Comments Add Comment

सेतो हात्ती नबनोस् चक्रपथको मोनोरेल

३१ भदौ, काठमाडौं । चिनियाँ कम्पनीले  चक्रपथमा मोनोरेल निर्माणका लागि गरेको सम्भाव्यता अध्ययन रिपोर्ट काठमाडौं र ललितपुर महानगरलाई बुझाएपछि पूर्वाधारविद् सूर्यराज आचार्यले ट्वीट गरे, ‘मासट्रान्जिट प्रविधिमध्ये मोनोरेल सामान्यतः असफल प्रविधि हो भन्ने कुरा अन्तर्राष्ट्रिय अनुभव समेतले देखाउँछ । रिङरोडको हकमा पनि यो अनुपयुक्त प्रविधि हो । कार्यान्वयनको निर्णयमा पुग्नुअघि राम्रो चेकजाँच गरौं । अन्यथा यो राजधानीवासीका लागि सेतो हात्ती होला ।’

चिनियाँ रेल काठमाडौंसम्म ल्याउने सरकारी योजनाको खुलेर समर्थन गर्ने मध्येका एक पूर्वाधारविदले नै काठमाडौंमा मोनोरेल गुडाउने स्थानीय सरकारको योजनाको किन विरोध गरे ? काठमाडौं उपत्यकाका लागि मोनोरल किन अनुपयुक्त छ ? अनलाइनखबरसँगको कुराकानीमाआचार्यले व्यक्त गरेका विचारको सम्पादित अंश :

काठमाडौंको शहरी यातायात व्यवस्थापनका लागि एउटा-दुईटा बस किनेर, साझाले ३ वटा बस थपेर हुँदैन । हामीले गियर सिफ्ट गर्नैपर्छ । पुरातन दृष्टिकोणले पुग्दैन, छलाङ नै मार्नुपर्छ । त्यसैले विभिन्न स्थानमा मोनोरेल वा मेट्रोरेल बनाउने भनेर सरकारले बनाएको योजनालाई मैले सकारात्मक रुपमा लिएको छु ।

हाम्रो राजनीतिक नेतृत्वले कस्तो विकास गर्ने भन्ने त बुझेको छ, तर कसरी भन्नेमा बर्बाद छ, लापरवाही छ । त्यसैको संकेत हो, चक्रपथको मानोरेल ।

यसमा मेरो आलोचनात्मक टिप्पणी के हो भने सबैभन्दा पहिले मास ट्रान्जिटको कुरा गर्दा कुनै पनि प्रोजेक्ट टिप्ने होइन । लगानी बोर्डले एउटा आयोजना टिपेको छ, नगरपालिकाले अर्को आयोजना टिपेको छ, रेल विभागले अर्को आयोजना बोकेको छ । यसरी आयोजना टिपेर जथाभावी लगानी गर्नु गैरजिम्मेवारपूर्ण हुन्छ ।

रेल आयोजनाहरु सुरु गर्नुअघि समग्र उपत्यकाको मास ट्रान्जिटको मास्टर प्लान बनाउनुपर्छ । उपत्यकाको यातायात सञ्जाल कस्तो हुने पहिले फाइनल गरौं

हामी यातायात प्रणालीको अध्ययन गर्ने भन्छौं । तर, सबै अध्ययन फासफुस मात्रै भए । जस्तो, जाइकाको मास्टर प्लान । त्यो मास्टर प्लानभित्र राम्रा कुरा पनि छन् ।  उसले दिएका रिपोर्टमा सुधार्नुपर्ने कुरा पनि छन् । तर, हामीले शब्दावली नै के बनायौं भने  ‘जाइकाको मास्टर प्लान’ । अर्को ‘एडीबीको मास्टर प्लान’, ‘विश्व बैंकको मास्टर प्लान’ । त्यो शब्दै हेर्नुस् त ? यस्तो पनि कहीँ हुन्छ ? हुनुपर्ने त ‘काठमाडौंको मास्टर प्लान’ होला नि ।

त्यसैले शब्दावली नै भएन । त्यसमा हाम्रो स्वामित्व पनि देखिएन । त्यसो किन भयो भन्दा एउटा डोनर आयो, रिपोर्ट बनायो । तर, हामीले त्यसको समीक्षा नै गर्न सकिरहेका छैनौं । उसले जस्तो दियो, त्यस्तै राखियो । कार्यान्वयनका लागि छलफल नै भएन । फेरि अर्को डोनर आउँछ, त्यस्तै रिपोर्ट बनाउँछ ।

त्यसैले रेल आयोजनाहरु सुरु गर्नुअघि समग्र उपत्यकाको मास ट्रान्जिटको मास्टर प्लान बनाउनुपर्छ । उपत्यकाको यातायात सञ्जाल कस्तो हुने पहिले फाइनल गरौं ।

पहिला कोरियन सरकारले गरेको थियो, त्यो पनि पूरा छैन । त्यसलाई समीक्षा गर्नुपर्नेछ । ट्रान्जिट लाइनका कुराहरु भयो, नेटवर्क कहाँ जाने, कहाँ स्टेशन राख्ने, भन्ने कुरा कोइकाले दियो, हामीले रिपोर्ट बुझ्यौं तर, केही पनि काम भएन ।

अब कि सरकारले, नभए संसद वा नगरपालिकाहरुको सभाले मास्टर प्लान त्यही नै सही हो भन्नुपर्‍यो, निर्णय गर्नुपर्‍यो । त्यसपछि मास्टर प्लानभित्रका नेटवर्क आयोजना छान्नुपर्छ । कुन नेटवर्कलाई प्राथमिकता दिने तोक्नुपर्‍यो । त्यो काम नगरी मोनोरेलको सम्भाव्यता अध्ययन गरिएको छ, जुन त्रुटीपूर्ण छ ।

म आफैं लामो समयदेखि मेट्रो चाहिन्छ भनिरहेको छु । मेट्रो प्रणाली भनेको एउटा मास ट्रान्जिट हो । यो एउटा अम्रेला शब्दावली हो । यसभित्र विभिन्न प्रविधिहरु हुनसक्छ । भूमिगत रेल, शहरभित्र सतहमै चल्ने रेल, आकाशे पुलमा चल्ने रेल पनि मेट्रो नै हो । मेट्रो रेल भन्यो भने १० वटा, १२ वटा डिब्बा हुन्छन् । तर, त्यसकै सानो २-३ वटा डिब्बा भएको लाइट रेल हुन्छ । यो पनि मेट्रो नै हो ।

अहिले चर्चामा रहेको मोनोरेल पनि त्यसमध्ये एक प्रविधि होे । अझ जाइकाले बनाएको मास्टर प्लानमा हेर्नुभयो भने अटोमेटिक गाइडेड ट्रान्जिट (एजीटी) पनि छ । ड्राइभर नभई अटोमेटिक चल्छ, रबरको टायर हुन्छ ।

दोस्रो विश्वयुद्धपछि जापानले मेट्रोभन्दा सानो हुन्छ र अलिकति सस्तो पनि पर्छ भनेर सानो एयरपोर्टहरुमा मोनोरेल चलायो । गएको २५ वर्षमा केही शहरहरु र जापानिजहरुले फिडर लाइनमा मोनो प्रविधिको प्रयोग पनि गरे तर, राम्रो भएन ।

मलेसियामा २-३ वटा लाइनमा प्रयोग भयो तर, असफल भयो । इन्डोनेसियामा त पिल्लर उठाइसकेपछि काम रोकेर स्क्र्याब गर्नुपर्‍यो । अहिले मुम्बइमा मोेनो चलिरहेको छ तर, ठूलो घाटा व्यहोरिरहेको छ । महानगर पुछुताइरहेको छ ।

मेट्रोमा चाहिने भनेको ह्वील एण्ड ट्रयाक हो । अण्डरग्राउड, सतही वा आकाशे जे भए पनि धेरै माथापच्छी गर्नुपर्दैन । रेलको ट्रयाक र फलामको चक्का भए पुग्छ । ह्वील एण्ड ट्रयाकको डिब्बा दर्जनौं कम्पनीबाट किन्न पाउनुहुन्छ । त्यो स्टान्डर्ड गेजको हो । अहिले दिल्लीमा बाहिरी रेल ब्रोडगेजको हो भने दिल्ली मेट्रो स्टान्डर्ड गेजमा छ । स्टान्डर्ड गेजको ह्वील एण्ड ट्रयाकको रेल्वे भनेको शहरी भयो । यसो हुँदा संसारभरको टेक्नोलोजी सस्तोमा पाइन्छ ।

मोनोमा ब्यापारिक प्रवृत्ति देखिन्छ । अहिले उत्पादक कम्पनीहरु निर्णयकर्ताहरुलाई भेटेर सस्तोमा बनाइदिन्छु भन्छन् । त्यसका लागि दबाव गर्ने र मार्केटिङ गर्ने काम पनि भइरहेको छ

अब काठमाडौंको चक्रपथमा बनाउने भनिएको मेनो रेलको कुरा गरौं । यो खर्चिलो र असफल प्रविधि हो । यसको यात्रुबाहन क्षमताका आधारमा तुलना गर्दा मर्मत मूल्य पनि धेरै हुन्छ । यात्रु बोक्ने क्षमता हेभी रेलको भन्दा आधा भएपछि मर्मत खर्च पनि आधा हुनुपर्ने हो । तर, मोनोमा त्यस्तो हुँदैन, महंगो हुन्छ ।

ह्वील एण्ड ट्रयाक भयो भने स्टान्डर्ड प्रविधि हुन्छ । सुरुमा एउटा कम्पनीबाट प्रविधिहरु लिएर बनाए पनि पछि अन्य कम्पनीबाट सामानहरु लिन समस्या पर्दैन । जस्तो अहिले जापानिजले बनाइदियो, २० वर्षपछि डिब्बा थप्नुपर्‍यो भने चेकोस्लोभाकियाको प्रयोग गर्दा हुन्छ । त्यहाँको प्राविधिक सबैभन्दा सस्तो पर्छ । चाइनिज नै ल्याउनुस्, सस्तो पर्छ । यो स्टान्डर्ड भयो ।

तर, मोनोमा त्यस्तो हुँदैन । तपाईंले जुन उत्पादकको प्रविधि सुरुमा किन्नु भयो, त्यसैको स्पेयर पार्ट्स मात्रै प्रयोग गर्नुपर्छ, अरुको डिजाइन नै मिल्दैन । यो स्टान्डर्ड टेक्नोलोजी होइन । त्यसैले गर्दा मोनोमा ब्यापारिक प्रवृत्ति देखिन्छ । अहिले उत्पादक कम्पनीहरु निर्णयकर्ताहरुलाई भेटेर सस्तोमा बनाइदिन्छु भन्छन् । त्यसका लागि दबाव गर्ने र मार्केटिङ गर्ने काम पनि भइरहेको छ ।

तर, मोनो बनाइसकेपछि त्यो सिटी फस्यो । मुम्बईको रेल हेर्नुस्, दैनिक लाखौं घाटामा छ । मेट्रोरेल भयो भने रिंगरोड जस्तोमा स्विचिङ गरेर एउटाबाट अर्को लाइनमा जान, नेटवर्कहरु चेन्ज गर्न सजिलो हुन्छ । जस्तो, कंलकीबाट छुटेको रेल गोदावरी जाने ब्रान्च लाइनमा जानुपर्‍यो भने सातदोबाटोमा स्विचिङ हुन्छ । चक्रपथमा मोनोरेल बनाउनुभयो त्यस्तो हुँदैन । बुढानीलकण्ठ, भैंसेपाटीलाई जोड्न ब्रोडगेज नै बनाउनुहुन्छ ।

महानगर वा सरकारले मास ट्रान्जिटका सबै नेटवर्कको एकीकृत अध्ययन गरेको भए समस्या हुँदैनथ्यो । उहाँहरुले चक्रपथमा सम्भाव्यता अध्ययन गर्नुभन्दा पहिला नै कुन रुटमा कुन प्रविधि अपनाउने भन्ने निर्णय गर्नु उपयुक्त हुन्थ्यो । त्यसो नगरी चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने काम भयो । हामी डाक्टरकहाँ गएर ‘मलाई पेट दुख्यो’ मात्र भन्छौं । ‘मलाई पेट दुख्यो, फलानो औषधि दिनुस् न’ भन्छौं र ?

मोनोरेल उपयुक्त कसरी छ महानगरपालिकाले भन्नुपर्छ । अन्यत्र फेल भइसकेको प्रविधि के कारणले अघि बढाइँदैछ भन्दिनुपर्‍यो

हो मेयरसा’बहरुले पनि के भन्नुपर्थ्यो भने हामीले काठमाडौं उपत्यकाकै मास ट्रान्जिट सिस्टम बनाउन चाहन्छौं । कुन प्रविधि अपनाउनु ठीक होला ? भनेर अध्ययन गराउनु पर्ने हो । अनि विज्ञ र प्राविधिकले गर्ने सिफारिस अनुसार बल्ल चक्रपथमा कुन क्षमता र प्रविधिको रेल बनाउने भनेर निर्णय लिनुपर्ने हो ।

हुन त कसैले भन्नसक्छ, किन एउटै प्रविधि चाहियो, फरक-फरक बनाएर टेस्ट गर्ने नि ! त्यो पनि हुन सक्छ । तर, त्यसका लागि उपयुक्त प्रविधिबारे अध्ययन त गर्नैपर्छ ।

त्यसैले अहिले सबै कुराहरु जसरी आएका छन्, म नागरिकका हिसावले पनि अनुरोध गर्न चाहन्छु, महानगरपालिकाहरुले चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययनको रिपोर्ट मात्रै लिएको हो । डीपीआर ‘लक’ हुने कुरा हो । त्यसैले कुनै नगरपालिकालाई दायित्व सिर्जना हुने कुरामा पछाडि फर्किनै नमिल्ने गरी सम्झौता गर्नुअघि सम्भाव्यता अध्ययनबारे ब्यापक छलफल गरौं ।

धेरै कुरा त सम्भाव्यता अध्ययन प्रतिवेदन हेरेपछि भन्न सकिन्छ । तर, अहिले मोटो रुपमा भन्दा मोनोरेल अनुपयुक्त प्रविधि हो । यदि उपयुक्त हो भने कसरी छ महानगरपालिकाले भन्नुपर्छ । अन्यत्र फेल भइसकेको प्रविधि के कारणले अघि बढाइँदैछ भन्दिनुपर्‍यो । १ खर्ब १६ अर्ब लागत भनिएको छ, त्यो पनि सस्तो होइन । त्यो पारदर्शी हिसावले महानगरले स्पष्ट रुपमा राखिदिनुपर्छ । होइन भने, चक्रपथमा बनाउने भनेको मोनोरेल सेतो हात्ती बन्ने खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment