्षी परियोजना अझै सम्पन्न हुन सकेको छैन ।
हेर्नुस् सूचनाः
प्रतिक्रिया 4